काठमाडौं- बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा थप सक्रिय बन्दै गएको छ । प्रणाली पूर्वी भूभागबाट क्रमशः पश्चिमतर्फ सर्दै गएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ भने पश्चिमी क्षेत्रमा आगामी घण्टादेखि वर्षाको मात्रा थप बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।


ADVERTISEMENT


लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न थालेको छ । कतिपय स्थानमा पानीको निकास प्रभावित हुँदा डुबानको जोखिम बढेको छ भने पहिरो खस्दा विभिन्न सडक तथा राजमार्गमा आवागमनसमेत प्रभावित भएको छ ।


ADVERTISEMENT

# # #


मौसमविद्का अनुसार अहिले नेपालमा प्रभाव पारिरहेको मौसमी प्रणाली पश्चिमतर्फ सर्ने क्रममा रहेकाले शनिबार पूर्वी भूभागमा वर्षाको मात्रा केही घट्न सक्नेछ । तर, गण्डकी, लुम्बिनी हुँदै कर्णाली र सुदूरपश्चिमतर्फ भने वर्षा थप सक्रिय हुने सम्भावना रहेको छ ।

मौसमविद् रोजन लामिछानेका अनुसार पश्चिमी भूभागमा शुक्रबार रातिदेखि नै पानी पर्ने क्रम बढ्दै जाने देखिएको छ । यसअघि नै गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बुधबारदेखि वर्षा भइरहेको छ । अब पश्चिमतर्फ सर्दै गएको प्रणालीका कारण ती क्षेत्रसँगै सुदूरपश्चिमसम्म वर्षाको प्रभाव विस्तार हुने अनुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको जोखिम नक्साले पनि पश्चिमी क्षेत्रमा जोखिम बढेको संकेत गरेको छ । नक्सामा बागमती प्रदेशदेखि पूर्वतर्फका जिल्लालाई पहेँलो र गण्डकीदेखि पश्चिमतर्फका उच्च पहाडी तथा हिमाली क्षेत्रका जिल्लालाई रातो रंगले संकेत गरिएको छ ।

पहेँलो रंगले मौसमको अवस्थाबारे सतर्क रहँदै नियमित सूचना तथा पूर्वानुमान अध्यावधिक गर्नुपर्ने जनाउँछ । रातो रंगले भने बाढी, पहिरो तथा अन्य मौसमी विपद्को जोखिम उच्च रहेको जनाउँदै आवश्यक प्रतिकार्यका लागि तयारी अवस्थामा रहनुपर्ने संकेत गर्छ ।

३८ जिल्लामा बाढीको उच्च जोखिम

यसैबीच, निरन्तरको वर्षालाई मध्यनजर गर्दै बाढी पूर्वानुमान महाशाखाले आगामी दुई दिन देशका विभिन्न नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने जनाएको छ । केही नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेकाले जोखिमयुक्त क्षेत्रका नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

महाशाखाका अनुसार असोज ९ गते गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुर लगायतका जिल्लामा बाढीको उच्च जोखिम रहेको छ ।

वर्षाको प्रभाव पश्चिमतर्फ सर्दै जाँदा साना नदी, खोला तथा खोल्सामा एक्कासि पानीको बहाव बढ्न सक्ने भएकाले नदी किनार र तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई थप सावधानी अपनाउन भनिएको छ ।

यस्तै, पहाडी तथा हिमाली क्षेत्रमा लगातार वर्षा भइरहेकाले पहिरोको जोखिमसमेत बढ्न सक्ने मौसमविद्हरूले बताएका छन् । सडक तथा राजमार्गमा यात्रा गर्ने यात्रुलाई पनि मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न आग्रह गरिएको छ ।

सम्बन्धित निकायले स्थानीय तह तथा सुरक्षा संयन्त्रलाई सम्भावित बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी अवस्थामा रहन आग्रह गरेका छन् । सर्वसाधारणलाई पनि मौसम, बाढी तथा विपद्सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न र जोखिमको संकेत देखिए तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ ।