मनाङ – मनाङस्थित हिम्लुङ हिमालको आधार शिविरमा ठूलो हिमपहिरो गएको छ । लगातारको वर्षा र भारी हिमपातपछि आज बिहान हिमपहिरो खसेको हो ।
हिमपहिरोले आधार शिविरमा रहेका केही टेन्ट पुरिनुका साथै बगाएको बताइएको छ । घटनापछि कम्तीमा १० जना सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको छ ।
अभियान आयोजकका अनुसार हिमपहिरोपछि हिमालयन होलिडेज नेपालका ८ जना आरोही तथा सहयोगी कर्मचारीसँग सम्पर्क हुन सकेको छैन । त्यस्तै, इम्याजिन नेपाल ट्रेक्सका दुई जना भान्से कर्मचारी पनि सम्पर्कविहीन रहेका छन् ।
एक्सपेडिसन अपरेटर्स एसोसिएसन नेपालका अनुसार मौसम प्रतिकूल हुने पूर्वसूचना पाएपछि अन्य कम्पनीका अधिकांश आरोही तथा कर्मचारी भने यसअघि नै आधार शिविरबाट तल्लो क्षेत्रमा झरिसकेका थिए ।
हिमपहिरोपछि सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि आवश्यक पहल भइरहेको जनाइएको छ ।
































































