आर.एस. भण्डारी, अध्यक्ष, ह्याम्स अस्पताल
नेपालको स्वास्थ्य क्षेत्रमा ३३–३४ वर्षको अनुभवका हिसाबले हेर्दा नेपालको स्वास्थ्य केन्द्र र स्वास्थ्य सेवालाई हामी नेपालीले गाैरव गर्नुपर्छ । यतिको स्वास्थ्य सेवा एउटा विकसित मुलुक, सम्पन्न मुलुकमा पनि नहुन सक्छ, नेपालमा छ भन्ने मेरो अनुभव हो ।
तर यो कुरालाई अझ राम्रो बनाउनुपर्ने ठाउँ धेरै हुँदाहुँदै पनि राज्यको नीतिले गर्दा आगामी दिनमा स्वास्थ्य सेवा अप्ठ्यारो बाटोतिर लागेको देख्छु । अहिलेको मुख्य समस्या भनेकै स्वास्थ्य सेवा दिनका लागि आवश्यक ‘ह्युमन रिसोर्स’ अर्थात् स्वास्थ्यकर्मीहरूको अभाव हो ।
स्वास्थ्यकर्मी उत्पादन, देशको आवश्यकता र विदेश पलायनबीच सन्तुलन हुन सकेको छैन । राज्यको नीतिले स्वास्थ्य जनशक्ति उत्पादन गर्ने प्रक्रियामा जुन समस्या बढाइरहेको छ, त्यसले गर्दा उत्पादन र आवश्यकताबीचको जुन ‘ब्यालेन्स’ हुनुपर्ने हो, त्यो हुन सकेको छैन ।
राज्यले काेटा प्रणाली लागु गरेकै कारण नर्सिङ लगायत सबै स्वास्थ्य जनशक्तिहरूकाे चरम अभाव भईरहेकाे छ । यस्काे तत्काल समाधान नगरिए भयावह अवस्था सिर्जना हुने अवस्था बनेकाे छ ।
आजबाट नर्सिङ नर्सको पढाइ सुरु गर्दै गर्दा पनि, त्यो नर्सले ‘कम्प्लिट’ एउटा सेवा दिनलाई चार वर्ष लाग्छ एउटा सर्टिफिकेट लेभलको नर्सको कुरा गर्दा । ब्याचलर लेभलको कुरा गरिँदा त पाँच वर्ष, छ वर्षै लाग्छ ! पढाई सकेर ‘लाइसेन्सिङ’ लिएर आउन लाग्ने समय पनि छँदैछ । सेवा दिन सक्ने अथवा ढुक्कले उसलाई बिरामीको सेवा सुविधामा लगाउन सक्ने समय धेरै नै लाग्छ ।
नेक्स्ट चार वर्षपछिको हाम्रो नर्सिङको अथवा हाम्रो डाक्टर लगायतको, प्यारामेडिकल लगायतको हाम्रो जुन रेसियो छ, त्यसलाई हेर्दा देशमा चाहिने आवश्यक जनशक्ति, देशबाट पलायन हुने जनशक्ति र त्यसको तुलनामा देशभित्र उत्पादन हुने संख्या जुन छ, त्यसलाई म्याच नगर्ने हो भने अप्ठ्यारो अवस्था छ । दक्ष स्वास्थ्य जनशक्तिकाे अभावकाे भयावह अबस्था बनिरहेकाे छ ।
मैले स्वास्थ्य सेवालाई ‘लिड’ गरेको दस वर्ष भयो । दस वर्षपछि मैले पहिलोचोटी डाक्टरहरूको मुखबाट “दसैँमा हामीले बीस बेडको आईसीयू चलाउन सक्दैनौँ, किनकि हामीसँग नर्सिङ छैन” भनेको सुन्नुपरेको छ !
यो अवस्था त एउटा हामीजस्तो ‘ह्याम्स’ अस्पतालमा, त्यो पनि राजधानीमा, यो अवस्था छ भने बाहिरको अवस्था के होला ?
आजको दिनमा हामीसँग हाम्रो सेवाको अस्पतालको बेड रेसियो अनुसारको नर्सिङको आवश्यकता भनेको सबै गरेर लगभग दुई सय नब्बेदेखि तीन सय जना नर्सहरू हामीलाई चाहिन्छ । अकुपेन्सीको हिसाबले अलि कम, अलि धेरै हुँदा तीन सय जना चाहियो । अलि कम हुँदा दुई सय अस्सी जना चाहियो । तर हामीलाई ‘मिनिमम’ दुई सय अस्सीदेखि तीन सय जना नर्स चाहिन्छ । हामीलाई ‘मिनिमम’ सेवा दिनलाई नै आजको दिनमा पनि चालिस जना नर्सिङ हामीलाई अपुग छ ।
आजको ‘डेट’मा नर्सिङ अभाव हुनुकाे रिजन भनेकाे विदेश पलायन हाे । हरेक महिना हाम्रै अस्पतालबाट झन्डै बीसदेखि तीस जना ‘रिजाइन’ गरेर गएका छन् । हामी नेपालमा भएको उच्चस्तरको अस्पतालहरूले दिने सेवा सुविधा दिईरहेका छाैं । र पनि याे अवस्था छ ।
कुनै पनि स्वास्थ्यकर्मी अथवा स्वास्थ्य सेवा दिने एउटा एकेडेमिक प्रोग्रामहरू, कोटाको नाममा यति मात्रै भनेर तोकिदिने जुन सिस्टम बनाइएको छ, त्यो सिस्टममा समस्या छ ।
क्वालिटी मेन्टेन गर्नका लागि संयन्त्रहरू छन् नि त । कम्पिटेन्ट छ कि छैन भनेर त एकेडेमिक कोर्स सकिए पछि पनि नेपाल मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल छँदै छन् नि ! त्यो परीक्षा पास नगरीकन, त्यो लाइसेन्स नपाइकन त नेपालको स्वास्थ्य सेवा दिनलाई डाक्टर हुँदैन, नर्स हुँदैन । त्यसैले काेटा र सिमितता नगरी नै धेरै भन्दा धेरैलाई देश भित्रै पढ्ने वातावरण बनाउनु पर्छ ।
दोस्रो कुरा के छ भने नेपालमा प्रमुख सहरहरूमा मात्रै एकेडेमिक प्रोग्रामहरू केन्द्रित छन् । किन? अन्य ठाउँहरूमा जस्तो सिन्धुपाल्चोक लगायतका जिल्ला र दूर दराजहरूमा पनि स्वास्थ्य शिक्षा र कार्यक्रमहरू लैजानुपर्छ । जिल्ला जिल्लामा पनि जिल्ला अस्पताल, प्राईमरी अस्पताल, हेल्थ पाेष्टहरू, प्राईभेट अस्पतालहरू छन् । भने, जिल्लाहरूमा एकेडेमिक प्रोग्रामहरू पनि लैजानु पर्छ र स्वास्थ्य जनशक्ति उत्पादन बढाउनु पर्छ ।
राज्यले यस्ताे किसिमकाे नीति ल्याउन जरूरी भईसकेकाे छ । ढिला भई नै सक्याे अब चाँडाे भन्दा चाँडाे याे भयावह समस्याकाे समाधानमा जुट्नुकाे बिकल्प छैन ।
यतिबेला देशको स्वास्थ्य स्थिति, स्वास्थ्य सेवाको गुणस्तर राम्रो होइन कि नराम्रो तिर गइरहेकाे छ भन्ने मेरो व्यक्तिगत अनुभव हो ।
अब यो मेरो व्यक्तिगत अनुभवलाई राज्यले कसरी लिन्छ, अरू सम्बन्धित तहहरूले कसरी लिनुहुन्छ ? तर मेरो आफ्नै व्यक्तिगत अनुभवमा चाहिँ यही अवस्था रहिरहने हाे भने अबको आउने दिनहरू सही छैनन् । किनकि म यो कुरा किन पनि भन्दै आएको छु भने प्राइभेट सेक्टरले पैँसठीदेखि सत्तरी प्रतिशत सेवा दिइराखेको नेपाल जस्तो ठाउँमा प्राइभेट सेक्टरमै तपाईँको ‘ह्युमन रिसोर्स’ नहुनु, ‘ह्युमन मेनपावर’ नहुनु भनेको चाहिं अबको स्वास्थ्य अवस्था, देशको स्वास्थ्य अवस्था सेवा नै दिन नसक्ने र जनशक्ति कै अभावमा ठप्प हुने अन्याैलता अन्मुख छ । यस्लाई ‘ईमर्जेन्सी रेसक्यु’ जरूरी छ ।
(ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारीसंग हिमालय पाेष्टले गरेकाे कुराकानीमा आधारित)
















