दाङ– दरबन्दीअनुसारका चिकित्सक नहुँदा आम नागरिकले उपचार पाउन नसकेको राप्ती अञ्चल अस्पतालमा अहिले एक शल्य चिकित्सक सहित चार चिकित्सकले सेवा दिन थालेका छन् ।
उपक्षेत्रीय अस्पताल प्रतिष्ठान मातहतमा गएपछि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा सल्यचिकित्सक जनार्दन पन्थीका साथै स्वास्थ्य सेवा विभागले दुई र तुलसीपुर उपमहानगरपालिकाले एक चिकित्सकलाई उक्त अस्पतालमा सरुवा गरेको हो ।
लामो समयसम्म रिक्त रहेको दरबन्दीमा थप नौ नर्स पनि सरुवा भएर आएको उक्त अस्पतालका निमित्त प्रमुख डा सर्वेश शर्माले जानकारी दिए। उनका अनुसार यसअघि विशेषज्ञ चिकित्सकको अभावले सामान्य बिरामीलाई पनि अन्यत्र पठाउनुपर्ने बाध्यता रहँदै आएकामा अब भने अस्पतालको सेवा प्रभावकारी हुने भएकोे छ ।