काठमाडौँ – थाइल्याण्डमा जारी एसियन क्रिकेट काउन्सिल (एसीसी) यू-१६ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक थाइल्याण्डलाई २३५ रनको चुनौति दिएको छ ।


ADVERTISEMENT


टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित ३५ ओभरमा सात विकेट गुमाउँदै २३४ रन बनाएको छ । नेपालका लागि अनिस भट्टराईले उत्कृष्ट इनिङ खेले । उनले कप्तान विशाल विक्रम केसीसंग चौथो विकेटका लागि ५३ बलमा नै ७३ रनको शानदार साझेदारी गर्दै नेपाली इनिङ उकासे । जारी प्रतियोगितामा नेपाली ब्याट्सम्यानका तर्फबाट पहिलो अर्धशतक पूरा गरेका उनले ७३ बलमा ५८ रन बनाए । त्यसक्रममा अनिलले ९ वटा चौका प्रहार गरेका थिए ।


ADVERTISEMENT

# # #


यस्तै कप्तान विशालले ३१ बलमा ३८ रन जोडे । उनले चार चौका र दुई छक्का प्रहार गरे । १ रनमा नै पहिलो विकेटका रुपमा सुशान्त थापालाई गुमाएको नेपालका लागि दीपक बोहराले दोस्रो विकेटका लागि अनिससंग ५५ रनको साझेदारी गरे । उनले ३६ बलमा ५ चौका र एक छक्काको मदतमा ३५ रन बनाए ।

अन्तिममा निखिल कुमार सिंहले आक्रामक पारी खेले । उनलाई विशाल कुमार पटेलले दह्रो साथ दिए । उनीहरुले मात्र २४ बलमा ४२ रनको पारी खेले । यसक्रममा विशाल पटेलले २३ बलमा ५ चौकाको मदतमा नटआउट २८ रन हाने । यस्तै निखिलले १२ बलमा २२ रन नटआउट बनाए । उनले दुई चौका र एक छक्का हाने ।

यता थाइल्याण्डका लागि नरवित नुन्तराजले तीन विकेट लिए । यस्तै योड्साक सारानन्नाक्कुनले दुई विकेट लिँदा रोहित क्रिशन र सोरवत देसुंगनोइनले समान १/१ विकेट लिए ।