काठमाडौँ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानी नेपालकै भएको बताएका छन् । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बैतडीको पञ्चेश्वर गाउँपालिकामा विहीबारदेखि आयोजित राष्ट्रनिर्माण महामहोत्सवमा उनले मुलुकको एक इञ्च पनि सीमा मिच्न नदिइने बताए ।

भारतीय नक्सामा नेपालको भूमि राखिएको भन्ने जानकारी आफूले सञ्चारमाध्यमबाटै थाहा पाए उल्लेख गर्दै उनले भने, “कालापानी हाम्रै हो, यदि भारतको नक्सामा नेपाली भूमि राखिएको हो भने त्यसलाई कूटनीतिक पहलबाट सुल्झाइनेछ । मित्रता आफ्नो ठाउँमा होला तर एक इञ्च पनि सीमा मिच्न दिइने छैन ।”


ADVERTISEMENT

# # #


मन्त्री ज्ञवालीले वर्षौदेखि कुराकानी भइरहेको पञ्चेश्वर परियोजनाको काम पनि अगाडि बढाइने सहमति भइरहेको बताए । उनले भने, “पानी आधाआधा हुन्छ, सहमतिमा नै जोड दिएका छौँ ।”

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि भारत सहमति नजिक रहेको पनि उनले जानकारी गराए ।

बैतडीमा पुल निर्माणको माग गर्दै ३७ दिनसम्म रिले अनशनसमेत बसेको कुरा थाहा पाएको बताउँदै उनले भारत सहमति गर्न तयार रहेको बताए । उनले भने, “भारतका विदेशमन्त्री एस जयशङ्करसँग प्रत्यक्ष भेटघाट गरिसकेका छौँ, कूटनीतिक पहलमा छौँ ।”

समग्र बैतडीकोे औद्योगिक विकासका लागि लोककल्याणकारी ट्रष्ट महाअभियानअन्तर्गत महोत्सवको आयोजना गरिएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए। बैतडीको पञ्चेश्वरमा गुमनाम रहेका पञ्चेश्वर धाम, देवताल, गणमेश्वर धाम लगायतको विकाससँगै औद्योगिक ग्राम विस्तारका लागि महोत्सवबाट सहयोग पुग्ने विश्वास लिइएको छ ।

ट्रष्ट महाअभियानका संयोजनमा पञ्चेश्वर गाउँपालिका–३ कुलाउमा सञ्चालन भएको महोत्सव आगामी मङ्सिर २ गते सम्पन्न हुनेछ । रासस

प्रतिकृया

प्रतिकृया