काठमाडौं – राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद महेन्द्र राय यादवले लिपुलेक, कालापानी नेपालकै भू–भाग भएकोले सरकारले फिर्ता गर्नको लागि पहलकदमी लिनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


आइतबार रिपोटर्स नेपालमा बोल्दै सांसद यादवले विगत ७० वर्ष लामो समयदेखि सीमा विवादको समस्या रहेको सुनाउँदै अब वार्ता तथा कुटनीतिक माध्यमबाट यसको दिर्घकालीन रुपमा हल गरिनुपर्ने बताए ।


ADVERTISEMENT

# # #


उनले शनिबार सीमा विवादबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्माओलीले बोलाएको सर्वपक्षीय बैठकमा राष्ट्रिय सहमति जुटेको बताए । ‘नेपालको ईतिहासमा हिजो बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा राष्ट्रिय सहमति बनेको छ।’ उनले भने, ‘अहिले मुलुकमा बलियो सरकार छ । सरकारलाई हिजोको सहमतिले ठूलो शक्ति प्रदान गरेको छ ।’

नेपालबाट विभिन्न समयमा भारत भ्रमण भएको सुनाउँदै तीन भ्रमणमा पनि सीमा विवाद समाधान हुन नसकेको उनले टिप्पणी गरे । परराष्ट्रसचिवको नेतृत्वमा बनेको दुई कमिटीले पनि विवाद समाधान गर्न नसकेको बताउँदै अब सरकारले यसको लागि ठोस कदम चाल्नुपर्ने उनको भनाई थियो ।

विवाद समाधान गरेर नेपाली भूमि फिर्ता गर्नका लागि आफूहरुले पनि सरकारलाई पूरा सहयोग गर्ने उनले प्रतिवद्धता जनाए । ‘नेपालको एक ईन्चपनि भूमी हामी छोड्दैनौं’ यादवले भने, ‘देशको भूमी रक्षाको लागि हामी एक ठाउँमा उभिएका छौं । यो सरकारले गम्भिरताका साथ आफ्नो कदम चाल्नुपर्छ ।’

पूर्वमन्त्रीसमेत रहेका यादवले अहिले विवाद समाधानको लागि राम्रो वातावरण बनेको पनि सुनाए । यद्दपी सडक संघर्ष वा आन्दोलनबाट सीमा विवादको समस्या हल नहुने उनले बताए । नेपालसँग नक्शा र ऐतिहासिक तथ्य तथा प्रमाणहरु रहेकोले सम्पूर्ण भूभाग फिर्ता गर्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले कालापानी नेपालकै भूभाग भएको भन्ने कुरामा कुनै अस्पष्टता र द्धिविधा नभएको बताए । उक्त कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालले फिर्ता लिनुपर्ने लेखकको भनाई छ ।