रौतहट– राजपुर बम काण्डका आरोपी पूर्व मन्त्री एवं नेपाली काँग्रेस रौतहटका निलम्वित सांसद् मोहम्मद अफताब आलमको पक्षमा आज बहस भएको छ ।


ADVERTISEMENT


सोमबार जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा आलमकातर्फबाट वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, सुनिल पोखरेल, योगेन्द्र बहादुर अधिकारी, कृष्ण घिमिरे भूषणर गोपाल कृष्ण घिमिरेले बहस गरेका छन् । बहसका क्रममा उनीहरुले प्रहरीको प्रतिवेदन, स्थलगत मुचुल्का, ठोस प्रमाण आलमविरुद्ध नरहेको, पहिलो स्थलगत मुचुल्का र पछिल्लो मुछिएकामा आलमको कतै सम्लग्नता नदेखिएको तर्क अघि सारेका थिए ।


ADVERTISEMENT

# # #


राजपुर घटना राजनीति प्रतिशोध साध्ने एउटा खेल भएको र घटनामा आलमको संलग्नता नरहेको उनीहरुको दाबी छ । आलमको पक्षका व्यावसायीहरुले आलमलाई मिडिया ट्रायल गरेर बदनाम बनाइएको र उनको मानहानी गरिएको बताएका थिए । उनीहरुले घटनामा आलम संलग्न रहेको कुनै प्रमाण पुष्टि हुन नसकेकाले आलमलाई साधारण तारेखमा रिहा गर्नुपर्ने माग गरेका छन् ।

आलमको पक्षमा मंगलबार पनि बहस हुने भएको छ । आलम पक्षमा ३० जना भन्दा बढी कानून व्यवसायी रहेकोले बहस बुधबारसम्म जाने सम्भावना रहेको छ । आलमको पक्षका कानुन व्यवसायीहरुको बहस सकिएपछि सरकारी पक्षका वकिलको बहस सुरु हुनेछ ।

घटनाका प्रत्यक्षदर्शीका रूपमा घटनाका घाइते सरकारी साक्षी भारतीय नागरिक गौरीशंकर राम चमारलेसमेत बयान फेरेका छन् । उनीहरुले यसअघि प्रहरीको दबाबमा आफूले बयान दिएको बताएका छन् । यस्तै घटनामा मृतक भनिएका मध्ये ओसी अख्तरको मृत्यु नभएको बरु विदेश गएको भन्दै उनकी श्रीमती अमना खातुनले जिल्ला अदालतमा निवेदन पेश गरेकी थिइन्।

पहिलो संविधानसभाको पूर्वसन्ध्या २०६४ चैत्र २७ गते बम विष्फोटनमा घाइते दर्जन बढी मानिसलाई ईँटाभठामा जिउँदै जलाएको आरोपमा आलम अहिले प्रहरी हिरासतमा रहेका छन् ।