हेटौँडा – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कालापानी क्षेत्रमा भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता अब प्रधानमन्त्रीको पहल व्यवहारिक रुपमा हेर्न चाहेको बताएका छन् ।


ADVERTISEMENT


नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हेटौंडामा आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले नेपालको भौगोलिक अखण्डताको रक्षाका लागि सरकारसँग काँधमा काँध मिलाउन कांग्रेस तयार रहेको बताए । कांग्रेसले कुटनीतिक पहल गर्न सरकारलाई साथ दिने भनिसकेको भन्दै उनले भने, ‘अस्ति सर्वदलीय बैठकमा हामी सबैले प्रधानमन्त्रीलाई कूटनीतिक पहल गर्नुस् भनेका छौं । प्रधानमन्त्रीले कति गर्नुहुन्छ, हेर्नुछ ।’


ADVERTISEMENT

# # #


सडकमा नारा लगाएर मात्र अतिक्रमित भूमि फिर्ता नहुने भन्दै उनले सरकारले तत्काल भारतसँग राजनीतिक तथा कूटनीतिकस्तरमा संवाद गर्नुपर्ने बताए । उनले भने, ‘कुरा गर्नुपर्ने ठाउँमा नगर्ने, यहाँ कुरा गरेर जनतालाई झुक्याउने ?’ नेता पौडेलले भारतसँगै चीनतर्फ पनि नेपाली सीमा सुरक्षित छ छैन हेर्नुपर्ने धारणा राखे ।

उनले प्रधानन्त्री केपी शर्मा ओली र अन्य कम्युनिष्ट नेताहरुले विपक्षमा रहँदा चर्का कुरा गर्ने गरेको र अहिले सरकारमा हुँदा के गर्छन् हेर्ने बेला आएको बताए । उनले अहिलेको सरकारले लोकतन्त्रवादी व्यवसायीलाई छानि छानि दुःख दिने काम गरिरहेको दाबी पनि गरे । ‘अहिले लोकतन्त्रका पक्षधर व्यवसायीलाई दुःख दिने, पाखा लगाउने काम गरेको छ, दुईतिहाई सत्ताको घोर दुरुपयोग गरेको छ,’ उनले भने ।

पौडेलले अहिले कांग्रेसका लागि चुनौती भनेको कम्युनिष्ट मात्र भएको बताउदै कांग्रेसमात्रै विचारको राजनीतिमा अडेको स्पष्ट पारे । उनले कम्युनिष्टसंग प्रतिष्पर्धा गर्न कांग्रेस विचारका कारण सक्षम रहेको बताए ।