काठमाडौँ– सर्वसाधारणले यस वर्ष पनि रानीपोखरीको बीचभागमा रहेको बालगोपालेश्वर मन्दिर प्रयोग गर्न नपाउने पक्का भएको छ ।


ADVERTISEMENT


हरेक वर्ष तिहारमा भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुल्ने यस मन्दिरको निर्माण कार्य पूरा हुन नसक्दा मन्दिर प्रयोग गर्न नसकिने भएको हो ।


ADVERTISEMENT

# # #


वर्षौं पुरानो रानीपोखरी मन्दिर २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । क्षतिग्रस्त भएको बालगोपालेश्वर मन्दिरलाई काठमाडौँ महानगरपालिकाले गएको भाइटीकामै प्रवेशका लागि तयार पार्ने भनेको थियो ।

लामो इतिहास बोकेको यो मन्दिरको पुनःनिर्माण सम्पूर्ण कामको जिम्मा शुरुमा काठमाडौँ महानगरपालिकाले लिएको भए पनि नियम विपरीत भएको भन्दै पुरातत्व विभागले करिब एक वर्षअघि नै मन्दिरको निर्माण कार्य रोक्न लगाइ आफूले गर्ने बताएको थियो ।

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार कामपाले नियम विपरीत निर्माण गरेको उक्त मन्दिर भत्काउने काम सकी हाल पुरातत्व विभागले नै निर्माण कार्य शुरु गरिसकेको छ । निर्माण कार्य पूरा गर्नका लागि करिब एक वर्षको समय लाग्ने पनि उनले जानकारी दिए। विभागले मन्दिरको जग राख्ने काम भइरहेको बताएको छ ।

अहिले कामपाले मन्दिर पुनःनिर्माण छोडेर पोखरी वरिपरिको पर्खाल लगाउने, पोखरी सफा गर्नेजस्ता सजावटका काम गरिरहेको छ । मन्दिरबाहेक अन्य पुनःनिर्माणको काम पनि गत असार मसान्तसम्ममा सक्नुपर्ने भएपनि हालसम्म सकिएको छैन ।

कामपाले रानीपोखरीको पुनःनिर्माण जिम्मा वल्र्डवाइड कँडेल केएनकेजी जेभी कम्पनीलाई दिएको थियो । रासस