– नकुल थापा, अध्यक्ष, महालक्ष्मी नगरपालिका वडा नम्बर ७, ललितपुर

पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ?


ADVERTISEMENT


यतिबेला त बिश्वब्यापी समस्या बनिरहेको कोरोना भाईरसबाट नेपाललाई कसरी जोगाउने भन्ने सरकारको अभियानमा साथ दिन महालक्ष्मी नगरपालिका तथा वडा नम्बर ७ सचेत भएर जिम्मेवारीमा जुटिरहेका छौं । अहिले सम्म नेपालमा संक्रमण नदेखिए पनि हामी सबै सचेत हुनुपर्छ । यसैका लागि संक्रमणबाट कसरी जोगिन सकिन्छ भन्ने जनचेतना फैलाउने, मास्क सेनिटाईजर जस्तो वस्तुहरु जनताहरुलाई कसरी उपलब्ध गराउने, अत्यावश्यक बस्तुहरुको अभाव कसरी हुन नदिने तथा जनस्वास्थ्यसंग जोडिएका बिषयहरुमा वडामा कसरी प्रभावकारी सेवा दिने लगायतका बिषयहरुमा हाम्रो ध्यान र कर्म केन्द्रीत गरिरहेका छौं ।


ADVERTISEMENT

# # #


र, वडामा के कस्ता नियमित कामहरु भईरहेका छ्न ?

हाम्रो टिम आइसकेपछि वडामा हामीले सीसी क्यामेरा राख्ने काम गर्यौँ । टोलभरि लगभग १५ वटा सीसी क्यामेरा जडान गरेका छौँ । त्यसले गर्दा चोरी चकारीदेखि हेरक आपराधिक क्रियाकलाप नियन्त्रण भएको छ । हालसम्म महालक्ष्मी नगरपालिकामा दशमध्ये उत्कृष्ट वडाका रुपमा लैजानका लागि काम गरिरहेका छौँ । यो अवधिमा हामी नयाँ वडा कार्यालय भवन बनाउन सफल भएका छौँ । अन्य कुनै वडाले सुरु गर्न नसक्दा हामीले लगभग १० प्रतिशत काम मात्रै बाँकी राखेका छौँ । दुई तीन महिनामा हामी कार्यालय सार्छौँ । अब आउने वर्षहरुमा गोरेटो बाटोहरुलाई फराकिलो बनाउने र अन्यबाटाहरुमा कालोपत्रे गर्ने काम गर्छौँ । त्यस्तै खानेपानीको लागि पनि छुट्टै योजना हामी ल्याउँदैछौँ । पुल निर्माणदेखि अन्य योजनाहरु पनि भइरहेका छन् । यस  वडालाई उपत्यकाकै नमुना वडाका रुपमा चिनाउने गरी काम गरिरहेका छौं ।

यहाँका प्रमुख समस्याहरु के के देख्नुभएको छ ?
मुख्य समस्या त खानेपानी र सडक नै हो । सडक नभइकन अरु केही नहुने भएको हुनाले पहिलो प्राथमिकता हामीले सडक राखेका छौँ । त्यसपछि स्वास्थ्य शिक्षामा ध्यान दिइरहेका छौँ । हाम्रो वडामा एउटा मात्र सरकारी विद्यालय भएको हुनाले त्यसको गुणस्तर विकासका लागि हामी कदम चाल्दैछौँ । पहिले ७०–८० जना विद्यार्थी थिए । अहिले हामीले विद्यार्थीको संख्या १४० जना पुर्याएका छौँ । पूरानो स्थितिमा चलेका कुनैपनि स्कुल, सामाजिक संस्थाहरुले राम्रो गरुन् भनेर विभिन्न किसिमका सहयोग गर्दै आएका छौँ ।

वडामा आवास तथा वस्ती विकासका कुराहरु कसरी व्यवस्थित भईरहेको छ ?

सरकारको योजनाको आधारमा हामी यसलाई अघि बढाउने छौँ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नापी विभागका कर्मचारी र नगरपालिकासमेत रहनेगरी हामी एउटा कमिटी बनाउँदैछौँ । हाम्रो वडा मात्र नभई महालक्ष्मी नगरपालिकालाई नै व्यवस्थित गर्नका लागि हामी लागेका छौँ । वस्ती विकासको समस्यालाई दीर्घकालसम्म समाधान हुनेगरी योजना बनाइरहेका छौँ ।

नगरपालिका तथा यहाँका राजनीतिक दलहरुसंग कसरी समन्वय गरिराख्नु भएको छ ? काम गर्न कत्तिको सहज छ ?

हामीले सबैसंग समन्वय गरिरहेका छौँ र उहाँहरुले पनि हामीलाई सहयोग गरिरहनु भएको छ । हाम्रोमा अन्य वडाको जस्तो कुनैपनि वादविवाद छैन । कुनैपनि राजनीतिक दल र यहाँका जनताले यो ठाउँमा यसरी बजेट राखिदिए हुन्थ्यो भन्ने किसिमको आवाज नउठ्ने गरी हामीले एकदमै पारदर्शी रुपमा विकास निर्माणका कामहरु अगाडि बढाइरहेका छौँ । गत वर्ष हामीले डेढ करोड यो वडालाई विनियोजन गर्न सफल भयौं । यो वर्ष पनि एक करोड बजेट आएको छ । यस्तै बाटो निर्माणका लागि सांसद कोषबाट पनि ५० लाख बजेट आएको छ । अन्य व्यक्ति तथा संस्थाबाट पनि साथ र सहयोग रहँदै आएको छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

म वडावासीहरुमा यो अपिल गर्न चाहन्छु कि गएका वर्षहरुमा तपाईहरुले हामीलाई साथ र सहयोग गर्दै आउनु भएको छ । तपाईहरुलाई लागेका सुझावहरु लिखित वा मौखिक रुपमा हामीलाई पठाउन सक्नुहुनेछ । तपाईहरुको साथले नै हामीलाई काम गर्ने प्रेरणा प्रदान गरिहनेछ ।
र कोरोना भाईरसको संक्रमणबाट जोगिन वडाबासी सबै जनताहरुलाई सचेत भईदिन आग्रह गर्न चाहन्छु । स्थानीय सरकारका हिसावले वडा कार्यालय तपाईहरुसंग नै छ । नआत्तिन र सचेत भएर भाईरसलाई आउन नदिने वातावरण बनाउन हामी सबै जुटौं । नेपाल सरकारका सबै व्यवस्थाहरुलाई तल्लो तहसम्म कार्यान्वयन गर्न वडाका जनप्रतिनिधिहरु हामी तयार भएर जुटका छौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भने जस्तै बलियो आत्मबिश्वासका साथ हामी एकजुट भएर दैनिक ब्यवहारमा सचेत हुँदै हरेकले आँफुलाई संक्रमणबाट जोगिन आत्मबल बलियो बनाएर लागौं । यो समयमा महालक्ष्मी नगरपालिका वडा नम्बर ७ का जनताहरुसंग म वडाध्यक्ष देखि सबै जनप्रतिनिधिहरु साथमा नै छौं ।