राष्ट्रपति विद्यादेवी भण्डारीले १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को आज साँझ दशरथ रङ्गशालामा आयोजित निकै आकर्षक र भव्य समारोहबीच उद्घाटन गरेकी छन्।


ADVERTISEMENT


सहभागी मुलुकका खेलाडीको मार्च पासबाट शुरु भएको उक्त समारोहको राष्ट्रपति भण्डारीले व्यवस्थित र भव्यरुपमा सिँगारिएको दशरथ रङ्गशालामा आयोजित विशेष समारोहमा साँझ १७:५७ बजे प्रतियोगिता शुरुआत भएको घोषणा गरिन्।


ADVERTISEMENT

# # #


राष्ट्रपतिबाट प्रतियोगिता उद्घाटन भएको घोषणा भइरहँदा आतशबाजी र पटका पड्काएर समारोहलाई थप आकर्षक र मनोरञ्जनात्मक तुल्याइएको थियो।

समारोहमा सात हजार ५०० को सङ्ख्यामा रहेका कलाकारले नेपालका साथै सदस्य मुलुकको मौलिक संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे।

समारोहमा कला र सांस्कृतिक कार्यक्रमको माध्यमबाट नेपालको नक्साको आकारसहितको राष्ट्रिय झण्डाको आकृति बनाइने  कार्यक्रम रहेको छ। मुलुकका सातै प्रदेश पुर्‍याएर ल्याइएको सागको ज्योति समारोहमा प्रवेश गराइएको थियो।

सागलाई सफल तुल्याउन करिब १८ हजार सुरक्षाकर्मी र ५०० स्वयंसेवक परिचालन गरिएको छ। सन् १९८४ मा स्थापना भएको सागको १३औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

सन् १९८४ मा पहिलोपटक नेपालबाट शुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो। दक्षिण एशियाली मुलुकबीचको यो प्रतियोगितालाई खेलकूद उत्सवको रुपमा लिने गरिएको छ।

सागको यस पटकको मस्कट कृष्णसाररहेको छ। सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, भूटान र श्रीलङ्काका खेलाडीले २६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन्।