काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को १५औँ मन्त्रिस्तरीय बैठक आजबाट काठमाडौंमा शुरु हुँदैछ । समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्तरुपमा हासिल गर्ने उद्देश्यले बिम्स्टेक स्थापना भएको हो ।


ADVERTISEMENT


मन्त्रिस्तरीय बैठक अगाडि नै विदेश/परराष्ट्र/बाह्य मामिला मन्त्रालयका उच्च अधिकारी (एसओएम)को १८औँ बैठकमा भाग लिन हिजो नै काठमाडौं आएका थिए । आज सवै देशका मन्त्रिहरु काठमाडौं आइपुग्नेछन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अपराह्न मन्त्रिस्तरीय बैठकको उद्घाटन गर्नेछन् । सबै सदस्य देशका विदेश/परराष्ट्र/बाह्य मामिलामन्त्री वैठकमा सहभागी हुनेछन् ।


ADVERTISEMENT

# # #


एसओएममा भाग लिन हिजो नै भारतको बाह्य मामिला मन्त्रालयका सचिव प्रीति शरण, भूटानको विदेश मन्त्रालयका सचिव सोनाम छोङ, बंगलादेशका विदेश सचिव मोहम्मद शहिदुल हक, म्यान्माको परराष्ट्र मन्त्रालयको अन्तर्राष्ट्रिय संगठन तथा आर्थिक विभागका महानिर्देशक क्वा मो तुन, श्रीलङ्काको विदेश मन्त्रालयका अतिरिक्त सचिव ग्रेस आशिर्वाथन र थाइल्याण्डको विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक मामिला विभागका नायब महानिर्देशक इकसिरी पिन्टारुची काठमाडौँ आएका थिए ।

व्यापार, लगानी, उद्योग, प्रविधि, मानव संसाधन, पर्यटन, कृषि, पूर्वाधार र यातायातजस्ता क्षेत्रमा सहायता परियोजना कार्यान्वयन गरी सदस्य मुलुकको द्रुत आर्थिक विकासका निम्ति २० वर्षअघि स्थापना भएको दक्षिण तथा दक्षिण पूर्वी एसियाली मुलुकको उपक्षेत्रीय संगठन हो बिम्स्टेक ।

बैठकमा बिम्स्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता १४ क्षेत्रमा विचारविमर्श हुनाकासाथै बैठकले बिम्स्टेक मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखको चौथो शिखर सम्मेलनको मिति टुंगो लगाउने अपेक्षा गरिएको छ ।

बैठकले काठमाडौँमा यसै वर्षको प्रारम्भमा भएको १७ औँ एसओएमको प्रतिवेदन अनुमोदन र भोलि हुने १८ औँ बैठकको प्रतिवेदनसमेत अनुमोदन गर्ने कार्यसूची छ ।

गत वर्ष भारतको गोवामा भएको बिम्स्टेक शीर्ष नेतृत्वको ‘रिट्रिट’ का क्रममा भएका छलफल, त्यसको प्रगति तथा उपलब्धि तथा अनौपचारिक परामर्शमा सहमति जनाइएका कार्यक्रम कार्यान्वयनका विषयमा बैठकमा विचारविमर्श हुनेछ ।

मन्त्रिस्तरीय बैठकको कार्यसूचीअनुसार सदस्य राष्ट्रबीच सहकार्य गर्न पहिचान गरिएका १४ क्षेत्रमा हालसम्म भएका प्रगति, भावी महासचिवको नियुक्ति, बहालवाला महासचिवको पदावधि, १६औँ मन्त्रिस्तरीय बैठकको मिति तथा स्थान र १५औँ मन्त्रिस्तरीय बैठकसम्बन्धी संयुक्त वक्तव्यलाई अनुमोदन गरिनेछ ।

आर्थिक, सामाजिक, प्राविधिक र वैज्ञानिक क्षेत्रका साझा चासोका विषयमा पारस्परिक सहकार्य र सहयोग प्रवद्र्धन, सदस्य राष्ट्रका राष्ट्रिय विकासका योजनामा जनताले अनुभूत गर्ने किसिमका सहयोगात्मक एवं परिणाममुखी साझेदारीलाई प्रोत्साहन गर्दै सदस्य देशका जनताको जीवनस्तर उकास्ने बिम्स्टेकका लक्ष्य र उद्देश्य हासिल गर्न बैठकले फलदायी हुने विश्वास गरिएको छ ।

मन्त्रिस्तरीय बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले गर्नेछन् । त्यसैगरी एसओएममा मुलुकको प्रतिनिधित्व परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले गर्नेछन् ।