काठमाडौँ – नेपालमा जारी १३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो जित हात पारेको छ । शुक्रबार नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले करणको आक्रामक इनिङमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रन बनायो । १६४ रनको चुनौति पच्छ्याएको माल्दिभ्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा ७९ रनमै समेटियो । माल्दिभ्सका लागि मोहमेद अजामले सर्वाधिक १७ रन हाने । यस्तै मोहम्मद रिस्वान १३, इब्राहिम हसन १२ रनमा आउट भए भने अलि इभानले ११ रन जोडे ।


ADVERTISEMENT

# # #


नेपालका लागि ललित नारायण राजवंशी र सुसन भारीले समान २-२ विकेट लिए । पवन सर्राफका नाममा एक विकेट रह्यो ।

यसअघि नेपालका लागि करण केसीले बिस्फोटक ब्याटिङ गरे । १५.३ ओभरमा ६ विकेट गुमाउँदा आठौँ नम्बरमा आएका उनले मात्र १६ बलमा ४० रनको महत्वपूर्ण पारी खेले । त्यसक्रममा उनले २ चौका र ४ छक्का ठोके । करणले इब्राहिम हसनको अन्तिम ओभरमा मात्रै २४ रन हानेका थिए । यस्तै दीपेन्द्र सिंह ऐरीले ३६ बलमा २ चौकाको मदतमा ३९ रन जोडे ।

नेपालले पहिलो विकेटका रुपमा पूर्वकप्तान पारस खड्कालाई व्यक्तिगत ११ रनमा गुमायो । पारसले ९ बलमा एक चौका र एक छक्का हाने । यस्तै दोस्रो विकेटका रुपमा आरिफ शेख ११ बलमा एक चौका र एक छक्काको मदतमा १७ रन बनाएर आउट भए । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल १६ बलमा २ चौका र एक छक्कासहित १९ रनमा पेवेलियन फर्किए ।

रोहित पौडेलले १० रन हान्दा विनोद भण्डारीले १९ रनमा आउट भए ।

माल्दिभ्सका लागि लिम सफिकले ३ विकेट चट्काए भने अमिल मौरुफले २ विकेट लिए । यस्तै उमर अदाम र मोहम्मद महफूजले समान १-१ विकेट आफ्नो नाममा लेखाए ।

प्रतियोगितामा पहिलो खेलमा श्रीलंका यू–२३ संग हारेको नेपालले दोस्रो खेलमा कप्तान ज्ञानेन्द्र मल्लको शतक र पूर्वकप्तान पारस खड्काको अर्धशतकमा भुटानलाई १४१ को विशाल अन्तरले हराएको थियो । नेपालले शनिबार बंगलादेश यू–२३ संग खेल्दैछ । स्वर्ण जित्ने सपना जीवितै राख्नका लागि उक्त खेल जित्नैपर्ने दबाब रहेको छ ।

खेल नेपाली समयअनुसार बिहान ९ बजे सुरु हुनेछ ।