बाँके – बाँकेको कोहलपुरमा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ । ट्रकको ठक्करबाट बालिका घाइते भएपछि उत्पन्न तानवलाई कम गर्न जिल्ला प्रशासन कार्यालय, बाँकेले अपरान्ह तीनबजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको हो ।


ADVERTISEMENT


केहीबेरअघि सकिएको जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा दिउँसो तीन बजेदेखि कर्फ्यू लगाउने र घाइते बालिकाको उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ पठाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जनाए ।


ADVERTISEMENT

# # #


आर्इतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्द घाइते भएकी थिइन् ।

दुर्घटनापछि घाइते चन्दलाई निशुल्क उपचार गर्नुपर्ने र चालकलाई कडा कारबाही गर्नुपर्ने माग राख्दै स्कुले विद्यार्थी र स्थानीयहरुले प्रदर्शन गरिरहेका छन् । उनीहरुले बालिकालाई ठक्कर दिने ट्रकसमेत जलाएका थिए ।

प्रदर्शनकै क्रममा प्रहरी र विद्यार्थीबीच झडप भएपछि केही प्रहरीसमेत घाइते भएको कोहलपुरका डीएसपी शिबबहादुर सिंहले जनाए ।