ज्ञानेन्द्र ढुंगाना; सीईओ, नेपाल बंगलादेश बैंक एवं अध्यक्ष, नेपाल बैंकर्स  एशोसिएसन

नेपाल बंगलादेश बैँकको सेवा प्रवाह कुन रफ्तारमा दौडिरहेको छ ?


ADVERTISEMENT


# #


नेपाल बंगलादेश बैँक २५ वर्ष पूरानो बैँक हो । हामीले बैंकिङ क्षेत्रमा धेरै वर्षको अनुभव लिइसकेका छौँ । हामी बंगलादेशको एउटा आइएफआइसी संगको ‘ज्वाइन्ट भेन्चर’ बैँक हौँ । विगतमा दुईवटा सानो सानो फाइनान्स कम्पनी लिएका थियौँ । त्योभन्दा पनि बैंकको रुची र नेपाल राष्ट्र बैँकको निर्देशनलाई लिएर मर्जरमा हामी जाने कि नजाने भन्ने छलफलमै छौँ । अन्य बैँक तथा वित्तीय संस्थाबाट धेरै ठूलो ‘साइज’ पाएपनि लगभग २० प्रतिशतको अर्गानिक वृद्धिदरमा जाने हाम्रो रणनीति छ । त्यही हिसाबमा नै हामी अगाडि बढिरहेका छौँ । अन्य बैँकले दिने सम्पूर्ण सेवा सुबिधाहरु  चाहे प्राविधिक होस् वा भौतिक सेवा; सबैमा हामी चुस्तदुरुस्त नै छौँ र हाम्रो ‘कोर बैकिङ सफ्टवेयर’ नयाँ लिएर त्यसमा जाने तयारीमा छौँ ।

आगामी केही महिनाभित्रमा हामी संसारकै सायद सबैभन्दा परिस्कृत बैंकिङ सफ्टवेयर लागू गर्न गइरहेका छौँ । त्यो सफ्टवेयर लागू भइसकेपछि हामीले ट्रेडमा होस् पा डिपोजिट पेमेन्टमा । नयाँ प्रोडक्ट ल्याएर आउँछौँ । जुन बजारका भन्दा भिन्न हुन्छन् । त्यो सफ्टवेयरले हामीलाई सहयोग गर्छ । किनभने डिजिटर मिडियाका पेमेन्ट हुन् वा अन्य प्रोडक्टका कुराहरुमा ग्राहकलाई अझ छरितो तरिकाले सेवा दिन सक्षम हुन्छौँ ।

पछिल्लो समय केमा ध्यान दिइराख्नु भएको छ ?

हामीले अब डिजिटल पेमेन्टमा बढी ध्यान दिइरहेका छौँ । चाहे त्यो मोबाइल पेमेन्ट होस् वा क्युआर कोड पेमेन्ट । ग्राहकहरुले सकभर बैँकमा आउनै नपर्ने गरी घरबाटै बैंकिङ कारोबार गर्नुपरोस् भन्नेतर्फ हाम्रो ध्यान केन्द्रित छ ।

बैँकका अन्य योजनाहरु के के छन् ?

हाम्रो नयाँ सफ्टवेयर आइसकेपछि बजारमा नयाँ नयाँ योजनाहरु ल्याएर आउँछौँ । त्यस्तै नेटवर्क विस्तारका, शाखा विस्तारका योजनाहरु त छँदैछन् । विशेषगरी हामीले ग्राहकको चाहना अनुसारका अनलाइन र डिजिटल मिडियाका उत्पादनहरु ल्याएर ग्राहकलाई सेवा सुविधा दिने योजना बनाएका छौँ ।

बैँकको उद्देश्य बढी भन्दा बढी नाफा कमाउने हुन्छ । नेपाल बंगलादेशको चिन्तन त्यसतर्फ कस्तो छ ?

नाफा भन्दा पनि लगानीकर्ताहरुलाई स्वभाविक प्रतिफल दिने कुरा हो । लगानी वृद्धि भएपछि लगानीकर्ताले प्रतिफल आशा गर्नु स्वभाविक हो । तर, व्यापार एकैचोटी त्यसरी बढ्दैन ।

तुरुन्तै नाफा लिने भन्दा पनि एउटा प्राकृतिक वृद्धिमा गएर कालान्तरमा नाफा लिनु राम्रो हुन्छ । बैंकिङ व्यापार अलि चुनौति भएको व्यापार भएकाले नाफाको प्रतिस्पर्धामा हामी लागेका छैनौँ ।

तपाई बैंकर एशोसिएसनको नेतृत्वमा पनि हुनुहुन्छ अहिलेको अवस्थामा बैँकको भूमिकाबारे के भन्नुहुन्छ ?

बैंकर संघको नेतृत्वमा म करिब करिब अन्तिम चरणमा छु । सम्पूर्ण देशको अर्थतन्त्रमा बैंकिङ क्षेत्र भनेको एउटा मोनिटरिङको मेकानिज्म हो । सरकारले गरेका आर्थिक नीतिहरुलाई जनतामा लैजाने भनेको बैँकिङ प्रणालीले नै हो । त्यसकारण यो क्षेत्रको भूमिका भनेको पूँजी निर्माणमा, पूँजी परिचालनमा, सेभिङमा, लगानीमा ठूलो हुन्छ । किनभने जीडीपीको ‘ग्रोथ’ पनि यसैमा आधारित हुन्छ । राज्यले आवश्यकता ठानेको क्षेत्रमा लगानी गर्नुपरेमा कसरी परिचालित गर्ने, बचतलाई कसरी परिचालित गर्ने, गाउँगाउँमा बैंकिङ सुविधाहरु कसरी पुर्याउने भन्नेमा महत्वपूर्ण भूमिका हुन्छ ।

बैंकर एशोसिएसनको नेतृत्वमा तपाईंको कार्यकाल अनुभव कस्तो रह्यो ?

नयाँ नयाँ प्रविधि प्रयोग हुने भएकाले यो बैकिङ क्षेत्र अलि चुनौतिपूर्ण नै छ । सूचना प्रविधिका नयाँ नयाँ प्रविधिहरु प्रयोग भइरहेका छन् । यसमा जोखिम पनि संगसंगै आउँछ ।

जोखिमलाई कसरी न्यूनिकरण गर्ने ? भोलिका दिनमा ती जोखिमहरु दोहोरिन नदिनका लागि के कस्तो किसिमको योजना वा वातावरण बनाउने भन्ने कुरा अहिले प्रमुख चुनौति भएर आएको छ ।

विगतमा एटीएम ह्याकिङ र चेकबुकमा नक्कली हस्ताक्षरका समस्याहरु आए ।

सरकारले ‘सुखी नेपाली समृद्ध नेपाल’ को अभियान अघि सारेको यो अवस्थामा बैँकको भूमिका अब के हुनुपर्छ ?

मैँले अघि पनि भनेँ बैँक भनेको सरकारको आर्थिक नीति कार्यान्वयन गर्ने क्षेत्र पनि हो । बैँकहरुले समृद्धिको योजनामा साथ दिनका लागि सरकारले चाहेको क्षेत्रमा लगानी गर्नुपर्यो । कृषि, पर्यटन वा हाइड्रो होस् । त्यो हामीले गरिरहेका छौँ । यति छोटो समयमा पनि कृषिमा १० प्रतिशत लगानी पुग्नु पनि ठूलो हो । अन्य सहुलियतपूर्ण कर्जामा पनि सरकारले एउटा नीति ल्याएको छ । कृषि बाहेकका अन्य क्षेत्रमा पनि लगानी बढाएर सहयोग गर्छौँ । गरिरहेका पनि छौँ । सोचेजति हुन नसकेपनि हुन त भइराखेकै छ । त्यस्तै जनतासंग छरिएर रहेको निक्षेपलाई पूँजीको रुपमा निर्माण गर्ने कुरामा पनि हाम्रो ठूलो भूमिका हुन्छ ।

काम गर्ने वातावरण सहज बनाउन बैँकहरुका लागि कस्ता नीतिहरु जरुरी छन्  ?

हामीले नेपाल राष्ट्र बैँकका नीतिहरुमा बसेर नै काम गर्ने हो । नेपाल राष्ट्र बैँकसंग विभिन्न चरणमा छलफल गरेर विभिन्न नीति नियमहरु बन्ने हुन् । कहिलेकाहीँ बजारमा देखिएका विकृति र अप्ठ्यारा नीतिहरुले गर्दा बैँकिङ क्षेत्रलाई नै अप्ठ्यारो गर्छ । विगतमा आएको ‘स्पेड्र रेट’को गणना गर्ने फर्मुला नै परिवर्तन हुँदा बैँकको नाफामा असर गरिरहेको छ । सरकारले चाहेका क्षेत्रमा लगानी गर्ने समय अलिकति बढी दिनुपर्छ ।

छोटो समयमा धेरै कर्जाको वृद्धि गर्न सकिँदैन । तेस्रो कुरा भनेको बजारमा विगतदेखि तरलताको कमी भएर कर्जाको माग बढी हुने, निक्षेप कम हुने स्थितिले गर्दा ब्याजदरको चाप अलिकति बढेको  थियो । त्यसलाई सहज पार्नका लागि सरकारले विकास खर्च समयमै गरिदिने भयो भने पूँजी निर्माणमा सहयोग पुग्छ ।  राज्यको ढुकुटीमा गएको करलाई चाँडो भन्दा चाँडो बजारमा निकाल्ने व्यवस्था गर्नुपर्यो । त्यसका लागि हामी राष्ट्र बैँकसंग छलफल र सहकार्य पनि गरिरहेका छौँ ।

राष्ट्र बैँकले अघि सारेको मर्जरको विषयमा तपाईंको धारणा के हो ?

त्यो त राष्ट्र बैँकको निर्देशन नै हो । दुईवटा बैँक त मर्ज भइपनि सकेका छन् । अन्य बैँक तथा वित्तीय संस्था पनि हुँदैछन् । यो समयको माग हो । यसको विषयमा बैँकहरु छलफल पनि गरिरहेका छन् । मर्जर स्वस्फूर्त रुपमा होस् भन्ने धारणा हो ।

 मर्जरको आवश्यकता हामीले पनि गरेका हौँ । सानो बजारमा धेरै प्रतिस्पर्धा हुँदा अस्वस्थ प्रतिस्पर्धा हुने सम्भावना रहन्छ । संख्या धेरै भन्दा पनि केही ठूला र मजबुत बैँकले नै देशको अर्थतन्त्रलाई सहयोग पुग्छ भन्ने हाम्रो विश्वास हो ।

बैकिङ क्षेत्रमा पछिल्लो समय ‘ह्याकिङ’ देखि लिएर विभिन्न समस्याहरु देखिरहेका छन् । यी समस्याको समाधानका उपायहरु के हुनसक्छन् ?

यी चुनौतिहरु भनेका प्रविधिको विकाससंगै आउने कुरा हुन् । अमेरिकाजस्तो देशमा, नासामा त ह्याकिङ हुन्छ ! तर, हामीले जानिसकेका, थाहा पाइसकेका घटनालाई फेरि दोहोरिन नदिन विभिन्न किसिमका रणनीतिहरु बनाउँछौँ, उपाय लगाउँछौँ । त्यसमा हाम्रा सूचना प्रविधिलाई मजबुत बनाउने, सचेतना फैलाउने, जनशक्तिलाई प्रशिक्षण दिने लगायतका उपाय पनि अपनाउन सकिन्छ । खाता खोल्दा पनि केही कडाई गरिए यसले पनि ठूलो सहयोग गर्न सक्छ । भविष्यमा आउन सक्ने चुनौतिहरुको पहिचान गर्दै तिनका समाधानका उपायमा पनि हामी सचेत हुनुपर्छ ।

बैँकिङ सूचना प्रविधिको सुरक्षाको क्षेत्रमा हामी कमजोर नै छौँ भन्ने देखिएको हो ?

होइन । यस्ता घटना संसारभरि हुन्छन् । मैँले अघि पनि भनेँ, अमेरिकाजस्तो संसारको सबैभन्दा सुरक्षित ठाउँमा त ह्याकिङ हुन्छ भने हाम्रो त परकै कुरा ! हाम्रोमा ह्याकिङ भएको एकदुई दिनअघि मात्रै फ्रान्स लगायतका ठाउँमा भएका थिए ।

नेपालमा भर्खरै भएको ‘ह्याकिङ’ नेटवर्कमा हो, कुनैपनि बैँकको सीभीएस (Concurrent Versions System)मा ह्याकिङ भएको छैन ।

त्यसकारण हाम्रो बैँकको साइज अनुसार सूचना प्रविधिमा प्रशस्त खर्च गरेका छौँ । बैँक मर्जरपछि साइज ठूलो हुँदा थप खर्च गर्न सकिन्छ । यसले गर्दा पनि मर्जरले फाइदै गर्छ ।

अन्त्यमा, के भन्नुहुन्छ ?

पहिलो त, बैकिङ क्षेत्रमा भएका सानातिना घटनालाई लिएर बैकिङ क्षेत्रलाई अविश्वासको क्षेत्र बनाउनु पर्ने आवश्यकता छैन । यसमा मिडियाको भूमिका पनि ठूलो छ । सानोतिनो समस्यालाई ठूलो मुद्दा बनाइनुहुन्न भन्ने मेरो आग्रह हो । यसको संवेदनशीलता बुझेर सबैले सहयोग गर्‍यो भने देशको अर्थतन्त्रलाई नै सहयोग पुग्ने हो ।

 

प्रतिकृया

प्रतिकृया