काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगा जिल्लाका सडक र पुलहरूको प्रगति नभएको भन्दैमन्त्रालयका सचिवमार्फत  भौतिक योजना तथा पूर्वाधारमन्त्री  वसन्त नेम्बाङ नेम्वाङलाई ज्ञापन पत्र बुझाएका छन् ।


ADVERTISEMENT


पूर्वसांसद खतिवडाका साथै नेपाली कांग्रेस ओखलढुंगाका जिल्ला सभापति प्रदीपकुमार सुनुवारसहित दुई दर्जन बढी ओखलढुंगेलीहरूले सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङलाई भेटेर ओखलढुंगाका सडक र पुलहरू यथाशीघ्र सम्पन्न गर्न दवाव दिएका हुन् ।


ADVERTISEMENT

# # #


खतिवडाले दुईतिहाईको बलियो कम्युनिस्ट सरकार बनेपछि ओखलढुंगा जिल्लामा नयाँ कार्यक्रमहरू नगएको भन्दै नेपाली कांग्रेसका पालामा शुरु भएका कामहरू सुस्तगतिमा अगाडि बढेको बताए ।

‘ओखलढुंगामा वर्षातको समयमा नाकाबन्दी हुने अवस्था रहेको छ । यो सरकार बनेपछि नयाँ कार्यक्रम र योजना त गएका छैनन् । नेपाली कांग्रेसको सरकारका पालामा शुरु भएका सडक र पुलहरू पनि अगाडि बढ्न सकेका छैनन्’, उनले भने, ‘ती आयोजनाहरू समयमा पूरा होस् भनेर दवाव दिन मन्त्रीलाई ज्ञापन पत्र बुझाएका हौँ ।’

मन्त्री नेम्वाङले आफू भरखरै मन्त्री बनेर आएको बताउँदै ओखलढुंगाको समस्या समाधान गर्न मातहतलाई निर्देशन दिने बताए । नेम्वाङले बजेट अभाव भएमा अर्थमन्त्रालयसँग माग गरेर भएपनि सडक र पुलहरू सम्पन्न गर्ने आश्वासन दिएका छन् ।

त्यसछि नेपाली कांग्रेसका नेता खतिवडा, ओखलढुंगाका सभापति सुनुवारसहितको टोलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि भेटेर ओखलढुंगाका सडक र पुल निर्माणमा बजेट अभाव हुन नदिन आग्रह गरेको छ । अर्थमन्त्री डा. खतिवडाले पनि सकारात्मक जवाफ दिएका छन् ।

पूर्वसांसद खतिवडासहितका ओखलढुंगाका स्थानीयले ललितपुरको पुल्चोकस्थित सडक विभागका महानिर्देशक केशवकुमार शर्मालाई पनि भेटेर पुल र सडकहरूको काम छिटो पूरा गर्न दवाव दिएको छ ।

जवाफमा महानिर्देशक शर्माले ओखलढुंगाका सडक र पुलको काम पूरा गर्नका लागि बजेट अभाव रहेको भन्दै प्रदेश सरकार र स्थानीय तहसँग क्षेत्राधिकारलाई लिएर विवाद हुँदा काम गर्न समस्या भएको बताए ।

उनले सडक र पुलको काम सम्पन्न गर्न देखिएका समस्यालाई नीतिगत रुपमा समाधान गरेर काम अगाडि बढाउने आश्वासन दिएको नेपाली कांग्रेसका युवा नेता खतिवडाले बताए ।

नेपाली कांग्रेसको पालामा ओखलढुंगा जिल्लामा ०७० र त्योभन्दा अगाडि शुरु गरेको बाटाघाटा, पुलका कामहरू हाल बन्द जस्तै भएको भन्दै खतिवडासहितका ओखलढुंगेलीहरूले तुरुन्त ती कामहरू सम्पन्न गर्न दवाव दिएका हुन् ।

‘मोलुङ–एकवार सडक किन बनेन रु दुधकोशी–एकवार किन बन्द भयो ? लिखु–एकवार कता हरायो ? यी योजनाहरू तुरुन्त सञ्चालन हुनु प¥यो’, ज्ञापन पत्रमा भनिएको छ, ‘साघुटार–घोराखोरी–ओखलढुंगा–सिलौरी घाट–कालोपत्र (पिच) किन सुस्त गतिमा भएको हो ? तुरुन्त काम होस् ।’

‘नवलपुर–पलापु–कोषभञ्ज्याङ हुँदै ककनीको सडक टेण्डर गरिएको रकम कहाँ पुग्यो ? किन काम हुन सकेन ? टेण्डर मात्र भएर हुँदैन । काम हुनु पर्यो’, ज्ञापन पत्रमा भनिएको छ, ‘सिरिसे–ढाडे–रगनी–फलाटे हुँदै रावादोलु–भूसिगा सडकको काम खै कहाँ पुग्यो ? समयमा काम हुनु पर्‍यो ।’

‘सिंहदेवी–नमदेश्वर–यसम–गाम्नाङ हुँदै खिजी फलाटेमा शुरु गरिएको मार्ग कता गयो ? यसको काम पनि हुनु पर्यो’, खतिवडाले भनेका छन्, ‘‘घोराखोरी–विलन्पु–श्रीचौर–सोलु सडक कहाँ छ ? समयमा काम होस् ।’

‘किन सुनकोशी नदी–सिन्धुली र बलखुमा मोटर पुल निर्माण भएन ? खात्रे खोला र पोक्त्तुङ खोलाको पुलको काम अगाडि बढोस्’, ज्ञापन पत्रमा भनिएको छ, ‘मध्यपहाडी राजमार्गको खाङसाङ–सोखु खोला र बहादुराको पुल कहिले बनाउने बन्छ ? घुर्मीको बाटो हर्कपुर पुलसम्म कहिले बन्ने हो ? छिटो काम अगाडि बढाइयोस् ।’

‘मिर्चैया–कटारी–घुर्मी बाटो किन यस्तो लथालिङ अवस्थामा पुर्‍याएको हो ? यो बाटो कहिले बन्छ ? सरकार सधैँ जनताको आँखामा बिझाउने हो कि काम पनि गर्छ रु बाटो समयमा नबन्दा ओखलढुंगा, सोलु, खोटाङ लगायतका जिल्ला जान समस्या छ । समयमा काम पूरा गरियोस्’, ज्ञापन पत्रमा भनिएको छ ।

‘यी सबै पुराना नै काम हुन् । तर, यो सरकार बनेपछि एउटा पनि नयाँ कार्यक्रम ओखलढुंगामा जान सकेका छैनन्’, नेपाली कांग्रेसका खतिवडाले भनेका छन्, ‘नयाँ कार्यक्रम ओखलढुंगामा आउन नसक्नुमा हामी दुःखी छौँ । अझ अगाडि बढ्ने समयमा ओखलढुंगाका जनता पछि परेका छौँ ।’

नेपाली कांग्रेस ओखलढुंगाका सभापति सुनुवारले गत वर्षातको समयमा सबै बाटोहरू बन्द हुँदा खोलढुंगेली जनताले नाकाबन्दी भोग्नु परेको भन्दै आक्रोश पोखेका छन् ।

कारण मिर्चैया–कटारी–घर्मी राजमार्ग र खुर्कोट–घर्मी राजमार्ग सधैँ चल्ने गरी तुरुन्त निर्माण गर्न ज्ञापन पत्रमा माग गरिएको छ ।
ओखलढुंगा जिल्लाबाट निर्वाचित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवारले जिल्लाको समस्या र विकास निर्माणमा चासो नदिएपछि नेपाली कांग्रेसका युवा नेता खतिवडाले सरोकारवाला निकायलाई दवाव दिएर सडक र पुल निर्माणको कामलाई अगाडि बढाउन पहल गरेका हुन् ।

प्रतिनिधि सभाको निर्वाचनमा नेकपाका सुनुवारसँग पराजित भएर पनि नेपाली कांग्रेसका युवा नेता खतिवडाले जिल्लाको समस्या समाधान र विकास निर्माणका काममा सधै आफूलाई सक्रिय बनाउँदै आएका छन् ।