काठमाडौँ – विराटनगर टाइटान्स पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)को इलिमिनेटरमा प्रवेश गरेको छ । बुधबार बुटवल ब्लास्टर्सलाई ४ विकेटले पराजित गर्दै विराटनगर इलिमिनेटरमा प्रवेश गरेको हो । यससंगै काठमाडौँ गोल्डेन्स प्रतियोगिताबाट बाहिरिएको छ ।


ADVERTISEMENT


काठमाडौँले ५ खेलमा दुई जितसहित ४ अंकका साथ तेस्रो स्थानमा रहेको थियो । विराटनगरले जितेर उसको पनि पाँच खेलमा दुई जितसहित ४ अंक हुने थियो । तर, रनरेटमा भने विराटनगरले काठमाडौँलाई जित्ने अवस्था कमजोर थियो । यदि इलिमिनेटरमा पुग्ने हो उसले १२.२ ओभरमा बुटवल विरुद्ध जित हासिल गर्नुपर्ने थियो । तर, १३४ रनको लक्ष्य पच्छ्याएको विराटनगरले ११.४ ओभरमै ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । विराटनगरको जितसंगै काठमाडौँ र एक्सपर्ट धनगढी ब्लूज रनरेटका आधारमा प्रतियोगिताबाट बाहिरिएका छन् ।


ADVERTISEMENT

# # #


विराटनगरका लागि नोमान खान ३५, पुनित मेहरा ३२, मोहम्मद जायद आमलम २४ र पुस्प थापाले १८ रन बनाए । यस्तै लोकेश बम १३ रनमा आउट भए ।

बुटवलका लागि नितेश थापाले २ तथा कमल खत्री, हर्ष टोंक र अभिनास बोहराले समान १ १ विकेट हात पारे । यसअघि नियमित कप्तान सोमपाल कामी बिना नै टस हारेर ब्याटिङमा उत्रिएको बुटवलले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनायो ।

बुटवलका लागि हर्ष टोंकले सर्वाधिक ६७ रनको पारी खेले । त्यसक्रममा उनले ४४ बलमा ६ चौका र ५ छक्का प्रहार गरे ।

यस्तै शिभम् सिंहले ३७ तथा सिद्धान्त लोहनीले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

विराटनगरका लागि मोहम्मद आलमले शानदार बलिङ गरे । ४ ओभरमा उनले २० रन मात्रै दिएर ४ विकेट चट्काए । यस्तै किशोर महताले २ तथा दिपेश श्रेष्ठ र साहव आलमले समान १–१ विकेट लिए ।