रेशम चौधरी

छ महिनादेखि प्रायः हप्तामै दुई तीनपटक मेरो मोबाइलमा घरबाट फोनमा घण्टी बज्छ । मैले फोन उठाउन नपाई छोराको एकतमास बालसुलभले भरिएको च्याट्ठिएको एकोहोरो बोली सुनिन्छ – ए बाउ, खोइ मेरो साइकल ? खोइ, खोइ, खोइ ? उ तारन्तार मोबाइलमा बोलिरहन्छ ।

एकदिन संयोग पनि यस्तै पर्यो । मैले फोन गर्दा छोरा साइकल चलाइरहेको रहेछ । मैले फोन गर्नु, अनि उसको साइकल बिग्रनु । साइकलको चेन फ्राइविलबाट उत्रेपछि पाङ्ग्रा अगाडि पछाडि गुड्दैन । ऊ बालक न हो, अनि रञ्जितालाई पनि यो साइकल अब बन्छ, बन्दैन भन्ने थाहा हुने पनि कुरै भएन । उनले अब यो साइकल पुरानो भयो थोत्रो भो, कहिल्यै बन्दैन भनेर छोरालाई सुनाइदिइछिन् । अब मेरो साइकल बन्दैन भन्ने पीरमा छोरो रुन थाल्यो । छोराको रुवाइसँगै उनले आफूले कुरा गरिरहेको मोबाइल छोरालाई दिइन् । मैले के भयो छोरा ? भनेर फकाउँदै सोधें । छोराले मेरो साइकल बिग्रियो भनेर फोनमै ह्वाँ ह्वाँ रुन थाल्यो । पीर नगर छोरा, म अर्को नयाँ साइकल किनिदिन्छु नि भनेर फकाउन खोजें । कहिले किन्दिने ? मलाई खेल्ने साइकल चाहिदैन ? उसले फर्माइसयुक्त स्वरमा भन्यो । पख, म अब केही दिनमै मेरो राजालाई नयाँ साइकल किनेर पठाउँछु है भनेर थामथुम पारें । छोराले हस् भनेर फोन राख्यो ।


ADVERTISEMENT


 # #


त्यहाँबाट जुन दिन छोराले सम्झिन्छ, त्यही दिन फोन गर्छ र साइकल खोइ भन्छ । बिचरी रञ्जिताले पनि कति दिन थेग्नु छोराको जिद्दी । उनी पनि जब जब छोराले साइकल सम्झेर दुःख दिन थाल्छ, तब तब मलाई फोन लगाइदिएर छोरालाई थमाइदिन्छिन् । फेरि छोराको उस्तै धम्की सुन्छु म – ए बाउ, मेरो साइकल खोइ ? मैले छोराको मायालु धम्कीपूर्ण भाषा यसरी सुन्दै गएँ र भोलि भोलि भन्दै टार्दै गएँ । मसँग पैसा भए पो साइकल किनिदिनु त ! कहिलेकाहि“ बजार घुम्ने टेम्पो भाडासमेत नभएको अवस्थामा छोरालाई साइकल किन्ने पैसाको जोहो त टाढाकै कुरा भयो । पटक पटक आफ्नो छोरासँग झूठो बोलिरहनुको पीडाको बयान गरेरै साध्यै छैन । भोलि भोलि भन्दा छोरो पनि आत्तिइसकेको थियो । अघिपछि भनेको फर्माइस भुइँमा झर्न नदिने बाबुको आनीबानीको बारेमा जानकार थियो ऊ । तर, अहिले त्यत्रो पटक फोन गर्दासमेत मेरो कुरा किन नसुनेको होला बाबाले भन्ने पनि लाग्दो हो उसलाई ।

झूठको पनि सीमा हुन्छ । त्यसैले आजभोलि त उसले पनि पत्याउन छाड्यो क्या’रे ! मैंले फोन गरें भने पनि सिधा धम्की दिन्छ – ए बाउ, खोइ मेरो साइकल ? भारतमा दशैंको रौनक नभए पनि नेपालमा दशैं आएको जानकारी छ मलाई ।

टीकापुर आन्दोलनका क्रममा हामी सबै परिवारको सम्पत्ति जायजेथासहित सम्पूर्ण लत्ताकपडा पनि जलाइएको छ । एउटा झोलामा आमा–छोराका दुई–चार जोर कपडाबाहेक रञ्जितासँग पनि अन्य लत्ताकपडा कहाँ होलान् र ?

दशैंजस्तो चाडबाडमा छिमेकका सबैजना नयाँ नाना किन्न जाँदा उनले पनि सोच्दिहुन् – आमा–छोराका लागि एकसरो कपडा किन्न पाए त हुन्थ्यो । च्यात्तिएको एकसरो लुगाबाहेक केही नभएको मेरो पीडाको साक्षात जानकार थिइन् उनी । त्यसैले यो अवस्थामा दवाव दिनु उचित ठान्दिन थिइन् क्या’रे ! सम्झेर मन त्यसै त्यसै भक्कानिन्छ । फोन राखेपछि ढोका लगाएर क्वाँ क्वाँ धित मरुञ्जेल रुन्छु । मुखमा हाँसो सिद्धिएको धेरै भो । आजभोलि आँशु नै साथी, आँशु नै सहारा छ ।

छोराको जिद्दी थाम्न नसकेपछि एकदिन काठमाण्डौमा साथीलाई साइकलको लागि अनुनय गरें । ठीकै छ, म भोलि भाउजूलाई बोलाएर साइकल किनिदिउँला साथीले भन्यो । भोलि नै मलाई फोन गर्न मन लागेन तर साथीको भोलि कहिल्यै आएन । मेरो एकजना निकटको मित्रलाई गुहारें अनि दशैंको बेलामा श्रीमती र छोराका लागि केही गरिदिन अनुनय गरें । उहाँले पनि भोलि भन्नुभयो । भोलिपल्ट दिउँसो मोबाइलमा साथीलाई अनलाइनमा देखें । हेलो भनेर च्याट गर्न खोजें, तर उसले लाइन अफ गर्यो ।

आज बिहान फेरि छोराको फोन आयो । रञ्जिता केही बोलिनन् । सायद उनलाई थाहा थियो – मेरो बुढाले आजपनि पक्कै भोलि भन्नेछ । मन थामिएन । काठमाण्डौमा भाइलाई फोन गरेर भतिजाको लागि साइकल किनिदिनु भनेर अनुनय गरें । उसले किनिदिने आश्वासन दिएको छ । सायद मेरो छोराले दशैंमा साइकल पाउँछ होला । मेरो जिन्दगीका हरेक संघर्षमय दिनहरुमा रञ्जिताको साथ छ । रञ्जिता छोरीजस्तै – बाबा, भोक लाग्यो भन्थिन् । म खाजा लिएर टुप्लुक्क उपस्थित हुन्थें । आज घरमा भात नपकाउ है भन्दा हामी गाडी चढेर राम्रो होटेलमा गई मनलाग्दो खान्थ्यौं । तर, समयले अनायस हामीमाथि घोर अन्यायको बादल ओढाइदिएपछि एकअर्काको आलिङ्गनबाट पनि टाढिएका छौं ।

रञ्जितालाई भोक लागेको बेला सकेको खुवाएँ । आजभोलि सोच्छु, छोराको नाथे साइकल फर्माइस पूरा गर्न नसक्नेले श्रीमतीको आवश्यकता कसरी पूरा गर्नु र ? जे भएपनि मन बुझाएकै होलिन् । चित्त बुझाएकै होलिन् । अहिलेसम्म मुद्दा फिर्ता गर्ने सरकारको कुनै छाँटकाटै छैन । यता परदेशमा मैले त आङ ढाकेकै छु । उनी कस्ती छिन् भनेर कल्पेर रुनुको बिकल्प छैन मसँग । उनले पकाएको खसीको मासु असाध्यै मीठो लाग्छ मलाई । तर के गर्ने समयले उनको र मेरो भान्सा अलग अलग गरिदिएको छ । एकै थालमा पस्केर एकअर्कोलाई नखुवाईकन पेट भरेको जस्तो नलाग्ने हाम्रो जोडीमाथि राजनैतिक राहुको प्रवेशले छुट्टयाइदिएको छ । सायद साढे सात र शनीहरुले हाम्रो यो पीडामा थपडी बजाइरहेका होलान् । हामीलाई घानमा पारेर धेरै थारु नेता मन्त्री भएका छन् । उनको दशैं त उमङ्गमय नै होला ! हामीले धेरै वर्षदेखि दशैंताका रेडियोको कार्यक्रममा एउटा गीत निरन्तर बजाउने गर्दथ्यौं दशैंको पीडाको । हामी खुशी भएका दिनमा दुखिला दशैं हुनेहरुको पीडा पनि यसैगरी बज्यो हाम्रो रेडियोमा – दिनै बित्छ रोएर, रातै कोल्टे फेरेर कति बसुँ दया राजै बाटो कुरेर …..

राति सपनीमा देखें रञ्जु र छोरा बाटोमा बसेर भीख माग्दै रहेछन् । कुनै दयालुले उनले ओछ्याएको रुमालमा एक रुपैयाँको ढ्याक हालिदिएछ । दुबैजना खुसीले उफ्रेछन् । झसङ्ग भएर असिनपसिन भई उठें । फेरि कोल्टो फेरेर निदाउन प्रयत्न गरें । दोस्रो सपनामा रञ्जिता र छोरा अगाडि थिए । रञ्जिता हात जोडेर उभिएकी थिइन् । छोरा भने मलाई थर्काउँदै थियो – ए बाउ, मेरो साइकल खोइ ?

प्रतिकृया

प्रतिकृया