काठमाडौं – संरक्षित वन्यजन्तुका विभिन्न आखेटोपहारहरू सहित १३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले अवैध रुपमा ओसार–ओसार तथा बेचबिखन गर्ने १३ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।


ADVERTISEMENT


काठमाडौं महानगरपालिका–५ भाटभटेनी मन्दिर अगाडिबाट अवैध रुपमा ओसारपसार गरी ल्याई खरिद बिक्री गर्न लागेको अवस्थामा संरक्षित वन्यजन्तु सालकको छाला सहितको खपटा २ थान सहित उनीहरुमध्ये ४ जनालाई पुस ६ गते प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT

# # #


पक्राउ पर्नेहरूमा महोत्तरीकासिंह बहादुर मोक्तान, मकवानपुरका काल बहादुर जिम्बा, धादिङका सुके तामाङ र धादिङकै उमेश अधिकारी रहेका छन् । यस्तै काठमाडौं महानगरपालिका– ४ सुकेधाराबाट संरक्षित वन्यजन्तु भालुको पित्त १ थान सहित ५ जनालाई पुस ८ गते प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङका ईश्वर थपलिया, दोलखाका ललित बहादुर बिक, राज कुमार दाहाल, यम खाती र बैतडीका हरिश भट्ट रहेका छन् ।

यसैगरी काठमाडौं टोखा नगरपालिका-३ ग्राण्डी एरियाबाट संरक्षित वन्यजन्तु चितुवाको छाला २ थान सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोटका सरोज ओझा, काठमाण्डौ तारकेश्वर बस्ने अखिल लामा भन्ने सुरेन्द्र तामाङ र कैलालीका कृष्ण क्षेत्री भन्ने कृष्ण साउद क्षेत्री रहेका छन् ।

साथै काठमाडौं महानगरपालिका– ४ बालुवाटारबाट ४ केजी तौलको संरक्षित वन्यजन्तु सालकको खपटा सहित सिन्धुलीका कर्ण रम्तेल भन्ने कर्ण बहादुर सार्कीलाई पुस ११ गते प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागी डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।