– तुलसीराम गौतम, प्रमुख कार्यकारी अधिकृत (सीईओ), सेञ्चुरी कमर्सियल बैंक  लिमिटेड

सेञ्चुरी कमर्सियल बैँकले आफ्नो गतिलाई कसरी अघि बढाइरहेको छ ?


ADVERTISEMENT


बैँकको नियमित गतिविधि त छँदैछ । अन्य कुराहरुमा पनि हामीले ध्यान दिइरहेका छौँ । राष्ट्र बैँकको नीति नियमभित्र रहेर हामी व्यापार वृद्धिमा लागेका छौँ ।


ADVERTISEMENT

# # #


हाम्रो नारा नै ‘बिगर एण्ड बेटर सेन्चुरी’ अर्थात ठूलो र उत्कृष्ट सेञ्चुरी राखेका छौँ । ‘बिगर’ भन्नाले व्यापार वृद्धि, शाखा सञ्जाल र नाफा लगायत र ‘बेटर’ भन्नाले हाम्रो सेवाको गुणस्तर !

यसरी हामी काम गरिरहेका छौँ ।

सञ्जाल विस्तारको हिसाबले सेञ्चुरी बैँक कहाँसम्म पुगेको छ ?

हामी ५३ वटा जिल्लामा पुगेका छौँ । जसमा हाम्रो शाखा १२० वटा रहेका छन् । त्यसबाहेक हाम्रा कर्मचारी झण्डै एक हजार पुगेका छन् । दूर्गम क्षेत्रमा राष्ट्र बैँकको निर्देशन अनुसार हामीलाई परेका स्थानहरुमा पुगेका छौँ । कतिपय ठाउँमा शाखाहरु विस्तारका क्रममा रहेका छन् । भोलिका दिनमा यातायात, बिजुली र इन्टरनेट भयो भने दूर्गम ठाउँहरुमा पनि हामी अझै सेवा विस्तार गर्छौं ।

बिगतका दृष्टान्तहरुका आधारमा तपाईलाई काम गरेर बैंकलाई सफल बनाउने सीईओका रुपमा चिनिन्छ । सेञ्चुरी बैंकमा चाहिँ के के
परिवर्तनहरु गरिरहनु भएको छ नि ? 

‘र्‍यांकिङ्ग’ आफैमा ठीक हो वा होइन भन्ने कुरा म जान्दिँन । तर, हिजो ३२ वटा कमर्सियल बैँकहरु हुँदा ‘र्‍यांकिङ्ग’मा सेञ्चुरी बैँक २८ औँ तिर थियो । त्यतीबेला हामीले यति वर्षमा यति ‘र्‍यांकिङ्ग’मा आउँछौँ भनेर घोषणा गरेका थियौँ ।  त्यतिबेला २५ औँभन्दा पछाडी रहेका हामी ८–९ नम्बरमा आयौँ । त्यसपछि मर्जरको चलन आयो । हामी ९ मा थियौँ भने १० र १४ औँ स्थानमा भएका बैँकहरु हामीभन्दा साना थिए । १० र १४ नम्बरको बैँक मर्ज भएर ९ भन्दा ठूलो भयो । यसरी हामी केही तल झर्‍यौँ । अहिले पनि मर्जरको ठूलो लहर छ । हामीभन्दा साना बैँक मर्ज भए भने हामीभन्दा ठूलो अवश्य हुन्छन् । त्यसहिसाबले, 

 हामी नम्बरका पछि लागेका छैनौँ । तर, एउटा कुरा के हो भने सेञ्चुरी बैँक एकदमै लोकतान्त्रिक पद्धतिको बैँक हो ।

‘शेयर होल्डिङ’को हिसाबले हेर्दा हामीकहाँ ठूला शेयर होल्डर छैनन् । अन्य बैँकमा यस्तो छैन ।

२ अर्बको पूँजी, तमाम छरिएर रहेका शेयर होल्डर र प्रोमोटरबाट ८ अर्बसम्म पुर्याउनु चानचुने कुरा थिएन । यसलाई प्रत्येक वर्ष वृद्धि गर्ने हाम्रो लक्ष्य हो । शेयरधनीलाई कम्तीमा १५ देखि २० प्रतिशत सम्म बोनस दिने हाम्रो लक्ष्य छ । 

वर्षेनी ५० करोडभन्दा बढी हामी सरकारलाई कर तिरिरहेका छौँ ।

अन्य बैँक तथा वित्तीयसंस्थासँग मर्जरबारे केही सोच्नुभएको छ ?

राष्ट्र बैँकले मर्ज गर भनेर पहिलेदेखि नै आह्वान गरेको हो ।  यसै अनुसार हाम्रो पनि कतिपय वित्तीय संस्थासँग कुरा भएको हो । तर, मर्जरको कुरा सईओको हातमा हुँदैन । त्यसका लागि बोर्ड र त्यस अन्तर्गतको मर्जर कमिटिको भूमिका महत्वपूर्ण हुन्छ । त्यही अनुसार सुरुवाती चरणका कुराहरु भएका हुन् । तर, योबारे हामीले अन्तिम चरण कुरा पुर्‍यायौँ वा कुरा पक्का भयो भन्ने छैन ।

पछिल्लो समय सामाजिक सुरक्षा कोषबारे निजी क्षेत्रले असन्तुष्टि देखाएको जस्तो देखिन्छ । यसबारे तपाईंको धारणा के छ ?

यसमा बैँकको धारणा भन्नुपर्दा सामूहिक हो । बैँकर्स एशोसिएसनले नै यसको नेतृत्व गरेको छ । त्यसका लागि हामीले सुधारका कुराहरु लेखेर दिइपनि सकेका छौँ । योभन्दा पहिलेका श्रममन्त्री (गोकर्ण विष्ट) सँग केही मौखिक सहमति पनि भएको थियो । बीचमा मन्त्री परिवर्तन भएपछि  त्यसले गति लिन नसकेकोजस्तो लाग्छ ।

सम्पूर्ण कर्मचारीको माग भनेको खाइपाई आएको सेवा सुविधा काटिनु भएन भन्ने हो । अर्को कुरा लोनको हो । केहीले आफ्नै कोष खोले पनि अधिकांशले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा जम्मा गरेको पैसाका आधारमा अहिले लोन पाइरहेका छन् । अहिलेको नयाँ व्यवस्थामा लोनको कुरा छैन भन्ने आएको छ । अर्को भनेको मान्छे जागिर खाएर ६० वर्षमा रिटायर्ड हुन्छ भन्ने बुझाई भएको छ । सरकारीमा भएपनि बैँकिङ्ग क्षेत्रमा त्यस्तो हुँदैन । बीचमै जागिर छाडेर अर्कोमा जाने वा आफै व्यापार गर्ने भन्ने पनि हुन्छन् ।

नयाँ व्यवस्थामा ६० वर्ष पुगेपछि मात्रै पैसा निकाल्न पाउने भन्ने छ । ४५ वर्षमै जागिर छाडियो भने पैसा पाउन अरु १५ वर्ष कुर्नुपर्ने भयो ।  पेन्सन पाउँदा पनि सरकारी कर्मचारी र निजी क्षेत्रका कर्मचारीबीच फरकपन आउने भयो । यस्तै दोहोरो करको पनि कुरा आएको छ । कर तिरेर जम्मा गरेको पैसा निकाल्दा फेरि १५ प्रतिशत कर लाग्ने भयो । यी कुराहरुले नै असन्तुष्टि पैदा गरेको हो । यसलाई सम्बोधन गरिनुपर्छ भन्ने माग राखिएको छ ।

पछिल्लो समय बैँकिङ्ग प्रविधिसम्बन्धी सुरक्षा चुनौतिका कुराहरु पनि आएका छन् । यसको व्यवस्थापनका लागि के गरिनुपर्छ ?

प्रविधि भनेकै चुनौतिपूर्ण हुन्छ । समयको विकाससँगै प्राविधिक कुराहरु पनि परिमार्जन हुँदै जान्छन् । बैँकिङ्ग प्रविधिको सुरक्षाको कुरा गर्दा कतिपय अवस्थामा आफ्नै कर्मचारी पनि ‘ह्याकिङ्ग’मा संलग्न भएका हुनसक्छन् । त्यसकारण शतप्रतिशत यो निराकरण हुन्छ जस्तो मलाई लाग्दैन । देखिएका छिद्रहरु टाल्दै जाने हो ।

हिजो सूचना प्रविधिको प्रयोग यो अवस्थामा आइसकेको थिएन । तर, चोरी डकैती, लुटपाट त त्यतिबेला पनि थियो नि त ! त्यसकारण हिजो एकदमै राम्रो थियो, आज खत्तम भयो भन्ने होइन । अहिले यसको स्वरुप मात्रै परिवर्तन भएको हो । बिजोग नै भएको छैन ।

तर, हामीले आवश्यकता अनुसार सूचना प्रविधिमा खर्च गर्नैपर्छ र गरिरहेका पनि छौँ ।

बैँकले विकास र समृद्धिको राष्ट्रिय एजेण्डामा कसरी सहयोग पुर्‍याउनु पर्छ ? सेञ्चुरी बैँकको त्यतातिरको योजना के छ ?

बैँकको खासगरी दुईवटा काम हुन्छ । पहिलो जो सँग पैसा छ, उसको पैसा निश्चित ब्याजदर दिएर बैँकमा राखिदिने हो । त्यो बचत गरेको पैसा कसैलाई उद्यम, व्यापार वा अन्य खर्चका लागि निश्चित ब्याजदरमा ऋण दिने हो । अर्को भनेको बैंकले एक ठाउँको पैसा अर्को ठाउँमा पुर्‍याइदिन्छ । त्यसलाई नै प्रभावकारी रुपमा सञ्चालन गरेर आएको नाफाबाट नै आफ्नो सञ्चालन खर्च कटाएर पूर्वाधार निर्माण या अन्य योजनामा लगानी गर्ने हो । बैँकले खासमा योगदान गर्ने भनेको यसमा हो । यस्तै,

सामाजिक उत्तरदायित्वको कुरा पनि छ । यो पनि  भईरहेको नै हुन्छ । निजी क्षेत्रबाट सञ्चालन भईरहेका उद्योगहरुमा बैँकले सहयोग गर्दै आएका छन् । यस हिसाबले आर्थिक वृद्धिदर भन्नुहोस् वा अन्य विकासका कुराहरुमा बैँक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

सबै स्टेक होल्डर लगायत आबद्ध सबैलाई उचित किसिमको प्रतिफल दिने बैँकको योजना हो । यसमा हामी सफल भईरहेका छौं । एउटा असल कर्पोरेट नागरिक हुने हाम्रो लक्ष्य हो । त्यसका लागि सामाजिक उत्तरदायित्व बहन गर्दै सरकारी निकाय र प्रक्रियासँग कर छली नगरी नियममा रहेर काम गर्ने हाम्रो कर्तब्य हो । हामी यसमा दृढ छौं । यि सबै बिषयहरुलाई हामी एकसाथ अगाडि बढाईरहेका छौं । यसमा सबैको सहयोग मिलेको छ । त्यही अनुुसार नै कर्म गरेर अघि बढ्नेमा हामी प्रयत्नशील छौं ।