काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी आफ्नो कार्यकाल सफल बनाउँदै स्वदेश फर्कने भाग्यमानी राजदूत बनेका छन् ।


ADVERTISEMENT


नेपालमा दुई वर्ष नौ महिना तीन दिन जिम्मेवारी पुरा गर्दा उनले कसैलाई नबिझाईकन कर्तव्यमा कहिँ पनि नचुकेको बिश्लेषण गरिएको छ ।


ADVERTISEMENT

# # #


परराष्ट्रबिदहरुको दृष्टिकोणमा राजदूत पुरीले नेपाल भारत सम्बन्धको एउटा संकटकालीन समयलाई सहज रूपमा व्यवस्थापन गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई आफैँले हेर्ने गरी बनाएको संयन्त्रमा पुरीले राम्रो भूमिका निर्वाह गरेको बिज्ञहरुको भनाई छ ।

बदलिँदो नेपालको राजनीतिक परिवेशमा भारतको बदलिँदो नेपाल नीति कार्यान्वयन गर्ने क्रममा पुरी विवादरहित देखिएका छन् । पुरीले भारतीय राजदूतको फरक मानक स्थापित गरेको बिदेश नीतिका जानकारहरु बताउँछन् ।

नेपालमा स्थानीय तहको निर्वाचन भइरहँदा पुरी राजदूतका रूपमा आएका थिए । निर्वाचन प्रक्रियालाई सघाउने भारतीय नीतिको कार्यान्वयनबाट उनले काम सुरु गरेका थिए । तीन तहको निर्वाचनपछि सबैभन्दा ठूलो दल भएको तत्कालीन एमालेका अध्यक्ष केपी ओली र भारतीय नेतृत्वबीच संवाद सहजीकरणमा पुरीले सुरुमै भूमिका निर्वाह गरे ।

प्रधानमन्त्री भएपछि केपी ओलीले भारतको राजकीय भ्रमण गरे । त्यसपछि मोदीले नेपालको राजकीय भ्रमण गरे । त्यसयता ओली र मोदीले क्रमशः दुई–दुईपटक भ्रमण गरेका छन् ।

पुरीकै पालामा महत्वपूर्ण विकास आयोजना अघि बढेका छन् । अरुण तेस्रो जलविद्युत् परियोजना सुरु भयो । पेट्रोलियम पाइपलाइन उनकै पालामा सुरु भएर सम्पन्न भयो । हुलाकी राजमार्गको काम अघि बढिरहेको छ । रक्सौल–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन सकिएको छ । भारतीय सहयोगमा रेलमार्ग निर्माण गर्ने सहमति पुरीकै समयमा भयो । नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको बैठकमा पुरीले रोकिएका परियोजनाको कारण तय गरेर दुवै सरकारले समस्या समाधान गर्नुपर्ने जोड दिँदै आए ।

राजदूत पुरी सिख समुदायबाट नेपालमा राजदूत भएका दोस्रा व्यक्ति हुन् । नेपालका लागि प्रथम भारतीय राजदूत सुरजितसिंह मजिठिया नेपाल पठाइएका पहिलो सिख राजदूत थिए । नेपालमा रहेका सिख समुदायलाई आफ्नो कार्यकालमा उनले समेटेका छन् । उनकै कार्यकालमा गुरु नानकको ५५०औँ जन्मजयन्ती मनाइएको छ । नेपालमा सिखसम्प्रदायको इतिहास पुरीकै कार्यकालमा आधिकारिक रूपमा लेखिएको छ ।