काठमाडौ,
नेपालले चीनमा मौसम परिवर्तनका कारण आउने बाढी, पहिरोजस्ता विपत्तीबारे पूर्वसूचना दिन आग्रह गरेको छ । नेपालको १५ सय किलोमिटर उत्तरी सीमाना चीनसँग जोडिएकाले चीनमा विपत्ती आउँदा त्यसको असर नेपालमा समेत पर्ने भन्दै त्यसबारेको पूर्वसूचना माग गरिएको हो । चीनको मौसम विभागका उपमहानिर्देशक चेन युङफेङ नेतृत्वको टोलीसँग बुधबार सिंहदरबारमा भएको भेटमा उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले मौसमबारे पूर्वसूचना दिन आग्रह गर्नुभएको हो ।


ADVERTISEMENT


नेपालका अधिकांश नदीको मुहान चीन रहेको र ती नदीमा ठूला लगानीमा जलविद्युत आयोजना र नदी किनारमा महत्वपूर्ण संरचना निर्माण भइरहेकाले चीनको मौसममा हुने परिवर्तनले आउने बाढी पहिरोको जोखिमबाट ती संचरनाको सुरक्षा गर्न सूचना जरुरी भएको औंल्याउनुभयो ।


ADVERTISEMENT

# # #


पूर्वसूचनाको अभावमा दुई वर्षअघि सुनकोसी नदीमा आएको बाढीले सिन्धुपाल्चोकको बाह्रबीसे र आसपास क्षेत्र डुबानमा पर्दा ठूलो धनजनको क्षति भएको स्मरण पनि मन्त्री पुनले टोलीलाई गराउनुभयो । ‘हाम्रा धेरै नदीहरु चीन मुहान भएर आउँछन्, त्यसमा हामीले ठूलो लगानीमा जलविद्युत आयोजना र अरु महत्वपूर्ण संरचना बनाएका छौं’, मन्त्री पुनले भन्नुभयो, ‘बाह्रबिसेमा जस्तै धनजनको क्षति अब नहोस् भन्नका लागि हामीलाई पूर्वसूचना जरुरी भएको छ ।’ प्राकृतिक विपत्तीबारे पूर्वसूचना भए सम्भावित जोखिमबाट बच्न बेलैमा सचेतता अपनाउन सकिने उहाँको भनाइ थियो ।

सीमापारिको मौसमबारे नेपाललाई केही थाहा नहुने गरेको भन्दै उहाँले त्यसमा सहकार्य जरुरी रहेको विचार व्यक्त गर्नुभयो । ‘हाम्रो विकासका पूर्वाधारको सुरक्षाका लागि चिनियाँ मौसमबारे पूर्वजानकारी नभइभएको छैन’, मन्त्री पुनले भन्नुभयो । नेपालमा हाल त्रिभुसवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहेको र भैरहवा र पोखरामा अन्तर्राष्टिन्य विमानस्थल निर्माणको काम भइहरेको भन्दै उहाँले पर्यटकीय दृष्टिले पनि मौसम पूर्वानुमानको महत्व बढी रहेको चर्चा गर्नुभयो । जवाफमा चिनियाँ टोलीको नेतृत्व गरेका त्यहाँको मौसम विभागका उपमहानिर्देशक युङफेङले नेपालको मौसम पूर्वानुमान विभागलाई भौतिक र प्राविधिक सहयोग गर्न र सूचना आदानप्रदान गर्न तयार रहेको बताउनुभयो ।