काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक बिदेशी नागरिकको हराएको सामान तत्कालै फेलापारिदिएको भन्दै कोरियामा समेत प्रचार प्रसार भएको छ ।


ADVERTISEMENT


गए राती ट्याक्सीमा ठमेलबाट सोह्रखुट्टे जाँदा सामान छुटेको भन्दै बिहान ६ बजे महाशाखामा कोरियन नागरिक जेमिन जोनले उजुरी दिएका थिए । महाशाखा प्रमुख एसएसपी भीम ढकालको सचिवालयका प्रहरी निरिक्षक (ईन्सपेक्टर) जितेश दाहालले हिमालय पोष्टलाई दिएको जानकारी अनुसार उजुरी पर्नासाथ तत्कालै खोजतलास शाखामा खबर गरेर खोजी प्रक्रिया अघि बढाईएको थियो । उजुरी परेको ३ घण्टा भित्रमा हराएको सामान फेला पारेर बिहान ९ बजे सम्बन्धितलाई हस्तान्तरण नै गरिएको छ । नगद ३ लाख ४५ हजार सहित ल्यापटप, ड्रोन क्यामरा, मेमरी कार्ड, एटीएम कार्ड लगायतका महत्वपूर्ण सामानहरु फेला पारिएको हो ।


ADVERTISEMENT

# # #


कोरियाका युट्युबरले आफ्नो सामान फेला पारेर ट्राफिक प्रहरीले हस्तान्तरण गरेको भिडियो लाईभ गरेका थिए । सो हेरेर कोरियन नागरिकहरुले नेपालको ट्राफिक प्रहरीलाई धन्यबाद दिएका छन् ।

जोनले कोरिया गएपछि नेपाल घुम्नका लागि सुरक्षित छ भन्ने सन्देश फैलाउने बताएका छन् । उनले भ्रमण बर्ष २०२० मा घुम्नका लागि नेपाल अत्यन्तै सुरक्षित छ भन्ने प्रचार प्रसार गर्ने प्रतिबद्धता समेत जनाएको ईन्सपेक्टर दाहालले जानकारी दिए ।