– नैनसिंह महर, युवा नेता, नेपाली कांग्रेस

पछिल्लो समय नेपाली कांग्रेस केमा व्यस्त छ ?


ADVERTISEMENT


उपनिर्वाचन पछि तय भएको जागरण अभियानमा पार्टी जुटेको छ । अझ सशक्त र मजबुद बन्दै अबको तीन वर्षमा नेपाली कांग्रेसलाई बहुमतका साथ सरकारको नेतृत्वमा स्थापित गर्ने योजनाका साथ पार्टी लागेको छ । हिजो सरकारमा रहँदा गर्न नसकेका कामहरु सम्पन्न गर्ने, हिजोका गल्ती कमजोरीहरुलाई दोहोरिन नदिने गरी काम गर्दै नेपाललाई समृद्धितर्फ अगाडि बढाउने तारतम्य मिलाउनु पर्छ । त्यसका लागि आजदेखि नै पार्टी सशक्त बन्नुपर्छ ।


ADVERTISEMENT

# # #


सयौँ काण्ड घटाएर वर्तमान सरकार भ्रष्टाचारको जालोमा जसरी परेको छ, त्यसको नकाब उतारेर जनतालाई यसको असली रुप देखाउन सक्ने किसिमको पार्टी निर्माणका लागि कांग्रेस भित्र छलफल सुरुवात भएको छ ।

तर, पछिल्लो समय कांग्रेसभित्र असन्तुष्टिका स्वरहरु निकै सुनिएका छन् नि ?

पार्टीभित्र वादविवाद, संवाद भएन भने प्रजातन्त्रले आफ्नो चरित्र गुमाउँदै जान्छ ।

विपी कोइरालाले नै भन्नुभएको छ, ‘प्रजातन्त्रभित्र असन्तुष्टि भएनन् भने त्यसले काम गर्न सक्दैन । त्यो निरंकुश बन्छ ।’ त्यसकारण पार्टी भित्र जे जस्ता विवाद आएका छन्, ती पार्टी सुधारकै लागि आएका छन् ।

कांग्रेसलाई बलियो बनाउनकै लागि आएका छन् । सबैलाई एकिकृत गरेर, सबै विचारहरुको एकिकरण गरेर बलियो पार्टी बनाउनु पर्ने बेला छ । त्यसको लागि एउटा वातावरण बन्दैछ ।

यो विषयमा पार्टी नेतृत्वलाई तपाईहरु जस्ता युवा नेताहरुको सुझाव के हुन्छ त ?

मैँले मिल्नुको विकल्प छैन भन्दै आएको छु । जे जति हाम्रा असहमति भएपनि, विशेष गरी व्यक्तिवादी चरित्रले कांग्रेसमा समस्या आएको हो ।

वैधानिकताभित्र नबस्ने, विधानलाई उल्लंघन गरेर आफू अनुकुल भागबण्डामा आफूलाई सहभागी गराउने हो भने पार्टीमा भाँडभैलो निम्तिन्छ । त्यसकारण विधानभित्रै रहेर सहमति खोजिनुपर्छ । विधान बाहिर गएर पार्टीका कुनै पनि कुराहरु समाधान हुन सक्दैनन् । वैधानिक चरित्र गुमाएको पार्टी सशक्त बन्न सक्दैन ।

सभापतिले विधान अनुसार काम गर्नुपर्यो । केन्द्रीय समितिले विधानले व्यवस्थापन गरे अनुसार काम गर्नुपर्यो । सहमति यसैभित्र खोज्नुपर्छ । आफूलाई परेको बेला उल्लंघन गर्ने प्रवृत्ति देखिएको छ । नेताहरुका भागवण्डा मिल्यो भने कसैलाई विधानको याद आउँदैन । आफ्नो तर्फबाट भागवण्डा छुट्यो भने विधानका कुरा गर्ने चरित्रले जनतालाई समेत थाहा हुने गरी आफ्नो रुप देखाउनु हुन्न । केन्द्रीय पदाधिकारीलाई दोष लगाउने परम्परा छ । तर, तिनै केन्द्रीय पदाधिकारीलाई आफैले भोट हालेर पठाएको कुरा महाधिवेशन प्रतिनिधिले बिर्सिनु हुँदैन । सबैका आआफ्ना जिम्मेवारीहरु छन् ।

भनेपछि आन्तरिक किचलोले गर्दा जनतासँग जोडिने काममा नेपाली कांग्रेस पुग्नै सकिरहेको छैन होइन त ?

हाम्रो जागरण कार्यक्रमले, जिल्लागत र प्रशिक्षण कार्यक्रमले, पार्टीका दैनिक कार्यसम्पादनले जनतालाई जोडिरहेको छ । प्रमुख प्रतिपक्षीको रुपमा जनताले कांग्रेसबाट जुन किसिमको अपेक्षा गरेका छन्, त्यो अनुसार हुन सकेको भने छैन ।

अहिले दैनिक उपभोग्य वस्तुमा ३०० प्रतिशतसम्म मूल्य वृद्धि भएको छ । अर्बौंका भ्रष्टाचारका काण्डहरु छन् । सरकारी जग्गा आफ्नो नाममा बनाउन नेताहरु लागेकै छन् । गोकर्ण रिसोर्ट मात्रै होइन, ठूला वन क्षेत्रहरु पार्टीका नेताहरुको संलग्नता रहेका ठूला व्यापारिक हाउसहरुलाई गैरकानुनी रुपले दिईएकै छ । खारेज गरिएका टेलिकम कम्पनीहरुलाई फेरि गलत उद्देश्य राखेर सरकारमा बस्नेहरुले स्वीकृति दिएकै छन् । हत्या, हिंसा, बलात्कारका घटनाले चरम चुली नाघेको छ । यस्तो अवस्थामा,

जनताले प्रमुख प्रतिपक्षी दलको रुपमा कांग्रेसबाट धेरै अपेक्षा गरेका छन् । तर, समग्रतामा त्यसले पूर्ण आकार लिन सकेको छैन । जुन दिन हामी जनताकै साथमा रहेर उनीहरुका कुरा बोल्छौँ, उनीहरुका पिरमर्कामा एकाकार हुन्छौं, त्योबेला मात्रै नेपाली कांग्रेस सशक्त पार्टी बन्छ ।

कहिले बन्छ त कांग्रेस त्यस्तो ?

मलाई लाग्छ, नेपाली कांग्रेसको १३ औँ महाधिवेशनले यी सबै कुराहरु पुरा गर्छ । पार्टीमा आफू नेतृत्वमा आउनका लागि थुप्रै नेताहरु क्रियाशील रहन्छन् । पार्टीको सबै तह चलायमान भएर अघि बढ्न सक्यो भने नेपाली कांग्रेसलाई फेरी पनि जनताको मनमा बसाल्न धेरै समय लाग्दैन ।

तपाईंले केही समय पहिले ‘सरकारका काण्डै काण्ड’ भन्ने पुस्तिका सार्वजनिक गर्नुभएको थियो । सरकार प्रतिको गुनासो सुध्रियो की उस्तैछ ?

सरकारका गलत कामकाजको बारेमा चिरफार, पर्दाफास गर्छौं । लेख्छौँ, बोल्छौं, केही कुरा जनतालाई भन्छौँ । सबै कुराहरुलाई लिएर जनताकै सामू जाने हो । सरकारका काण्डहरुबारे जनताको माग अनुुसार मैले मुखरित मात्रै गरेको हुँ । यतिबेला केही सरकारी भत्ता खानेबाहेक सबै सरकारसँग असन्तुष्ट छन् । लोकतन्त्रको मूल अंगको रुपमा रहेको वाक स्वतन्त्रताको हकविरुद्ध सरकार जाँदैछ । यस्ता विविध काण्डहरु छन् । त्यसका विरुद्ध पनि हामीहरु लाग्नुपर्छ । यस्का लागि हामी निरन्तर निगरानी र खबरदारीमा हुन्छौं ।

कांग्रेसमा युवा शक्तिलाई परिचालन गर्न के गर्नुपर्छ ?

मैँले युवा कांग्रेसको अवधारणा अगाडि बढाएको छु । नेपाली कांग्रेसभित्र ३२ वर्षसम्म नेपाल विद्यार्थी संघ, ४० वर्षसम्म तरुण र ५० वर्षसम्मको युवा कांग्रेस भनेर भनिएको छ ।

युवा कांग्रेस भनेको एउटा उत्कृष्ट लिडरसिप बनाएर राजनीतिका सबै कुराहरु सिक्ने, एउटा नेता बन्नका लागि कुन कुन आचारसंहिता पालना गर्नुपर्छ भन्ने कुराको उदाहरण पेश गर्ने ‘कन्सेप्ट’ हो ।

नेता मितव्ययी हुनुपर्दैन ? नैतिकवान र बौद्धिक हुनुपर्दैन ? नेता जुझारु हुनुपर्दैन ? यी सबै कुरा सिकाउने एउटा ढोका बनाएर राज्यलाई, पार्टीलाई साँच्चिकै नेतृत्व दिने हो भने यी कुरा सिक्नु पनि पर्यो ।

जिम्मेवारी नदिएमा सक्रिय कम हुने परिपाटी हामीमा देखिएको छ । नेपाली कांग्रेसमा अहिलेका विद्यमान संगठनभन्दा एउटा भिन्न भातृ संगठन स्थापना गर्नुपर्छ । यसले पार्टी मात्रै होइन, देशमा समृद्धि ल्याउनका लागि पनि सहयोग पुर्याउँछ । यही हो युवा कांग्रेसको अवधारणा ।

कसरी कार्यान्वयन हुन्छ त ‘युवा कांग्रेस’को अवधारणा ?

मैँले पार्टीको केन्द्रीय समितिलाई पनि यसबारे अनुरोध गरेको छु । अबको केन्द्रीय समितिको बैठकमा पेश गर्नेगरी केही युवा साथीहरु बसेर यसको बारेमा छलफल अगाडि बढाउँदैछौँ । मुख्य कुरा पार्टी केन्द्रीय समितिले यसको स्वामित्व ग्रहण गर्नुपर्ने हो । त्यो भएन भने १३ औँ महाधिवेशनमा हामीले ‘युवा कांग्रेस’को अवधारणालाई टेबुल गर्छौँ ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन घोषणा भएको छ । चुनाव हुनुपर्छ की पर्दैन ?

हुनैपर्छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनसँग हाम्रो रगतको साइनो छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कुलपति प्रधानमन्त्री हुनुहुन्छ । उहाँले र नियुक्त गरेका उपकुलपति हुनुहुन्छ । त्यसकारण त्रिविले चुनाव भाँड्ने अकर्मण्यता गर्नुहुँदैन ।

कुनैपनि बहानामा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव रोकिनु हुँदैन । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भनेको नेतृत्व विकास गर्ने ठाउँ हो । आजको विद्यार्थीले नै भोलिको राजनीति मात्र नभई सबै क्षेत्रमा नेतृत्व गर्ने हो ।

शिक्षाको विकासमा पनि अहिलेको स्ववियुको निर्वाचित नेतृत्वको भूमिका हुने भएकाले निर्वाचन अपरिहार्य छ । अहिलेको सरकारका काम कारबाहीबारे प्रतिक्रिया दिने माध्यम पनि स्ववियुको यो निर्वाचन हो । अहिले स्ववियु निर्वाचनमार्फत नेविसंघलाई जिताएर सरकारलाई सबक सिकाउने अवसर पनि हो यो ।

अन्त्यमा, तपाईले छोडेपछिको नेबिसंघलाई नियाल्दा कस्तो लागिरहेको छ ?

मैँले यस विषयमा बोल्न छाडेको छु । राजनीतिभित्र नैतिकताको स्थान हुन्छ, विधानको स्थान हुन्छ भनेर  दुई वर्ष पाँच महीनाको कार्यकालमा मैले प्रस्तुत गरेको छु । तर,

पार्टीका विभिन्न गुटहरु मिलेर मलाई महाधिवेशन गराउन दिइएन । पार्टीका शीर्ष नेताहरुले जिल्ला जिल्लामा फोनै गरेर महाधिवेशन भाँड्न लगाए ।

यसका बाबजुत पनि २२ जिल्लाको अधिवेशन र करिब ६०–७० क्याम्पसहरुमा अधिवेशन भयो ।

महाधिवेशनका लागि पार्टीभित्र कोही पनि सकारात्मक नदेखिएपछि मैँले राजीनामा दिएको हुँ । हरेक पार्टीका नेताहरुलाई आफ्नो व्यक्तिगत स्वार्थ अनुकुल काम गर्ने संगठन चाहिएको छ । सबैले आ–आफ्नो मन परेको नहुने देखेपछि ११ महिनासम्म पनि नेविसंघ नेतृत्वबिहिन बन्नपुग्यो । यसको समग्र जिम्मा कांग्रेस केन्द्रीय समितिले लिनुपर्छ ।