कीर्तिपुर रंगमञ्चमा ‘क्यानभास एट थिएटर’ शीर्षकको सामूहिक चित्र प्रदर्शनी सुरु भएको छ । राराहिल कीर्तिपुरस्थित थिएटर मलको नाटकघर परिसरमा समकालीन कलाका युवा कलाकारहरूको सिर्जना प्रदर्शनीमा राखिएको हो । प्रदर्शनीमा इचिङ र पेन्टिङ गरी दुई विधाका ३० वटा चित्रको प्रदर्शनी सुरु भएको हो ।
प्रदर्शनीमा रहेका चित्रमा समकालीन नेपाली समाजप्रतिको चिन्ता र चासो अभिव्यक्त गरिएको छ । युवा कलाकारहरूले आफ्नो सिर्जनामा चेनतशील मानव सभ्यताका विकृति, कुसंस्कार, उत्पीडनलाई प्रतिरूपस्वरूप उतारेका छन् ।


ADVERTISEMENT


त्यस्तै मानवीयता, लैंगिकता, भूमण्डलीकरण प्रकृति, आशा र संघर्षलाई रंगका माध्यमबाट अभिव्यक्त भएका चित्र सिर्जनाहरू प्रदर्शनीमा रहेका छन् । प्रदर्शनीमा भिजिट नेपाल–२०२० को लोगोका सिर्जनाकारदेखि विभिन्न विश्वविद्यालयबाट दीक्षित सक्रिय १३ जना कलाकारका सिर्जना राखिएको छ ।


ADVERTISEMENT

# # #


कलाकारहरू उद्धवराज रिमाल, टीकादत्त दाहाल, दीपमाला महर्जन, नारायणप्रसाद बोहजू, भीषण राजभण्डारी, मनीषा मानन्धर, रुकुमणि श्रेष्ठ, विद्यमान तामाङ, सन्तोष सिग्देल, सुजिता महर्जन, सुमन महर्जन, सुवास तामाङ तथा सोनी राईको सामूहिक प्रदर्शनीलाई ‘क्यानभास एट थिएटर’ नाम दिइएको हो ।

सहभागी कलाकारहरूले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार तथा प्रदर्शनीहरूमा सहभागिता जनाइसकेका छन् । कलाका माध्यमहरू आफैं पृथक् र एक–अर्काका परिपूरक रहेको औंल्याउँदै प्रिन्ट मेकिङ कलाकार सुजिता महर्जनले थिएटरमा कला प्रदर्शनीको संयोजन गरेकी हुन् ।

प्रदर्शनीको उद्घाटनमा थिएटर मलका कलाकारहरूले ‘हामी बोल्छौं’ शीर्षकको विम्बात्मक प्रस्तुति पनि दिएका थिए, जसमा रंगकर्मीहरू मनिष ब्याञ्जू, स्नेहा रसाइली, कञ्चन संग्रौला, रोशन केसी, अनिल थपलिया, कुमार थापा, सरोज राई र शंकर भण्डारीको अभिनय थियो भने शक्ति पाख्रिनले निर्देशन गरेका थिए ।

थिएटर, कलाका विविध माध्यमको संगम रहेको बताउँदै थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले कला–संस्कृतिको अभियानमा समन्वय र सहकार्यको अत्यावश्यकतामाथि बहसको आशा गरेको उल्लेख गरे । प्रदर्शनी भोलि शनिवारसम्म जारी रहनेछ । साथै नाटक ‘जामुनको रूख स् सेमलेस भल्गारिटी’ पनि माघ ४ सम्म मञ्चन हुनेछ ।