डा. शिवमाया तुम्बाहाङ्फे


ADVERTISEMENT


माननीय सदस्यहरु,
एउटा अप्रत्यासित र अस्वाभाविक परिस्थितिका कारण विगत केही समयदेखि प्रतिनिधिसभाको पद रिक्त रहँदै आएको व्यहोरा यहाँहरुलाई अवगत नै छ । सार्वभौम संसदको महत्वपूर्ण अंग प्रतिनिधिसभा लामो समयसम्म सभामुखविहीन हुँदा उत्पन्न भएको जटिलता र यसले सिर्जना गरेका समस्याका बारेमा पनि हामी सबै जानकार नै छौँ ।


ADVERTISEMENT

# # #


यस्तो स्थिति अब कायम रहनु हुँदैन, यसले छिट्टै निकास पाउनु पर्छ भन्ने माननीय सदस्यहरुको भावनालाई प्रतिनिधित्व गर्दै मैँले पटकपटक सम्बन्धित पक्षहरुको ध्यानाकर्ष गराउँदै आएको यथार्थसँग माननीय सदस्यहरु परिचित नै हुनुहुन्छ । अन्य कुनै अवस्थामा उपसभामुख पद रिक्त गरेर यस गरिमामय सदनलाई नेतृत्वविहीन राख्न उचित नहुने मान्यताका आधारमा सभामुख चयनको ठोस आधार सिर्जना भएपछि आफूले मार्गप्रशस्त गर्ने भनेर मैँले सार्वजनिक रुपमा राखेको मान्यता सम्मानित सदनसमक्ष अभिलेखित गराउन चाहन्छु ।

मेरा धारणाहरु कुनै अस्वभाविक महत्वकांक्षा वा अनुचित आग्रहबाट प्रेरित थिएनन् भन्ने कुरामा दृढ छु ।

समावेशी लोकतन्त्र हाम्रो संवैधानिक व्यवस्थाको महत्वपूर्ण विशेषताको रुपमा रहेको छ । संविधान यो मर्म अक्षर वा वचनबाट होइन, हाम्रा अभ्यास र आचरणबाट मात्रै कार्यान्वयन हुनसक्छ भन्ने मलाई लाग्छ । राज्यका उच्च ओहदाहरुमा समाजका सबै अंगहरुको प्रतिबिम्ब झल्किन सके मात्रै वास्तविक अर्थमा लोकतन्त्र सुदृढ हुनसक्छ भन्ने यथार्थसँग संविधान निर्माणमा अगुवाई गर्नुहुने राजनीतिक दल र नेतृत्व वर्ग सहमत हुनुहुन्छ भन्ने मैँले आशा लिएकी छु । यसै विश्वासमाथि आधारित रहेर मैँले आफ्ना धारणाहरु संवन्धित निकायहरुमा प्रस्तुत गरेकी हुँ । मेरा यी धारणाहरु कुनै अस्वभाविक महत्वकांक्षा वा अनुचित आग्रहबाट प्रेरित थिएनन् भन्ने कुरामा दृढ छु ।

यस सम्बन्धी विभिन्न प्रतिक्रियाहरु मैँले नजिकबाट नियालेकी छु । समयले यस बारेमा वस्तुनिष्ठ मूल्यांकन गर्ने नै छ भन्ने मेरो विश्वास छ । लोकतन्त्र र खुल्ला समाजमा हामीले गर्ने हरेक निर्णयहरु जनताको सूक्ष्म निगरानीमा रहेका हुन्छन् । तिनको औचित्य परीक्षा पनि समयको कसीमा घोटिएर भए झैँ हुन्छ । निर्णय र सार्वजनिक जवाफदेहिताको बीचमा उचित सामञ्जस्यता हुनुपर्ने कुरा सबै सम्बन्धित पक्षले ध्यान पुर्याउनुपर्छ भन्ने मलाई लाग्छ । दलबाट सिफारिस वा निर्वाचित भएर प्राप्त हुने जिम्मेवारी भएपनि संवैधानिक ओहदामा बसुञ्जेल सम्बन्धित व्यक्ति दलको सम्बन्धबाट अलग रहेको हुन्छ । उक्त ओहदामा रहँदा ऊ दलको निर्देशनमा होइन, संविधान र कानुन प्रबन्ध अनुसार निर्देशित भएर क्रियाशील हुन्छ । मैँले पनि यसै अनुसमर इमान्दारिताका साथ कर्तव्य पूरा गर्ने प्रयास गरेकी छु । तर, कसैले पनि आफ्ना जराहरु बिर्सिनु हुन्न । धरातल भुल्नुहुन्न र स्वतन्त्रतालाई निरपेक्ष रुपमा बुझ्नु हुँदैन भन्ने कुरामा पनि म सचेत छु । विभिन्न पक्षका बीचमा पनि यस अन्योललाई निकास दिन चलिरहेको छलफललाई मैँले सूक्ष्म अध्ययन गरिरहेकी छु ।

एउटा महिला, त्यसमाथि पनि एकल अवस्थामा रहेको र जनजाती पृष्ठभूमिबाट आएको मजस्तो व्यक्तिले जनताको सार्वभौम अधिकार अभ्यास गर्ने यस सर्वोच्च र गरिमामय अंगको नेतृत्व गर्न पाएको अवसरलाई अत्यन्तै महत्वपूर्ण अवसर ठानेकी छु ।

प्रतिनिधिसभामा बहुमत प्राप्त दलले आफ्नो तर्फबाट नेतृत्वको दावा गरेको अवस्था, हाम्रो प्रचलित संवैधानिक र कानुनी अवस्थाका आधारमा त्यसलाई कार्यान्वयनका लागि मैँले सहजीकरण गर्नु आवश्यक भएको छ । यसै अनुसार म मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरो सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु । उपसभामुखको रुपमा विगत झण्डै दुई वर्षसम्म माननीय सदस्यहरुसँग बिताउन पाएको अवधि मेरो जीवनमा अविष्मरणीय र सुखद अवधिका रुपमा स्मृतिमा रहनेछ । एउटा महिला, त्यसमाथि पनि एकल अवस्थामा रहेको र जनजाती पृष्ठभूमिबाट आएको मजस्तो व्यक्तिले जनताको सार्वभौम अधिकार अभ्यास गर्ने यस सर्वोच्च र गरिमामय अंगको नेतृत्व गर्न पाएको अवसरलाई अत्यन्तै महत्वपूर्ण अवसर ठानेकी छु ।

यसको श्रेय हाम्रो लोकतान्त्रिक प्रणाली र राजनीतिक दलहरुलाई जान्छ । समावेशी लोकतन्त्रका माध्यामबाट न्यायपूर्ण र समृद्ध समाज निर्माण गर्ने अभियानमा म भिन्न रुपमा अविचलित र अविश्रान्त रुपमा क्रियाशील भइरहनेछु । मलाई कर्तव्य निर्वाहको शिलशिलामा प्राप्त सहयोगका लागि माननीय सदस्यहरु र संसद सचिवालयका कर्मचारीहरुलाई धन्यवाद दिन चाहन्छु ।
धन्यवाद!

(डा. शिवमाया तुम्बाहाङ्फेले उपसभामुखबाट राजीनामा दिनुअघि सोमबार संघीय संसद प्रतिनिधिसभाको बैठकलाई गरेको सम्बोधनमा आधारित)