कञ्चनपुर – भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले यातायात क्षेत्र व्यवस्थित गर्न सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा सङ्घीय यातायात कानून निर्माण भइरहेको बताएका छन् ।


ADVERTISEMENT


कञ्चनपुरको भीमदत्तनगरस्थित आज भीमदत्त बसपार्कको उद्घाटन गर्दै मन्त्री नेम्वाङले तीनवटै सरकारले यातायात क्षेत्रको व्यवस्थानमा अग्रसरता लिइरहेको बताए। “सातै प्रदेशका यातायात विकासमन्त्रीदेखि सचिव तथा सरोकारवालासित पनि यस विषयमा छलफलको शुरुआत गरेका छौँ ।” मन्त्री नेम्वाङले भने “यात्रीलाई पर्ने असुविधा र बिमा सुरक्षालाई व्यवस्थित गर्ने सन्दर्भमा सरकारको ध्यान गएको छ ।”


ADVERTISEMENT

# # #


यातायात कम्पनीका समस्या, स्थिर पूँजी रुपान्तरण र भाडा समायोजनका विषयमा समेत छलफल भइरहेको बताउँदै ती विषय चाँडै व्यवस्थित हुने उनको भनाइ थियो । “एक वर्ष अघिदेखि नै सरकारले यातायातको क्षेत्र व्यवस्थित गर्न सोचेको हो” उनले भने, “संसद्मा पनि ऐन पेश भएर छलफल भइरहेको अवस्था छ ।”

भीमदत्तनगर बसपार्क भारतीय शहरस्थित पनि दूरीका हिसाबले नजिक रहेको भन्दै उनले यो बसपार्कको निकै महत्व रहेको बताए । भीमदत्त नगरपालिकाको स्वामित्वमा रहेको बसपार्क आधुनिकीकरणका लागि नगर विकास कोषले रु सात करोड ५० लाख ऋण सहयोग रहेको छ । चार सय बस अट्ने क्षमता रहेको बसपार्कमा सुरक्षा डेस्कका साथै यात्रुको सहजताका लागि विभिन्न सेवा प्रदान गरिएको छ ।

भीमदत्त नगरपालिकाको प्रथम स्थापना दिवसका अवसरमा आयोजित बसपार्क उद्घाटन समारोहमा महाकाली यातायात समितिका अध्यक्ष डम्बर पन्तले महाकाली नदीमा रहेको शारदा ब्यारेज (बनवासा पुल) १२ औँ घण्टा सञ्चालनमा ल्याउन र भीमदत्त बसपार्कलाई अन्तर्राष्ट्रिय बसपार्कका रुपमा विकास गर्न आग्रह गरे ।