गोरखा । २०७२ को बिनाशकारी भुकम्पले घरबारबिहिन बनाएका भुकम्प पीडितहरुको ५० हजार घरहरु मध्ये ४५ हजार १ सय ८८ घरहरुको निर्माण कार्य सम्पन्न भएको छ ।


ADVERTISEMENT


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समेत आज सो कुराको जानकारी दिँदै बाँकी घरहरु समेत चाँडै निर्माण भएर भुकम्प पीडित जनताहरुलाई हस्तान्तरण गरिने बताएका छन् ।


ADVERTISEMENT

# # #


गोरखा र नुवाकोटका भूकम्प पीडितहरुका ९० प्रतिशत घरहरु भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भईसकेको नेपाल आवास पुनर्निर्माण परियोजनाले समेत जानकारी दिएको छ ।

‘५० हजार घरमध्ये गोरखामा २६ हजार नौ सय १२ र नुवाकोटमा २३ हजार ८८ घरधुरी निर्माण गर्ने योजना हो’, परियोजनाका गोरखा प्रमुख राम सापकोटाले भने, ‘गोरखामा २४ हजार दुई सय ८४ घर निर्माण सम्पन्न भएको छ भने नुवाकोटमा २० हजार नौ सय चार वटा निर्माण भइसकेका छन्।’

भूकम्पपछि आयोजना गरिएको सहयोगदाताको सम्मेलनपछि भारत सरकारले निजी आवास पुनर्निर्माणका लागि १५ अर्ब ८७ करोड सहयोग गरेको थियो। जसमध्ये घर पुनर्निर्माणतर्फ १५ अर्ब र ८७ करोड रुपैयाँ बराबरको प्राविधिक सहयोग गरिरहेको छ।

‘भारत सरकारले गोरखा र नुवाकोटका ५० हजार लाभग्राहीको निजी आवास पुनर्निर्माणका लागि तीन लाख रुपैयाँका दरले १५ अर्ब रुपैयाँ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई सहयोग प्रदान गरेको छ भने ८७ करोड रुपैयाँचाहिँ सोही परियोजनामार्फत प्राविधिक सहयोग गरेको छ’, यूएनडीपीका वरिष्ठ कार्यक्रम अधिकृत केदार ढुंगानाले भने, ‘सन् २०२१ मार्चसम्ममा सम्पन्न गर्ने गरी २०१८ मार्चदेखि सुरु गरिएको भारत सरकारको सहयोग कार्यक्रम १५ महिना बाँकी छँदै ९० प्रतिशत काम सम्पन्न भइसकेको छ।’

परियोजनाले जिम्मा लिएकोमध्ये गोरखामा एक हजार दुईसय ५८ घर निर्माणाधीन छन्।

गोरखाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, धार्चे गाउँपालिका, गण्डकी गाउँपालिका, अजिरकोट गाउँपालिका, आरुघाट गाउँपालिका, सिरानचोक गाउँपालिका र सहिदलखन गाउँपालिकाका ४२ वटा वडामा र नुवाकोटको दुई नगरपालिका र आठवटा गाउँपालिकामा भारत सरकारको सहयोगमा भूकम्पपीडितको घर निर्माण भएका हुन्। भूकम्पले भत्किएका घर पुनर्निर्माणका लागि परियोजनाले ४ हजार २ सय ९० जनालाई डकर्मी तालिम दिएर पुनर्निर्माणमा खटाएको छ। उनीहरूमध्ये दुई सय ४० महिलालाई दक्ष डकर्मी बनाएको जनाइएको छ।