काठमाडौँ– नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले मंगलबार बिहान वसन्तपुर दरबार क्षेत्रस्थित भूकम्पबाट क्षतिग्रस्त नौतले दरबार पुनर्निर्माणको संयुक्त शिलान्यास गरेका छन् ।


ADVERTISEMENT


समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देव, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल तथा नेपालका लागि चिनियाँ राजदूत यु होङलगायत उपस्थित थिए । उपप्रधानमन्त्री वाङ कार्यक्रम सकेर होटल सोल्टीतर्फ लागेका छन् ।


ADVERTISEMENT

# # #


पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार उक्त दरबार शतप्रतिशत चिनियाँ सहयोगमा पुनर्निर्माण हुन लागेको हो । जसको लागत करिब १६ करोड रुपैयाँ अनुमानित छ । पुनर्निर्माण क्रममा विभागको परम्परागत सामग्री उपलब्ध गराउने तथा सुपरीवेक्षणको भूमिका रहनेछ । ‘जस्ताको तस्तै दुरुस्ते नौतले दरबार निर्माण गर्ने लक्ष्य छ,’ महानिर्देशक दाहालले  भने ।

चिनियाँ उपप्रधानमन्त्रीले ११ बजे उनका समकक्षी उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारसँग द्विपक्षीय वार्ता गर्नेछन् । साढे १२ बजे नेपाल र चीनबीच तीन वटा सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । यस्तै, चिनियाँ उपप्रधानमन्त्रीको सम्मानमा उपप्रधान तथा स्थानीय विकास मन्त्री गच्छदारले १२.५० देखि दिवा भोज आयोजना गरेका छन् ।

यस्तै, अपरान्ह तीन बजे माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र ३.५० मा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीसँग चिनियाँ उपप्रधानमन्त्री वाङले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।