काठमाडौँ– सत्तारुढ दलकै सांसदहरुले मंगलबारको संसद बैठक अवरुद्ध गरेका छन् । जरुरी सार्बजनिक महत्वको विषयमा आफूहरु पनि बोल्न पाउनुपर्ने माग राख्दै नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले बैठक अवरोध गरेका हुन् ।


ADVERTISEMENT


बैठकमा एमाले सांसद भीमबहादुर रावलले जरुरी सार्बजनिक महत्वको प्रस्ताव पेश गरेका छन् । सो विषयमा विशेष समयमा छलफल नलम्ब्याउन एमाले सांसद केशव बडालले माग गरे । त्यसपछि सभामुख ओनसरी घर्तीले शकलदेव सुतिहारलाई बोल्ने समय दिइन् । तर उनी बैठकमा अनुपस्थित भएकाले लक्ष्मी कुमारी चौधरी र विश्वेन्द्र पासवान बोले । त्यसलगत्तै विशेष समय सकिएको घोषणा सभामुखले गर्नासाथ कांग्रेस र माओवादीका सांसदहरु आ(आफ्नो ठाउँबाट उठेर बोल्न पाउनुपर्ने माग गर्दै होहल्ला गरे ।


ADVERTISEMENT

# # #


तर, सभामुख घर्तीले दलीय आधारमा आफूलाई बोल्ने सांसदहरुको नाम प्राप्त भएको र संसदीय अभ्यास पनि त्यही भएको भन्दै विशेष समय समाप्त भइसकेकाले यथास्थानमा बस्न पटक/पटक आग्रह गरिन् । तर, सांसदहरुले नमानेपछि बैठक १५ मिनेटसम्म स्थगित भएको घोषणा गरियो ।

त्यसअघि विशेष समयमा बोल्ने सांसदहरुले बाढी पीडितको उद्धार राहत र पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका थिए । संकटकाल घोषणा गर्नुपर्ने र १५ दिनसम्म संसद बैठक स्थगित गरी बाढी प्रभावित जिल्लामा सांसदहरुलाई पठाउनुपर्नेमा माग समेत गरिएको थियो ।

१५ मिनेटपछि सुरु भएको बैठकमा एमाले सांसद अग्नि खरेलले यसअघि बैठक स्थगित हुनुको कारण नखुलाइएको भन्दै त्यसलाई रेकर्डमा राख्न माग गरे । त्यसपछि सभामुख घर्तीले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुको कारण १५ मिनेटसम्म बैठक स्थगित भएको जानकारी गराउँदै बैठकको कारबाही सुरु गरिन् ।