काठमाडौं – प्रहरी कर्मचारीमाथि अभद्र व्यवहारको मुद्दामा हिरासत पुगेका गायिका आस्था राउत छुटेकी छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले गायिका राउतलाई धरौटीमा छाड्न आदेश दिएको हो ।


ADVERTISEMENT


काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएका हुन् ।


ADVERTISEMENT

# # #


सांगितिक कार्यक्रमका लागि भारतको सिक्किम जानेक्रममा गत माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको थियो। श्रेष्ठले जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते राउतविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो।

घटनाको अध्ययनका लागि सहयोग गर्ने बताउँदै आएकी आस्था सिक्किमका कार्यक्रमबाट फर्किए लगत्तै सोमबार बिहान महानगरीय प्रहरी परिसर टेकु पुगेर आत्म समर्पण गरेकी थिइन् । काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अनुरोध गरेको थियो ।

अनुसन्धानका लागि सात दिनको माग गरेपनि जिप्रका काठमाडौँले सोमबार आस्थालाई ४ दिन थुनामा राखेर अध्ययन गर्न आदेश दिएको थियो ।