मनोज कर्ण, सीइओ, युनियन लाइफ इन्स्योरेन्स


ADVERTISEMENT


युनियन लाइफ इन्स्योरेन्सले आफ्नो गतिलाई कसरी अगाडि बढाउँदैछ ?


ADVERTISEMENT

# # #


हामी आफ्नै गतिमा छौँ । हाम्रो रफ्तार भनेको हाम्रो टिमको काम गर्ने शैली हो । कुनैपनि संस्था एक्लै चलाउन सकिँन्न । त्यसका लागि टिमको आवश्यकता पर्छ । त्यसमा हामी एक भएका छौँ । हरेक कर्मचारीको रगतमा मेरो कम्पनीमा मैँले के योगदान दिने भन्ने कुरा छिरेको छ । हाम्रोमा कुनै यस्तो दिन छैन, जहाँ आजको काम आजै नभएको होस् । यही हिसाबले हाम्रो रफ्तार अघि बढिरहेको छ ।

जीवन बीमा के हो भन्ने कुरा अहिले जनताले बुझ्न नसकेको हो ?

सबैभन्दा पहिले जीवन बीमा किन गराउने ? यसको महत्व के हो भन्ने प्रश्नको जवाफ थाहा पाउन जरुरी छ । । बीमा गर्दा तपाईलाई धेरै ठूलो आर्थिक मदत हुन्छ । भोलि आफूलाई केही भइहाल्यो भने घर परिवार बर्बाद हुनबाट जोगिन्छ । अर्को कुरा तपार्ईं बुढेसकालमा पुग्नुभयो भने सामाजिक सुरक्षा छ । विभिन्न ठाउँबाट तपाईंले पैसा बचत गर्नुभएको हुन्छ । त्यसमा पनि तपाईंले बीमा गर्नुभएको छ भने त्यसैबाट बुढेसकाल चल्छ । तपाईंले आफ्नो रोजगारबाट रिटार्ड भइसक्नुभएको छ । तर, छोराछोरी पढाउनुछ भने त्यही बीमाको रकमबाट चलाउन सकिन्छ वा त्यही रकमबाट घर बनाउने वा व्यापार गर्नपनि सक्नुहुन्छ । तिर्दा दुईचार हजार तपाईलाई थाहै हुँदैन । तर, पाउनेबेला, दुई चार वा दश लाख आउँछ, त्यतीबेला तपाईंलाई त्यसले ठूलो मदत गर्छ । अर्थात बीमाले आर्थिक सुरक्षा प्रदान गर्छ ।

अहिले कति जनता बीमामा जोडिएका छन् ?

मलाई लाग्छ अहिले लगभग २५ प्रतिशत जनताले बीमा गरिसकेका छन् ।

तर, संख्यात्मक रुपमा यो एकदमै कम हो । यसलाई कसरी बढाउने ?

हो । यो एकदमै कम हो । हामीले यसलाई सय प्रतिशतसम्म पुर्याउनु पर्छ । बीमा कम किन भयो भन्दा पहिलो कुरा जनचेतनाको कमी हो । यो देशमा गरिबी २५ प्रतिशत छ । त्यो जनसंख्याले बीमा गर्न सक्दैन भन्ने पनि आउलान् । तर, त्यो होइन । जनचेतनाको कमीले गर्दा बीमा नगर्ने हो ।  तपाईहरुले गर्ने अनावश्यक खर्च बचाउनुभयो भने त्यो नै तपाईको बीमाका लागि प्रयाप्त हुन्छ । हरेक मान्छेले बीमा गर्न सक्छ । तर, कसरी तिनलाई बीमा गर्न प्रेरित गर्ने भन्ने कुरा अभिकर्ताको काँधमा हुन्छ ।

जीवन बीमामा पैसा त जम्मा गरियो, तर फिर्ता पाउने समय एकदमै लामो भयो वा झण्झटिलो भयो भनेर एक किसिमको उदासिनता पनि देखिन्छ । यसबारे के भन्नुहुन्छ ?

यसमा केही झण्झट छैन । कसैको ज्यान गयो भने त्यसको कागज आउनासाथ पैसा पाइन्छ । दुर्घटना भयो भने पनि त्यस्तै हुन्छ । होला, कहिले गलत नहोस् भनेर केही कागजात र प्रक्रिया अवश्य पूरा गर्नुपर्छ । कति घटनामा संरक्षकको नाम श्रीमतीको लेखेको छ । पैसा लिन भाई आउँछ । यस्तोबेला प्रमाणित कागजनात बिना दिन त गाह्रो हुन्छ । त्यसकारण यसमा झण्झट छैन ।

लगातार जम्मा गरिराख्दा पनि २० वर्षभन्दा अघि निकाल्न नपाउने भन्ने पनि हुन्छ । यसमा केही सुधारको आवश्यकता छ ?

होइन, यसमा नबुझेर हो । दुईवर्षसम्मको बीमा रकम बुझिसकेपछि ‘सरेन्डर’का आधारमा पैसा निकाल्न मिल्छ । तर, बीमा गर्ने व्यक्तिले आफूले जम्मा गरेको सबै पैसा पाउँदैन । केही प्रतिशत काटिन्छ । यस्तो गर्दा सबैलाई घाटा हुन्छ । त्यसकारण यस्ता गर्नु राम्रो होइन । अन्य नीतिहरु पनि, जहाँ बीचबीचमा फिर्ता पाइन्छ । बीमा गर्दा तपाईंले आफ्नो खल्ती छामेर गर्नुपर्छ । कतिसम्म तिर्नसकिन्छ भन्ने निर्क्योल गर्नुपर्छ ।

अन्त्यमा, युनियन लाइफ इन्स्योरेन्सले केकस्ता बीमासम्बन्धी कार्यक्रमहरु ल्याइरहेको छ ?

युनियन लाइफ इन्स्योरेन्ससँग पनि त्यस्तै किसिमका ‘अप्सन’हरु छन् । बच्चालाई कुन बीमा गर्ने, जवानलाई कुन बीमा गर्ने, गृहणीलाई कुन बीमा गर्ने, वृद्धलाई कुन बीमा गर्ने भनेर हामीसँग विभिन्न किसिमका बीमाका प्रकारहरु छन् । जसले गर्दा एकपटक ग्राहक आउनुभयो भने आफूले चाहेको कुनैपनि बीमा गर्न सक्नुहुन्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

बीमा नगर्नु भएकाहरुलाई म बीमा गर्न आग्रह गर्छु । तपाईहरुले आज बीमा गर्नु र एक महिनापछि बीमा गर्नुमा धेरै फरक छ । आज बीमा गर्दा तपाईंले सानो रकम तिर्नुपर्छ, पाउँदा ठूलो रकम पाइन्छ । पाइनेबेलामा दुई महिना पहिले ठूलो रकम पाउनुको मूल्य कति हुन्छ सोच्नुहोस् त ? अहिले सानो रकम ऋण गरेरै भएपनि तिर्दा पछि ठूलो रकम एकैपटक आउँछ । त्यसकारण भोलिभन्दा पनि आजै बीमा गर्नुहोस् ।