काठमाडौँ – नेकपाका गजेन्द्रबहादुर महतले छाउगोठका नाममा गरिब जनताको घर भत्काइएको भन्दै त्यसो नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।


ADVERTISEMENT


शुक्रबार प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद महतले छाउगोठमा महिलाको मृत्यु भयो भन्दैमा गरिब जनताका घर नभत्काउन गृह मन्त्रालयलाई चेतावनी दिए । “एउटा महिलाको मृत्यु भयो भन्दैमा छाउगोठका नाममा जनताका घर भत्काइयो । होटलमा बसेका यात्रीको मृत्यु भएको छ, अब के होटल भत्काउने ?, बस दुर्घटनामा परी मृत्यु भएको छ, बाटो भत्काउने ?’ उनले आक्रो पोखे, ‘अहिले छाउगोठका नाममा हाम्रो घर भत्काउने काम भइरहेको छ, सरकार के हेरेर बसेको छ ?”


ADVERTISEMENT

# # #


विकासका काम अलपत्र छाडेर छाउगोठका नाममा जनताका घर भत्काउँदै हिंड्नु नहुने उनले बताए । उनले प्रश्न गरे, ‘बाटोको बेहाल छ । ठेकेदार कहाँ छ थाहा छैन । तिनलाई कारबाही गर्नुपर्दैन ? स्कुल, अस्पतालको अवस्था के छ ? बुझ्नुपर्दैन ?’ हिजो गोरखाली सेनाका नाममा जनताका घर भत्काइएको र आज छाउगोठका नाममा जनताका घर भत्काइएको भन्दै उनले असन्तुष्टि पोखे ।

सुदूरपश्चिम र मध्येपश्चिममा रहेको छाउपडी प्रथा अन्त्य गर्ने भन्दै सरकारले पछिल्लो समय छाउगोठ भत्काउँदै आएको ।

यस्तै शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेकपाका गौरीशङ्कर चौधरीले कोरोना भाइरसबाट विश्वका विभिन्न मुलुक प्रभावित भइरहेको भन्दै सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराए । “तत्कालका लागि चीनबाट आवातजावत बन्द गरियोस्, नागरिकलाई उच्च सतर्कताको व्यवस्था मिलाइयोस्”, उनले भने । नेकपाका घनश्याम खतिवडाले चन्दा आतङ्कका नाममा मुलुकभर अराजक गतिविधि मौलाइरहेको भन्दै यस्ता गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए ।

नेपाली काँग्रेसका जिपछिरिङ लामाले शून्य समयमा सांसदले उठाएका विषय कार्यान्वयनमा नगएको भन्दै आपत्ति जनाए । उनले शून्य समयलाई हटाएर विशेष समय उपलब्ध गराउन सदनको ध्यानाकर्षण गराए ।

नेकपाका झपटबहादुर रावलले कैलाली चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म १२८ किलोमिटर दूरीको बाटो अत्यन्त साँघुरो भएकाले हरेक दिन दुर्घटनाको दर बढेको भन्दै उक्त सडक स्तरोन्नति गर्न माग गरे । उनले सो सडक विस्तार गरी आठ लेनको बनाउन पनि सरकारको ध्यानाकर्षण गराए ।