जनकपुर – प्रदेश नं २ सरकारले छोरीलाई दिँदै आएको बीमा रकममा वृद्धि गरेको छ । सरकारले गत वर्ष माघ १ गतेदखि प्रदेशमा जन्मेका छोरीलाई रू एक लाखको बीमा रकम दिँदै आएकामा आजदेखि उक्त रकममा वृद्धि गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


मुख्यमन्त्री लालबाबु राउतले आज पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशमा जन्मिने छोरीको बीमा रकम वद्धि गरी रु तीन लाख पु¥याइएको जानकारी दिए। उनले प्रदेश सरकारद्वारा गत वर्ष फागुन ९ गतेदखि राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा वीरगञ्जबाट थालनी गरिएको सो योजनाअन्तर्गत चार हजार ३७३ छोरीलाई बीमा रकम उपलब्ध गराइएको बताए ।


ADVERTISEMENT

# # #


उनले विगतमा प्रदेशबाट सो रकम दिँदै आएकामा अबदेखि स्थानीय तहबाटै उपलब्ध गराउने निर्णयसमेत भएको जानकारी दिइ । उनले प्रदेश सरकारले उपलक्ध गराउने रकममा स्थानीय तहलाई थप वृद्धि गरी रु छ लाख पु¥याउन आग्रह गर्ने पनि बताए। लैङ्गिक विभेद र छोरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्ने उद्देश्यले सो योजना थालनी गरिएको बताउँदै मुख्यमन्त्री राउतले आगामी दिनमा कक्षा १ देखि ८ कक्षामा पढने दलित र मुस्लिम समुदायका छोरीलाई छात्रवृत्ति प्रदान गर्ने योजना रहेको समेत बताए ।

‘बेटी पढाउ, बेटी बचाउ’ योजनाअन्तर्गत १४ हजार साइकल वितरण गरिएको जानकारी गराउँदै उनले आगामी दिनमा १० हजार साइकल वितरणका लागि गृहकार्य भइरहेको बताए । मुख्यमन्त्री राउतले मन्त्रिपरिषद्ले प्रादेशिक अस्पताल जनकपुरलाई प्रदेश आयुर्वेद स्वास्थ्य प्रतिष्ठानमा परिणत गर्नुका साथै शहीदको सम्मानमा मधेश शहीद प्रतिष्ठान गठन गर्ने निर्णय गरिएको पनि जानकारी दिए । रासस