जनकपुर — प्रदेश २ का आठै जिल्लामा अब छोरी जन्मनेबित्तिकै तीन लाखको बिमा हुनेछ । ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत प्रदेश सरकारले गरिदिँदै आएको एक लाखको बिमामा रकम थपिदिएको हो । प्रदेश मन्त्रिपरिषद्को शुक्रबारको बैठकले बिमाका लागि दिने गरिएको रकम तीन लाख पुर्‍याउने निर्णय गरेको हो ।


ADVERTISEMENT


नपढाउने र उमेर नपुगी बिहे गरिदिने चलनलाई फेर्न छोरीले परिवारबाट २० वर्षसम्म शिक्षा आर्जनको सुविधा पाएको खुलेपछि मात्रै बिमाको रकम भुक्तानी पाउनेछन् । छोरीका लागि बिमा योजनाको रकम बढाइएको घोषणा गर्दै शुक्रबार मुख्यमन्त्री लालबाबु राउतले २० लाख पुर्‍याउने लक्ष्य रहेको बताए । ‘प्रदेश २ का छोरीहरू अब जन्मनेबित्तिकै तीन लखिया हुनेछन्,’ उनले भने, भने, ‘छोरी बोझ होइनन्, शिक्षा र राम्रो व्यवहार गरे छोरासरह नै काबिल हुनेछन् ।’


ADVERTISEMENT

# # #


प्रदेश सरकारले २०७५ माघयता जन्मिएका छोरीहरूको बिमा गर्दै आएको छ । प्रभु बैंकको सहकार्यमा ४ हजार ३ सय ७३ जनाको बिमा भइसकेको छ । थप ३ हजार १ सय १८ जनाको बिमा गर्ने कागजात मुख्यमन्त्री कार्यालयमा प्रक्रियामा छ । गत फागुन ९ मा वीरगन्जबाट राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी बिमा अभियानको शुभारम्भ गरेकी थिइन् । ‘छोरी बिमाका लागि पैसाको समस्या हुन्न,’ मुख्यमन्त्री राउतले भने, ‘संघीय सरकारको अनुदान र प्रदेश सरकारको आफ्नै बजेटमा बिमा भइरहेको छ ।’

बिमाका लागि गत वर्ष संघीय सरकारले ५० करोड रुपैयाँ दिएको थियो । मुख्यमन्त्री राउतका अनुसार चालु वर्ष पनि संघीय सरकारले अनुदान रकम उपलब्ध गराएको छ । जन्मिनेबित्तिकै गरिएको बिमाको रकम छोरीलाई २० वर्षपछि उपलब्ध गराइनेछ । छोरी बिमा कार्यविधिमा २० वर्षसम्म छोरीलाई अनिवार्य शिक्षा र त्यसपछि मात्रै विवाह गर्नेलाई रकम उपलब्ध गराइने उल्लेख छ ।

‘भ्रूण हत्या, कम उमेरमै विवाह, छोरीलाई नपढाउने मानसिकता र लैंगिक विभेद चिर्न छोरी बिमा अभियान ल्याइएको हो,’ मुख्यमन्त्री राउतले भने, ‘बिमाप्रति अभिभावकको रुचि र लगावले छोरीका लागि सकारात्मक ढंगले सोच्ने संस्कार आउने हाम्रो आशा छ ।’

बिमालाई अझ प्रभावकारी र बिमित रकम बढाउन स्थानीय तहमार्फत यो अभियान सञ्चालनमा ल्याउने तयारी छ । स्थानीय तहलाई छोरी बिमा रकममा ३ लाख रुपैयाँ थपेर ६ लाख रुपैयाँ पुर्‍याउन प्रस्ताव गर्ने तयारी भइरहेको मुख्यमन्त्री राउतले बताए । प्रदेश सरकारले छोरी बिमा अभियानमा सहकार्य गर्न स्थानीय तहका लागि ५० हजार रुपैयाँ पनि छुट्याएको छ ।

मुख्यमन्त्री कार्यालय र प्रभु बैंकको शाखामार्फत बिमा अभियान थालेका प्रदेश सरकारले माघ २ गतेदेखि आठवटै जिल्लामा शिविर नै चलाएर बिमा गरिरहेको छ । शिविरमार्फत सप्तरीमा ८ सय ८८, सिरहामा ६ सय ६३, धनुषामा ३ सय ४६, महोत्तरीमा ६ सय ४५, सर्लाहीमा ७ सय ६८, रौतहटमा ४ सय ६२, बारामा ८ सय ५ र पर्सामा ४ सय ६३ जना छोरीको बिमा गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

बिमा गर्नका लागि आवश्यक जन्मदर्ता, स्थानीय तहको सिफारिस, आमा वा बाबुमध्ये एक जनाको नागरिकता र बच्चा तथा अभिभावकको ६–६ वटा फोटो आवश्यक पर्छ । बिमा शिविर फागुनको पहिलो सातासम्म चल्नेछ ।

छात्रालाई २० हजार साइकल
मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाउ अभियानअन्तर्गत प्रदेश २ सरकारले चालु आर्थिक वर्षमा थप २० हजार साइकल छात्रालाई वितरण गर्दैछ । कक्षा ८ मा पढ्ने छात्रालाई प्रदेश सरकारले गत आर्थिक वर्षमा १४ हजारवटा साइकल वितरण गरेको थियो ।

मुख्यमन्त्री राउतले १० हजार साइकल खरिदका लागि टेन्डर भइसकेको र थप १० हजार खरिदको प्रक्रिया अगाडि बढाइने बताए । शिक्षा हासिल गर्न सहज र सहयोगी हुने भएकाले सामुदायिक विद्यालयका छात्रालाई साइकल वितरण गर्ने अभियानलाई सरकारले निरन्तरता दिने मुख्यमन्त्री राउतले भनाइ छ ।

‘पैदलै हिँडेर विद्यालयसम्म पुग्ने विद्यार्थीको दुःख मैले अनुभव गरेको छु,’ मुख्यमन्त्री राउतले भने ,‘म आफैं ८ देखि १० किमि पैदल हिँडेर पर्साको जगरनाथपुरबाट पोखरिया स्कुल पुग्थे । त्यसैले साइकलले शिक्षामा सहयोग पुर्‍याउँछ ।’

प्रदेश २ सरकारले गत वर्ष आठ जिल्लाका १ सय ७६ विद्यालयमा १४ हजार जनालाई साइकल बाँडेको थियो । सामुदायिक विद्यालयका १ देखि ८ कक्षासम्मका अति विपन्न, दलित र मुस्लिम छात्राको सहयोगका लागि नमुना योजना सुरु गर्ने तयारी थालिएको मुख्यमन्त्री राउतले बताए ।

स्रोत : कान्तिपुर दैनिक