काठमाडौँ – सिन्धुलीमा ५५ किलो गाँजासहित छ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले यही माघ १८ गते गाँजासहित छ जनालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै पक्राउ गरिएका व्यक्ति र गाँजाको परिमाणका बारेमा सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७ घर भएका १८ वर्षीय सन्तोष स्याङ्तान, १८ वर्षीय आकाश बल, २४ वर्षीय अङ्कित मुक्तान, २४ वर्षीय सरोज स्याङ्तान, सिन्धुलीकै मरिण गाउँपालिका–२ निवासी ३५ वर्षीय तिलकध्वज मुक्तान र सर्लाही जिल्ला वाग्मती नगरपालिका–४ निवासी २४ वर्षीय श्रवणकुमार वाइवा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।

सिन्धुलीमा नै गाँजा उत्पादन गरी अन्यन्त्र बिक्रीका लागि लैजाँदै गरेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्री र प्रहरी चौकी क्यानेश्वरका प्रहरी सहायक निरीक्षक भुवनेश्वर पाण्डेको संयुक्त टोलीले हरिहरपुरगढी गाउँपालिका–७ केमचुली कच्ची सडकस्थित क्यान भुताहा जाने सडकखण्डबाट उनीहरुलाई पक्राउ गरेको बताइएको छ । उनीहरुका साथबाट ना५८प ८५१, ना४६प २३१० र ज७प २४१६ नंको तीन थान मोटरसाइकल, ५५ किलोग्राम गाँजा, उनीहरुले प्रयोग गरेको मोबाइल, केही पैसा बरामद भएको उनले जानकारी दिए ।

सन्तोष स्याङ्तान र आकाश बलका साथबाट मोटरसाइकलको सिटमाथि लुकाइराखेको मेशिनले पेली तयारी अवस्थामा राखिएको तीन थान लागुऔषध गाँजा ९१५ किलोग्राम०, अङ्कित मुक्तान र सरोज स्याङ्तानका साथबाट चार (२० किलोग्राम) तयारी गाँजा र श्रवणकुमार वाइवा र तिलकध्वज मुक्तानका साथबाट चार थान (२० किलोग्राम) गाँजा बरामद गरिएको प्रनाउ खत्रीले जानकारी दिए ।

उनीहरुले प्रहरीसमक्ष आफूहरु सीमा कटाउने र प्रतिकिलोग्राम रु १० हजारमा किनबेच हुने गरेको बयान दिएका थिए । प्रतिकिलो ढुवानीबापत रु दुई हजार ५०० सम्म लिँदै आएको र आफूहरुलाई अरूले नै पठाउन लगाएको बताएको र आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए । पक्राउ परेका छ जना प्रतिवादीलाई जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिहेको जानकारी दिए ।

गाँजा फँडानी

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले चालु आवको शुरुदेखि हालसम्म २७१ बिघा एक कट्ठा, १९ धुरमा लगाएको अवैध गाँजा फँडानी र नष्ट गरेको छ । उक्त क्षेत्रफलमा लगाइएको गाँजा तथा गाँजाको बेर्ना नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रनाउ खत्रीले जानकारी दिए। उनले गाँजा मरिण गाउँपालिका–२, ३ र ४ र हरिहरपुरगढी गाउँपालिका–६, ७ र ८ मा लगाइएको गाँजा नष्ट गरिएको बताए । प्रहरीले अहिले गाँजा खेतीका बारेमा सर्च गरेर नष्ट गर्ने काम गरिरहेको उहाँले बताए।

ऐलानी जग्गामा गाँजा खेती हुने हुँदा कस्ले गाँजा खेती गरेको हो भन्नेबारे खुल्न नसकेको उहाँले बताए । उनले भने, “चारैतिर जङ्गल बीचमा रहेको सेपिलाने भागमा गाँजा खेती गरेको पाइएको छ ।” टाढाबाट हेर्दा जङ्गल देखिने तर भित्री रुपमा गाँजा खेती गरेको पाइएपछि प्रहरीले सूक्ष्म तवरले अनुसन्धान गर्दै अवैध गाँजा खेती नष्ट गर्ने अभियान चलाएको उनले बताए ।

हरेक वर्ष गाँजा प्रहरीले फँडानी गरिरहेको तर नियन्त्रण हुन किन नसकेको भन्ने प्रश्नमा प्रनाउ खत्रीले प्रारम्भिक अनुसन्धानबाट एक वर्षको गाँजा प्रहरीको आँखा छली उत्पादन गरेर बजारमा बिक्री गर्न सके वर्षौंसम्मको खर्च पुरताल भई लाखौँ रुपैयाँ आम्दानी गर्ने लक्ष्यसहित यसको खेती भएको पाइएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार अघिल्लो वर्ष उक्त क्षेत्रमा लगाइएको १२१ बिघामा लगाएको गाँजा प्रहरीले फँडानी गरेको थियो । हालै सुकाएर तयारी गर्दै गरेको नौ क्विन्टल गाँजा पूर्णरुपमा नष्ट गरिएको प्रनाउ खत्रीले जानकारी दिए । उत्पादन भएको ठाउँमा नभई ट्र्याक्टरमा ढुवानी गरी जङ्गलमा सुकाएर राखेको गाँजा नष्ट गरिएको उहाँले जानकारी दिए । जिल्लाको मरिण र हरिहरपुरगढी गाउँपालिकामा केही वर्षदेखि व्यावसायिक रुपमा गाँजा खेती हुँदै आएको छ । रासस