काठमाडौँ – आइसीसी लिग २ अन्तर्गत ओमानविरुद्धको दोस्रो खेलमा पनि नेपालले हार ब्यहारेको छ । आईतबार अकिब इल्याजको शतकमा ओमानले नेपाललाई ८ विकेटले हराएको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४९ रन बनायो । २५० रनको चुनौति पच्छ्याउँदै मैदान उत्रिएको ओमानले ४७.२ ओभरमा २ विकेटको क्षतीमा लक्ष्य पूरा गरेको हो । कप्तान जिसन मक्सूद र अकिब इल्याजले २८.३ ओभरमा नटआउट १६७ रनको साझेदारी गरेपछि ओमानले सहज जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


ओमानका लागि एकदिवसीयमा पहिलो शतक बनाएका इल्याजले १०८ बलमा नटआउट १०६ रन प्रहार गरे । त्यसक्रममा उनले १२ चौका र एक छक्का प्रहार गरे । यस्तै कप्तान मक्सूदले नटआउट ६८ रनको योगदान दिए । त्यसक्रममा उनले ८ चौका प्रहार गरे । यस्तै खाबर अलीले ४५ रन बनाउँदा ५६ बलमा ६ चौका प्रहार गरे । जितेन्दर सिंह २३ रनमा कुशल मल्लबाट बोल्ड भए ।

नेपालका लागि कुशल मल्ल र सुसन भारीले समान १-१ वकेट लिए । अन्य बलर विकेटविहीन भए । स्टार स्पिनर सन्दीप लामिछानेले १० ओभर बलिङ गरेर कुनेपनि विकेट लिन सकेनन् ।

यसअघि नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ले अर्धशतक प्रहार गरे । ७६ बलमा ५६ रन बनाएका उनले ६ चौका र एक छक्का प्रहार गरे । पहिलो विकेटका लागि सुवास खकुरेलसँग ४८ रनको साझेदारी गरेका उनले पारस खड्कासँग दोस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे ।

यस्तै पारस खड्का ३८ रनमा आउट भए । त्यसक्रममा उनले ३४ बलमा ५ चौका र एक छक्का प्रहार गरे । सुवास खकुरेलले ४२ बलमा एक चौकासहित २२ रन जोडे । दीपेन्द्र सिंह ऐरी शून्य रनमा आउट हुँदा आरिफ शेख र कुल मल्लले समान २८-२८ रन जोडे ।

यस्तै रन आउट हुनुअघि विनोद भण्डारीले ४७ बलमा ५ चौकासहित ३५ रन जोडे । करण केसी २० रनमा आउट हुँदा सन्दीप लामिछानेले ७ बलमा एक छक्काको मदतमा १० रन बनाएर नटआउट रहे । १०औँ नम्बरमा ब्याटिङ गर्न आएका कमलसिंह ऐरीले ६ बलमा एक चौकासहित ९ रनका साथ नटआउट रहे ।

ओमानका लागि अकिल इल्याजले ४ विकेट चट्काए । १० ओभर बलिङ गरेका उनले ३६ रन खर्चिए । यस्तै मोहम्मद नादिमले तीन विकेट लिए । ८ ओभरमा एक मेडेन फाल्दै उनले ४४ रन खर्चिए ।

नेपाल अमेरिका र ओमान सम्मिलित त्रिकोणत्मक एकदिवसीय सिरिजमा नेपालले अन्तिम खेल बुधबार अमेरिकासँग खेल्नेछ । ओमानसँगका दुबै खेल हारेको नेपालले अमेरिकालाई भने पहिलो खेलमा पराजित गरेको थियो ।