हेटौंडा — २८ वर्षदेखि स्वदेशी एवं विदेश पर्यटकहरुलाई सेवा दिँदै आएको मकवानपुर थाहा नगरपालिका—४ दामनस्थित एभरेष्ट पानोरमा रिसोर्ट सञ्चालनमा रोक लगाइएको छ ।


ADVERTISEMENT


संस्कृति पर्यटन नागरिक उड्डयन मन्त्रालयस्थित पर्यटन विभाग भृकुटीमण्डपले रिसोर्ट सञ्चालनको क्रममा पर्याप्त सुरक्षात्मक र व्यवस्थापकीय कमजोरी देखिएको भन्दै तीन महिनाका लागि रिसोर्ट सञ्चालन गर्न नपाउने गरी निलम्बन गरेको हो । नेपाल सरकार सचिवस्तरबाट आइतबार निर्णय गरे बमोजिम रिसोर्टलाई तीन महिनाका लागि निलम्बन गरेको पर्यटन विभागका शाखा अधिकृत खेमराज जोशीले बताए ।


ADVERTISEMENT

# # #


माघ ६ गते उक्त रिसोर्टमा बास बसेका ८ भारतीय पर्यटकको माघ ७ गते निसास्सिएर मृत्यु भएको घटनालाई लिएर पर्यटन ऐन, २०३५ को दफा १५ को उपदफा २ बमोजिम रिसोर्ट निलम्बन गरिएको हो ।

उक्त रिसोर्टमा निस्सासिएर भारतका केरलाका ३८ वर्षीय प्रविणकृष्ण नायर, ३५ वर्षीया शारणय शशी, ३४ वर्षीय रञ्जित कप पी र इन्द्र लक्ष्मी, ९ वर्षीया श्री भद्र, ७ वर्षीया आर्चा प्रविण, ५ वर्षीय अभिन नायर, २ वर्षीय बैष्ण रञ्जितको मृत्यु भएको थियो । १५ जनाको समूहमा आएका उनीहरु बा।३ क ३७८८ नम्बरको रिजर्भ गाडीमा पोखराबाट हेटौंडा हुँदै माघ ६ गते राती उक्त रिसोर्टमा पुगेका थिए । ग्यास हिटर बालेर एउटै कोठा ८ जना बसेका थिए ।

माघ ७ गते अचेत अवस्थामा भेटिएपछि उनीहरुको उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो ।