काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको उद्गम मानिएको चीनको हुबेईको वुहानमा रहेका नेपालीलाई फिर्ता ल्याउने तयारी पूरा भएको बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा उनले चीनको कोरोना प्रभावित क्षेत्रबाट फिर्ता ल्याइने नेपालीका लागि क्वारेन्टाइनको व्यवस्था गरिसकिएको बताएका हुन् ।


ADVERTISEMENT


मन्त्री ढकालले मंगलबारको संसदीय समिति बैठकलाई १ सय ९९ बेडसहितको क्वारेन्टाइनको व्यवस्था गरिएको जानकारी दिएका हुन्। भक्तपुरको खरिपाटीमा चारवटा ब्लकमा १ सय ९९ बेड तयार गरिएको र महिलाका लागि मात्रै एउटा छुट्टै ब्लकमा २५ बेड तयार भएको उनले जानकारी दिए। कुनै व्यक्तिमा तत्काल संक्रमण देखिएको अवस्थामा पनि राख्ने र क्वारेन्टाइन गर्ने कुरामा समस्या नहुने उल्लेख गर्दै उनले चीनमा विद्यार्थीहरूलाई लिन जाने डाक्टर, नर्स र पाइलटहरूलाई समेत १४ दिन क्वारेन्टाइनमा राखिने बताए। उनले त्यसको तयारी पनि सम्पन्न भएको जनाएका छन्।


ADVERTISEMENT

# # #


चीनबाट संक्रमितहरूलाई स्वदेश ल्याइने हो कि भन्ने भ्रम हटाउनुपर्ने उल्लेख गर्दै ढकालले कुनै एकजनामा मात्रै पनि लक्षण देखिए चीनले नपठाउने र नेपाल ल्याएपछि १४ दिन नियमित परिक्षण गरिने बताए। क्वारेन्टाइन परीक्षणका क्रममा कुनै व्यक्तिमा संक्रमणको लक्षण देखिएमा तत्काल राख्नका लागि विभिन्न अस्पतालमा ४३ वटा आइसोलेसन बेडको व्यवस्था गरिएको उल्लेख गरे। त्यसका लागि २४ घण्टा नै एम्बुलेन्स र आइसोलेसन बेड उपलब्ध रहेको उनले जानकारी दिए।सरकारले सम्पूर्ण तयारी पूरा भएको बताए पनि कहिले फर्काउने भन्ने मिति सार्वजनिक गरेको छैन।

विश्वका विभिन्न मुलुकमा ४० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिए पनि चीनमा रहेका नेपालीमध्ये एकजनामा पनि यसको लक्षण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। चीनमा रहेका १ सय ८० जना विद्यार्थीहरूले स्वदेश फर्किनका लागि त्यहाँस्थित नेपाली दूतावासमा फारम बुझाएका छन्।