काठमाडौं । चीनको वुहान सहरमा कोरोना भाइरस संक्रमणको जोखिममा रहेका नेपालीलाई स्वदेश फर्काउन आनाकानी गर्दै आएको सरकारले चिनियाँ पर्यटक भने दिनहुँ निर्बाध भित्र्याइरहेको छ।


ADVERTISEMENT


कोरोना भाइरस संक्रमणलगत्तै अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोपका अधिकांश मुलुकले चीनबाट सीधै प्रवेश गर्ने यात्रुलाई रोक लगाएका छन्। कतिपयले चीनमा निर्मित सामान आयातमै प्रतिबन्ध लगाएका छन्। चीन स्वयंले पनि प्रभावित प्रान्त हुपईमा आफ्नै नागरिक आवागमनमा रोक लगाएको छ। अन्य सहरमा पनि घरबाहिर ननिस्कन, हूलमूल नगर्न र मिलेसम्मका काम घरबाटै गर्न प्रोत्साहन गर्दै आएको छ।


ADVERTISEMENT

# # #


चीनका विभिन्न सहरबाट नेपालमा सातामा सय हाराहारीमा पर्यटक आउने गरेको विमान कम्पनीका सञ्चालकहरूले जनाएका छन्। कोरोना भाइरस संक्रमणका कारण नेपाल आउने चिनियाँ पर्यटकको संख्या ह्वात्तै घटे पनि आउने क्रम रोकिएको छैन।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले चिनियाँ पर्यटक आइरहेको बताए। उनले भने, ‘पर्यटक आइरहेका छन्। यकिन संख्या थाहा छैन।’

उनका अनुसार भाइरस संक्रमणले बढी प्रभावित वुहानबाट नेपाल आउन चीनले नै दिएको छैन।

पिपुल्स हेल्थ मुभमेन्टका संयोेजक एवं जनस्वास्थ्यविद् डा.शरद वन्त चीनबाट आइरहेका पर्यटकको पर्याप्त स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउँछन्। उनले भने, ‘हामीसँग पर्याप्त उपकरण छन्। परीक्षण हुन्छ भने चिनियाँ पर्यटक आवागमन रोक्नु पर्दैन, अन्यथा सोच्नुपर्ने हुन्छ।’

सरकारले नेपाली विद्यार्थीलाई उद्धारमा अनिर्णयको बन्दी हुन नहुने डा। वन्तको भनाइ छ। ‘चीनमा रहेका विद्यार्थी साँच्चिकै अप्ठेरोमा छन् भने उद्धारमा ढिलाइ गर्नु हुँदैन। राज्य अभिभावक हो। जतिसक्दो छिटो उद्धार गर्नु उसको दायित्व हो’, उनले भने।

चीनका विभिन्न सहरमा उडान भरिरहेका चिनियाँ एवं नेपाली विमान कम्पनीले पर्यटक ओसारिरहेका छन्। चाइना स्टर्नको साताको ११ मध्ये दुईवटा उडानबाट पर्यटक नेपाल आइरहेका छन्। त्यस्तै चाइना साउदर्नको साताको १४ वटा उडानमध्ये २ वटाबाट पर्यटक भित्रिरहेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार यात्रु संख्यामा कमी आएकाले उडान प्रभावित भएको छ। तिब्बती एयरलाइन्स, सिचुवान एयरलाइन्स, चाइना स्टर्न, चाइना साउदर्न, एयर चाइना र हिमालय एयरलाइन्सले उडान कटौती गरेको विमानस्थलका प्रवक्ता कर्णले जानकारी दिए। उनले भने, ‘पर्यटकबिनाको रित्तो उडान गर्नु भएन। यात्रु पाएका बेला उडान हुन्छ।’

सामान्य रुघाखोकी र ज्वरो आएका दुई चिनियाँ नागरिक उपचार गराउनुपर्ने भएपछि फरार भएको दुई साता बित्दासमेत अत्तोपत्तो छैन।

चीन हुँदै नेपाल आएका साउदी अरबका नागरिक पनि जँचाउनुपर्ने भएपछि फरार छन्। कोरोना भाइरस (कोभिड १९) को आशंका गरिएका व्यक्तिहरू निगरानीमा राख्ने जानकारी पाएपछि बेपत्ता हुने क्रम बढेको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसकै कारण अन्तर्राष्ट्रिय आवागमन एवं व्यापारमा कुनै अंकुश लगाउनुपर्ने अवस्था नआएको जनाएको छ। संगठन प्रमुख टेड्रोस एडहानोम गेहब्रेयससले संक्रमण भने जुनसुकै दिशामा जान सक्ने बताएका छन्।

२४ को स्वास्थ्य परीक्षण

चीनबाट आएका नेपाली र चिनियाँमध्ये शंकास्पद २४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। तीमध्ये २३ जनामा कोरोना भाइरस नेगेटिभ देखिएको छ। एकजना नेपालीमा पोजेटिभ देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार पोेजेटिभ देखिएका व्यक्ति चीनबाट फर्केका हुन्। उनको अवस्था सामान्य छ।

श्रेष्ठले भने, ‘हवाई मार्गबाट आउने व्यक्तिको विमानस्थलमा रहेको हेल्थ डेस्कमा परीक्षण हुन्छ। कुनै लक्षण देखिएमा वा शंकास्पद पाइएमा अस्पताल लगेर स्वास्थ्य जाँच गराइन्छ। डराइहाल्नुपर्ने अवस्था छैन।’

‘शनिबारसम्म फर्काउँछौं’

चीनका विभिन्न सहरमा अध्ययनरत नेपाली विद्यार्थीलाई उद्धारका लागि नेपालबाट यसै साता उडान हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता श्रेष्ठले भने, ‘यति गते नै उडान गर्ने भन्ने मिति तय भइसकेको छैन। शनिबारसम्ममा उडान गर्ने योजना छ।’

नेपाल वायु सेवा निगमको दुई सय ४० सिट क्षमताको वाइडबडी विमान तयारी अवस्थामा छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंबाट शनिबार चीनको वुहानमा उडान भर्ने निर्णय गरेको एक मन्त्रीले बताए। सोही वाइडबडीबाट एक सय ८५ नेपाली स्वदेश फर्कने मन्त्रालयले जनाएको छ।

अहिलेसम्म चीनस्थित नेपाली दूतावासमा एक सय ८० नेपालीले स्वदेश फर्कनका लागि निवेदन दिएका छन्। बालबालिकासमेत गरी एक सय ८५ जना आउने तय भएको छ। विभिन्न सहरमा छरिएर रहेका नेपालीलाई शुक्रबारदेखि बसबाट वुहानमा लगिनेछ।