काठमाडौँ – फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । महाशिवरात्रि पर्वको अवसरमा देशभरका शिवालयहरुमा दर्शनार्थीहरुको भीड लागेको छ ।


ADVERTISEMENT


वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।


ADVERTISEMENT

# # #


देशभरकै ठूलो शिवालय पशुपति नाथमा हजारौँ दर्शनार्थीको भीड रहेको छ । पशुपति क्षेत्र विकास कोषले यस पटक दर्शनार्थीलाई दुईघण्टामै दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको जनाएको छ । कोषले महाशिवरात्रीमा दर्शनसम्बन्धि व्यवस्था, ट्राफिक व्यवस्थापनसम्बन्धि व्यवस्था, आवास, भोजन, स्वयम्सेवक, सरसफाई तथा स्वास्थ्य शिविरसम्बन्धि आवश्यक व्यवस्था गरेको छ ।

महाशिवरात्रिका लागि भारतबाट समेत साधुहरु र नांगा बाबाहरु आएका छन् । दर्शन लाइनको सहजीकरणका लागि मुख्य क्षेत्र बाहिर नेपाल स्काउटका पाँच हजार स्वयसेवक परिचालित छन् । पशुपतिनाथको मन्दिर नजिक हुनेगरी मुख्य क्षेत्रमा डाक्टर, नर्स, औषधि र श्यया सहितको नेपाली सेनाको मूल स्वास्थ्य शिविर राखिएको छ ।

यस्तै भक्तपुरको केदारनाथको शिर डोलेश्वर—आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्म दर्शनार्थीको भीड लागेको छ ।

आज मात्रै मन्दिरको चारैवटा ढोका खुला रहने डोलेश्वर महादेव मन्दिरमा बिहान ४ बजेदेखि नै दर्शनार्थीको भीड लागेको डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सचिव विश्वराम थापाले जानकारी दिए ।

त्यस्तै यता सूर्यविनायक नगरपालिका–१० चित्तपोलमा रहेको साँगास्थित अग्लो महादेवको रुपमा चिनिएको कैलाशपति महादेव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

यस्तै नेपालगञ्जको बागेश्वरी मन्दिरमा पनि भक्तजनको घुईंचो छ । संसारभर पाइने महादेवको मूर्तिमध्ये जुँगा भएको मूर्ति यहीँ मात्र छ । जुँगे महादेवको पूजा अर्चना गर्न भक्तजनको लामो लाइन रहेको छ ।