काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन मनाउन तेह्रथुमको आठराई गाउँपालिकाले आज स्थानीय सार्वजनिक बिदा दिएको छ ।


ADVERTISEMENT


गाउँपालिका कार्यालयले प्रधानमन्त्री ओली विभिन्न विकास निर्माणका कामको शिलान्यास गर्न गाउँपालिका जाने भएकाले स्थानीय बिदा दिने निर्णय गरिएको जनाएको छ । प्रधानमन्त्री ओली आज आफ्नो ६९औँ जन्मदिन मनाउन जन्मघर आठराई जाँदै हुनुहुन्छ ।


ADVERTISEMENT

# # #


यसै अवसरमा उहाँले छातेढुङ्गाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुमा रहेको मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको शिलान्यास गर्ने कार्यक्रम छ । यस्तै जन्मघरमा हुने कार्यक्रममा उहाँले नेपाल बैंकको शाखा कार्यालय उद्घाटन गर्नुहुनेछ ।

प्रधानमन्त्रीको स्वागतका लागि गाउँपालिकाले शिक्षकहरुलाई तोकिएको पोसाकमा उपस्थित हुन निर्देशन पनि दिएको छ । प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा दुई हजार विद्यार्थीलाई प्रमको तस्बिर र हस्ताक्षरसहितको डायरी र कलम तथा दुई सय वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।

आठराईमा त्रिभुवन विश्वविद्यालयको एक आङ्गिकसहित दुई वटा क्याम्पस र नौ वटा माविसहित ५८ वटा विद्यालय छन् । प्रधानमन्त्री ओलीले त्यसअघि पाँचथरको कुम्यायक गाउँपालिकामा तमोर नदीबाट लिफ्टिङ प्रविधिबाट पुर्‍याइएको खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ ।
यसअघि पनि प्रधानमन्त्री ओलीले हिजो तेह्रथुमस्थित ७ दशमलव ५ मेगावाटको जलविद्युत आयोजनाको उद्घाटन गर्नुभएको थियो ।