काठमाडौँ – कर्णालीका युवा ‘कालापहाड’ अर्थात् भारत जाने गर्दछन् । पछिल्ला वर्ष खाडी मुलुकमा कामदारको माग बढेपछि कालापहाडको मोह घट्दो छ । ती दुबै मुलुकमा कामको खोजीमा विदेशिनुपर्ने बाध्यताका कारण कर्णालीका बस्तीमा युवाको चहलपहल देखिन्न । कर्णालीमा करिब ५९ प्रतिशत जनसङ्ख्या कालापहाडको भरमा जीविकोपार्जन गर्न बाध्य रहेको जनाइएको छ ।


ADVERTISEMENT


कर्णालीको ‘रोग’ का रुपमा रहेको बेरोजगारी समस्या तथा वैदेशिक रोजगारीको पहिलो गन्तव्य ‘कालापहाड’ जानुपर्ने कारण र समाधान खोज्न सम्बन्धित क्षेत्रका विज्ञसहित बहस हुँदैछ । यही फागुन १९ देखि २१ गतेसम्म सञ्चालन हुने कर्णाली उत्सवमा विज्ञ ती विषयमा खरो उत्रदै छन् । प्रदेश राजधानी वीरेन्द्रनगरको पर्यटकीयस्थल बुलबुले उद्यानमा आयोजना हुने उत्सवमा कर्णालीको बेरोजगारी, वैदेशिक रोजगारी, आर्थिक क्रियाकलाप, उद्योग, युवा आप्रवासन, उद्यमशीलतालगायतका विषयमा बहस हुनेछ, ‘कालापहाडका तोडा’ सत्रमा । ‘तोडा’ शब्दले धन, पैसा राख्ने छालाको थैली भन्ने जनाउँदछ । आयोजक ऋति फाउण्डेशनका अनुसार अधिकांश कर्णालीवासीको जीविकोपार्जनको स्रोत ‘कालापहाड’ रहेकाले यसलाई बहसको विषय बनाइएको हो । उत्सवको तेस्रो दिन फागुन २१ गते हुने बहसमा प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाही, प्रधानमन्त्री रोजगार कार्यक्रमका रोजगारविज्ञ युवराज बस्नेत र एक महिला उद्यमी रहनेछन् ।


ADVERTISEMENT

# # #


‘कुणा कर्णालीका’ मुख्य नारासहित सञ्चालन हुने उत्सवमा कर्णालीको कला, साहित्य, संस्कृतिका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा ऐतिहासिक विषयमा बहस हुनेछ । उत्सवका संयोजक कमल लम्सालले वास्तविक कर्णालीलाई चिन्ने र चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए । “बहसले कर्णालीको मौलिक इतिहासलाई कोट्याउने, कर्णालीको यथार्थ चित्र प्रस्तुत गर्ने तथा अबको बाटो देखाउन सहयोग गर्नेछ”, उनले भने, “बौद्धिक बहसका साथै उत्सव अवधिभर देउडानाच, कविता र गजलवाचन गरिनेछ ।” उत्सवका १६ वटै सत्रहरु खस भाषामा निर्माण गरिएकाले रोचक र महत्वपूर्ण छन् ।

उत्सवमा सदस्य दिनेश गौतमका अनुसार बहसका तीन मूल शीर्षक छन् । पहिलो दिन ‘कर्णालीका बेला’, दोस्रो दिन ‘कर्णाली कोट्याऊँ’ र तेस्रो दिन ‘मान्ठ जुर्मुराउँछन्’ । मूल शीर्षकअन्तर्गत विभिन्न विषयमा बहस गरिनेछ । ‘मुख्य मान्ठ, मूल कुडा’ अन्तर्गत प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टबीच अन्तरप्रदेश सम्बन्धका बारेमा बहस हुनेछ । खस भाषामा ‘कुरा’ लाई कुडा, ‘मान्छे’ लाई मान्ठ भनिन्छ ।

गाउँगाउँको सिंहदरबारका कुरा

उत्सवको पहिलो दिन ‘सरकारका तीन तह ः बगाउन्या कर्णालीका बह’ शीर्षकको सत्र रहनेछ । यसमा सङ्घ, प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधिबीच आपसी सम्बन्ध, गाउँगाउँमा सिंहदरबार पुग्यो वा पुगेन ? भन्ने विषयमा हुने बहसमा सङ्घीय सरकारका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल र कर्णालीको एक मात्र महिला नगरप्रमुख चन्दननाथ नगरपालिका, जुम्लाका प्रमुख कान्तिका सेजुवाल रहनेछन् । उक्त सत्रको सञ्चालन लेखक÷पत्रकार सरोजराज अधिकारीले गर्नेछन् ।

खस सभ्यता, खस भाषाको विकास र संरक्षण, सामाजिक परिवेश र खसका गर्व गर्नलायक विषयमाथि बहस गर्न ‘खसका खासखुस’ सत्र रहनेछ । लेखक माधव चौलागाईंले सञ्चालन गर्ने सत्रमा खस भाषाको शब्दकोष ‘खसिया आखर’का लेखक संस्कृतिविद् रमानन्द आचार्य र डा विपीन अधिकारीले बहसमा सहभागिता जनाउनेछन् ।

कर्णाली किन घुम्ने ?

उत्सवमा कर्णाली घुम्नुपर्ने कारणबारे बहस हुनेछ, ‘कर्णाली क्यानाम घुमेर हेर्दा’ सत्रमा । लेखक तथा पत्रकार मोहन मैनाली, फोटोपत्रकार भरतबन्धु थापा र यात्री अस्मिता थापा बोलेछन् । यसको सञ्चालन लेखक तथा पत्रकार दामोदर न्यौपानेले गर्नुहुनेछ ।

‘सीमान्त स्वर’ सत्रमा सीमान्तकृत समुदायको अवस्था, समानता र सहभागिता तथा नेतृत्वमा पहुँचबारे छलफल हुनेछ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फे, पूर्वसभासद मोहमदी सिद्धिकी र दुर्गा सोबले सहभागी हुनुहुनेछ । त्यस्तै, कर्णालीको स्वास्थ्य र खाद्यान्नलाई समेटेर निर्माण गरिएको ‘दबाइ र देउता–भोक र भकारी’ नामक सत्रमा । लेखक तथा जनस्वास्थ्यविज्ञ डा अरुणा उप्रेती, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्ले तथा कृषिविज्ञ डा कृष्णप्रसाद पौडेलबीच बहस हुनेछ । उक्त सत्रमा औषधि उपचार र धामीझाँक्री मान्यता तथा खाद्यान्न र कुपोषणलगायतका विषयमाथि बहस हुनेछ ।

कर्णालीको साहित्यबारे राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष हरिहर अधिकारी‘श्यामल’, बुद्धिसागर, उषा हमाललगायतले कर्णालीको साहित्यबारे बहस गर्ने सत्रको सञ्चालन पत्रकार विमल आचार्यले गर्नेछन् । कर्णालीका महिलाको सामाजिक अवस्था केन्द्रित बहसमा महिला अधिकारकर्मी लक्ष्मीकन्या बुढा, लेखक सञ्जीव उप्रेती रहने सत्रको सञ्चालन पत्रकार टीका विष्टले गर्नेछन ।

कर्णालीको नयाँ जिल्ला !

कर्णाली प्रदेशमा १० जिल्ला छन् । तर, कर्णाली उत्सवमा कर्णालीको नयाँ एघारौँ जिल्लाका बारेमा बहस हुनेछ । सत्रको नामकरण गरिएको छ, ‘कर्णालीको ११औँ जिल्ला’ । नेपालको एकमात्र घुमन्ते जाति राउटे समुदायको अवस्था, जीवनशैली, सामाजिक रुपान्तरण र राज्यको दायित्वलगायतका विषयमाथि बहस हुनेछ । डा डम्बर चेमचोङ, राउटे मुखिया सूर्यनारायण शाही, हाल राउटे बसोबास गरिरहेको दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वली, राउटे समुदायमा कार्यरत ‘राउटेकी भान्जी’ उपनामले परिचित सत्यदेवी अधिकारी सहभागी हुने सत्रको सञ्चालन एपिवान टेलिभिजनका सम्पादक टीकाराम यात्रीले गर्नेछन्।

यसैगरी कर्णाली प्रदेश पछि पर्नुको कारण र अब कसरी समृद्ध बन्ला ? भन्ने विषयमा कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारी र एक जना योजना तथा अर्थविद्लाई सहभागी गराइनेछ । त्यस्तै, ‘डिजिटल कर्णाली’ सत्रमा प्रविधिविज्ञ किशोर पन्त, प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार अस्गर अलि, मल्टिमिडियाविज्ञ गणेश आचार्य र ‘लगानीका कुरा’ सत्रमा पत्रकार कुबेर चालिसे, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, उद्योगी सुरज वैद्यलगायतको सहभागिता रहनेछ ।

सार्वजनिक सरोकारका विषयमा नागरिकले प्रश्न गर्नुपर्ने कारणबारे राजनीतिशास्त्री हरि शर्मा, कवि सरिता तिवारी तथा पत्रकार दिलभुषण पाठक बहसमा सहभागी हुनेछन् । आयोजक ऋति फाउण्डेशनले कतिपय सत्रका लागि वक्ताहरुको टुङ्गो लाग्न बाँकी रहेको जनाएको छ ।