काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले नेपाल ट्रष्टले जारी गरेको श्वेतपत्रमाथि प्रश्न उठाएका छन् ।


ADVERTISEMENT


बिहीबार प्रतिनिधिसभा संसदको विशेष समयमा बोल्दै पूर्वमन्त्री शर्माले नेपाल ट्रष्टको नाममा रहेका जग्गाहरु विभिन्न समूहलाई भाडामा दिने सम्बन्धमा आफ्नो संलग्नता रहेको भन्दै सरकारले श्वेतपत्र नै जारी गरेको भन्दै आपत्ति जनाए ।


ADVERTISEMENT

# # #


उनले सरकारले ल्याएको श्वेतपत्र श्वेत नभएर अश्वेतपत्र भएको पनि टिप्पणी गरे । ‘सरकारले २ दिनअघि श्वेतपत्र जारी गर्यो । श्वेतपत्र भनेको के हो मलाई थाहा छैन । सायद कुनै विषयमा जस्ताको तस्तै कुरा जनताको सामु ल्याउने कुरालाई स्वेतपत्र भन्छ जस्तो मलाई लाग्छ ।’ उनले भने, ‘आश्चर्यमा परेको छु कि यो श्वेतपत्र हो कि अश्येत पत्र हो ? श्वेतपत्र हो भने जस्ताको तस्तै आउनुपर्यो ।’

आफ्नो नाम गलत तरिकाले मुछेको तर पछिल्ला विवादास्पद निर्णय गर्दा नेपाल ट्रष्टको संरक्षक तथा अध्यक्ष को थिए भन्ने उल्लेख नगरिएको भन्दै उनले आपत्ति जनाएका छन् ।

झुटो विवरण उल्लेख गरेर ‘अश्वेतपत्र’ किन आयो होला भन्दै उनले आफूले अरु सांसदले जस्तै संविधानको भावना विपरीत आएका ऐनहरु परिर्माजन गर्न भूमिका खेलेको तथा विकास र समृद्धिका लागि भ्रष्टाचार अन्त्य हुनुपर्छ, सरकार दलालको घेराबाट मुक्त हुनुपर्छ भनेको जिकिर गरे ।

उनले अघि भने, ‘मलाई तर्साउन खोजिएको हो ? आत्मसमर्पण गराउन खोजेको हो ?म असत्यसामू आत्मसमर्पण गर्दिनँ । तर्सिन्न पनि । सरकारले मलाई त ढाँट्न सक्ला तर जनतालाई ढाट्न सक्छ ? किमार्थ सक्दैन ।’

आफ्नै पार्टीको सरकार भएको र सरकारलाई सफल बनाउन सहयोग गर्दागर्दै झुटा आरोप लगाएको भन्दै पूर्वमन्त्री शर्माले विश्वासको संकट भएको बताए । उनले भने, ‘लेख्नुपर्ने नाम नलेख्ने, नलेख्नुपर्ने ठाउँमा लेखेर मिडियाबाजी गराउने किन गरियो रु यसबारे रक्षामन्त्री र प्रधानमन्त्रीको जवाफ चाहियो ।’

ट्रष्टका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार सार्वजनिक गरेको श्वेतपत्रमा ताहाचाल सोल्टी आउटर कम्प्लेक्सको जग्गा यती समूहको थामसेर्कु ट्रेकिङलाई लिजमा दिने प्रस्ताव स्वीकृत गर्दा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा ट्रष्टको संरक्षक र गृहमन्त्री जनार्दन शर्मा अध्यक्ष रहेको उल्लेख गरिएको थियो ।