हेटौँडा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यसअघि नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारमा आफ्नो पार्टी सहभागी हुनु गम्भीर भुल भएको बताएका छन् ।
राप्रपा केन्द्रीय कार्य समितिको आज यहाँ सम्पन्न बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले आत्मसमर्पणवादी मानसिकताबाट ग्रस्त सरकारमा सहभागी हुनु राप्रपा जस्तो राष्ट्रवादी पार्टीको निमित्त प्रत्यूत्पादक हुन पुगेको बताए।
राप्रपाका तर्फबाट व्यवस्थापिका–संसद्मा पेश गरिएको हिन्दूराष्ट्र पुनःस्थापनासम्बन्धी विधेयक छलफलमा नल्याइएको तथा राप्रपालाई विभाजन गर्ने कार्यमा सरकार र सत्तारुढ दल क्रियाशील रहेको आरोप लगाउँदै उनले संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरिएको बताए ।