चन्द्रागिरि केबलकार परियोजनाका बारेमा राजु पौडेलसंग हिमालय पोष्टले गरेको कुराकानी


ADVERTISEMENT


 

चन्द्रागिरी केबलकारको बारेमा केही बताइदिनुस न ।


ADVERTISEMENT

# # #


यो विशेष गरी ऐतिहासिक रुपले, धार्मिक रुपले, सांस्कृतिक रुपले तथा प्राकृतिक हिसाबले असध्यै महत्वपूर्ण पर्वत भएकाले यहाँ केही पर्यटकीय पूर्वाधानरहरु निर्माण गरेर राष्ट्रमा पर्यटन क्षेत्रको योगदानलाई बढाउन सकिन्छ कि भनेर चन्द्रागिरी हिल्स लिमिटेडले यो परियोजना निर्माण गरेको छ ।

मानिसले घुम्नका लागि यहाँ किन आउने ? चन्द्रागिरीको आर्कषण के हो   ?

मैले अघि नै भनेँ कि यहाँ देवादिदेव महादेवले सतिदेवीको मृत शरिर बोकेर हिड्दा सतिदेवीको निधार अथवा भाल पतन भएकाले भालेश्वर महादेवको उत्पति भएको भनिन्छ । यहाँ आउने भक्तजनले आफ्नो मनोकांक्षा पूरा गर्न सक्ने विश्वास रहेको छ । त्यसका आधारमा धार्मिक दृष्टिकोणले पनि यो अति महत्वपूर्ण छ । त्यस्तै यहाँबाट एकैचाटी धेरै हिमश्रृङ्खला अवलोकन गर्न सकिन्छ । राजधानीबाट एकदमै नजिक भएकाले पर्वतको टुप्पोमा आएर राजधानीको बनावट, संरचनाको अवलोकन गर्न सकिन्छ । अर्को भनेको हामीले निर्माण गरेका पर्यटकीय परियोजनाको अवलोकन गर्न, घुम्नका लागि आउने हो । यिनै दृष्टिकोणले चन्दागिरीको भ्रमण गर्नु पर्छ भन्ने लाग्छ ।

तपाईले चन्द्रागिरिमा पर्यटकीय परियोजना सञ्चालन गरेको पनि एक वर्ष भइसकेको छ । यो बीचमा के-कस्ता प्रतिक्रिया पाउनु भयो ? पर्यटकीय चाप कस्तो छ ?

नेपालको अर्थतन्त्रलाई चलायमान गर्नका लागि नेपालमा धेरै पर्यटकीय पूर्वाधारहरु निर्माण गर्न आवश्यक छ । तर आज पर्यटनको कूल ग्राहस्थ उत्पदानमा मुस्किलले ३ प्रतिशत मात्रै योगदान छ । नेपाल पर्यटकीय दृष्टिकोणले धनी भएपनि हामीले त्यसमा वृद्धि गर्न सकिरहेका छैनौँ । यस्ता खालका योजनाहरु हामीले निर्माण गर्न सक्यौँ भने धेरै धेरै विदेशी पर्यटक हामी आर्कषित गर्न सक्छौँ । देशमै रोजगारीका अवसरहरु सिर्जना गर्न सक्छौँ । यस्तै नेपालको अर्थतन्त्रलाई चलायमान गर्न सक्छौँ । यो परियोजनाको सञ्चालनको एक वर्षको अनुभवमा हामीले त्यो अनुभूति गरिसकेका छौँ । पछिल्लो समयमा सार्क राष्ट्रबाट घुम्न आउने पर्यटकको सङ्ख्या उल्लेख्य रुपमा बढेको छ । यसको अर्थ के हो भने नेपालमा अरु थप पर्यटकीय गन्तव्यको पनि आवश्यकता छ भन्ने त्यो तथ्यले प्रमाणित गर्दछ ।

चन्द्रागिरिमा भालेश्वर महादेवको मन्दिर लगायतको थुप्रै पर्यटकीय पूर्वाधार मनमोहक त छँदैछन् । यसका अलवा अब के कस्ता पूर्वाधार बन्दैछन् ?

तपाई भनेजस्तै बाल उद्यान छ । सम्मेलनका लागि हलहरु पनि छन् । रेष्टुरेन्ट, बार पनि छ । पार्कहरु, पृथ्वी नारायण शाहको मूर्तिहरु, भालेश्वर महादेवको मन्दिर पनि रहेका छन् । अर्को भनेको कलात्मक किसिमको बुटिक रिसोर्ट बनाउँदै छौ , यो निर्माणाधीन छ । यस्तै अन्य कतिपय पूर्वाधारहरु निर्माण भइसकेका छन् भने कतिपय निर्माणाधीन छन् ।

मुलूकको पर्यटन प्रवद्र्धनका लागि जुन किसिमको काम भइरहेको छ । निजी क्षेत्रबाट भएका यस्ता कामहरुमा राज्यको कस्तो सहयोगको आवश्यकता पर्दारहेछ ?

यो परियोजना निर्माणका क्रममा कहीँ न कहीँ सहयोग नभइदिएको भए सम्भव थिएन । सबैको सद्भाव जरुरी छ । तर कमजोरी के छ भने नेपालको नीतिगत पक्षहरु अलि झण्झटिलो, लेनदेन प्रकृतिको धरै प्रक्रियाहरु पूरा गनुपर्ने अवस्था छ । हामीले यो परियोजना निर्माण गर्नका लागि २३ वटा ठाउँबाट स्वीकृति लिनुपर्यो । सरकारले त्यस्ता कामहरु एकद्वार प्रणालीबाट सञ्चालन गर्दाखेरि लगानीकर्ताहरु आकर्षित हुन्छन् ।

तर यस्ता खालका परियोजनाहरुले प्राकृतिक सम्पदामा क्षति पुग्छ भनिन्छ । चन्द्रागिरि परियोजनाको सञ्चालनका लागि पनि धेरै रुख विरुवाहरु विनाश भए । के भन्नुहुन्छ ?

यो पूर्वाधार निर्माण गर्दा रुखहरु कटानी भएको हुन सक्छ । वनजंगल क्षेत्रहरु एजाड भएको हुन सक्छ । तर यो आजको ६ महिनाको अवधिमा व्यापक परिवर्तन भइसकेको छ । हरियाली सबै ठाउँमा भएको छ । यसमा कुरा गर्नु पर्दा सिर्जनशीलता, उद्यामशीलता नेपालको सन्दर्भमा पानी, वन पाखामै छ । यस्ता प्राकृतिक सम्पदाको उचित उपयोग गर्न पाइन्छ । तर त्यो मास्नु भएन । वनजंगललाई हुर्कन दिनु पर्याे । यही वनजंगलका बीचबाट नै अरु उद्यमशीलता सुरु गर्नु पर्यो । जसले नेपालको अर्थतन्त्रलाई सहयोग गरोस् । पर्यटनको कुरा गर्दा पर्यटक आउने, खाने वाताववरणको निर्माण हामीले गरिदिनु पर्छ । त्यसैले यस्ता खालका ठाउँको पहिचान गरेर पर्यटन प्रवद्र्धन गर्नु पर्छ ।

चन्द्रागिरिमा देश तथा वेदेशका पर्यटकहरु ल्याउनका लागि के कस्ता प्रयासहरु भइरहेका छन् ?

हामीले नेपालका मिडिया क्षेत्रका सबै साथिहरुको धेरै ठूलो सहयोग पाएका छौँ । तपाई मार्फत म के भन्न चाहान्छु भने यो परियोजना चन्द्रागिरि हिल्सको मात्रै होइन, यो त नेपालको एकिकृत परियोजना हो । यसलाई सफल बनाउन सक्यौँ भने पर्यटनका क्षेत्रमा निजी क्षेत्रको लगानी पनि भित्र्याउन सकिन्छ भनेर तपाईहरु मार्फत जानु पर्यो । आज हरेकको हातमा मिडिया, सामाजिक सञ्जाल छ । यहाँ आउने करिब ६० प्रतिशतले आफले चन्द्रागिरिमा घुमेका फोटाहरु सामाजिक सञ्जालमा अपलोड गरेको पाएको छु । यो पनि प्रचार प्रसारको माध्याम हो । यसलाई अन्तराष्ट्रिय क्षेत्रमा कसरी प्रवद्र्धन गर्न सकिन्छ भनेर हामी गैरआवासीय नेपाली संघ तथा नेपालका कुटनीतिक निकायसंग मिलेर प्रचारात्मक अभियान अगाडी बढाउने पक्षमा छौँ ।

अन्त्यमा, चन्द्रागिरिका बारेमा स्वदेशी तथा विदेशी पर्यटकलाई के भन्न चाहानुहुन्छ ?

नयाँ अनुभव, नयाँ अनुभूति यदि तपाई महशुस गर्न चाहानुहुन्छ भने चन्द्रागिरिको भ्रमण गर्नुस् भन्न चाहान्छु ।