दाङ – कुनै बेला बन्दुक बोकेका पूर्व नेकपा माओवादीका नेता एवं पूर्वमन्त्री लोकेन्द्र विष्टका हातमा अहिले विहान बेलुकै कुटो, कोदालो देखिन्छ । ५६ वर्षीय विष्ट गएको चार वर्षदेखि कृषि पेशामा रमाएका छन् ।


ADVERTISEMENT


तुलसीपुर उपमहानगरपालिका–१८ को मैरवा गाउँमा उनले गरेको ड्रागन फलको खेती देखेपछि त्यो बाटो भएर हिँड्ने सबै दङ्ग पर्छन । माटोमै रातदिन खटिरहेका विष्टले वर्षौँदेखि खाली र उजाड जमिन अहिले हरियाली बनाएका छन् । जिल्लामै पहिलो पटक भित्रिएको ड्रागनको खेतीले छोटै समयमा उनलाई सफल कृषकका रूपमा पनि स्थापित गरेको छ ।


ADVERTISEMENT

# # #


उनको ड्रागनबारी तुलसीपुर घोराही सडक खण्डको छेउमा पर्छ । त्यसैले पनि तुलसीपुरबाट घोराही या जिल्लामा लामो तथा छोटो दुरीका यातायात साधनबाट यात्रा गर्ने हुन् वा निजी मोटर कार तथा मोटरसाइकलमा यात्रा गर्नेले पनि आफ्नो सवारी साधन रोकेरै ‘पूर्वमन्त्रीले गरेको खेती’ भनेर हेर्ने गरेको पाइन्छ ।

पूर्वमाओवादी नेता विष्टको राजनीतिक यात्रा चारदशक पछि आएर बिराम लागेको छ र यतिखेर उहाँको पहिचान पनि किसान भएको छ । विष्ट सांसद र दुईपटक मन्त्री समेत बनिसकेका छन् । उनले यहाँको ५६ कठ्ठा जमिन भाडामा लिएर ड्रागन फलको खेती गरेका छन् । सेतो र रातो जातका सात हजार विरुवा लगाइएको छ । निकै फस्टाएका ती विरुवाले आगामी साउनबाट फल दिनथाल्ने उनी बताउँछन्।

भियतनामबाट सो विरुवा ल्याएर रोपेको बताउने विष्टले यहाँका जिल्लाबासीलाई फल समेत भियतनामबाटै ल्याएर चखाइसकेका छन् । केही दिन पहिला आयोजना गरिएको तुलसीपुर महोत्सवमा उनले सो फल तथा विरुवाका बारेमा आम नागरिकलाई जानकारीका लागि स्टल राखेका थिए । त्यस फल र यसको खेतीका बारेमा सोधपुछ गर्ने सर्वसाधारणलाई उनले त्यस अवसरमा जानकारी पनि दिएका थिए। स्थानीय बजारमा सो फल प्रति केजी ७ सय ५० देखि १ हजार ५०० रुपैयाँमा बिक्री हुने गर्दछ ।

के हो ड्रागन ?

डा«गन फल सिउँडी जातको फल हो । नेपालमै उत्पादन शुरु भएको यो फल ठूला होटलहरूमा डेजट (खानापछिको फलफूल) का रूपमा प्रयोग गरिन्छ । यस फलबाट फेसवास, वाइन, जाम, चकलेट, बिस्कुट र पाउडर बनाउन पनि सकिने विष्टले बताए । उनका अनुसार यो फल फल्न थालेपछि लगातार वर्षमा ५ देखि ७ पटक सम्म फल्ने गर्दछ । यो रातको समयमा फल्ने भएकाले यसलाई ‘रातकी रानी’ भनेर पनि चिन्ने गरिन्छ ।

यसको बकोटबाट हाँगा काटेर पनि रोप्न सकिन्छ । त्यस्तै यसको बिरुवा बलियो नहुने भएकाले यसलाई अडाउन सिमेन्टको सानो पोल त्यसमाथि मोटरसाइकलका पुराना टायर राख्ने राखिन्छ । यसको खेती तराइदेखि भित्रिमधेस तथा एक हजार ५ सय मिटर अग्लो स्थानमा पनि गर्न सकिन्छ ।

यो फल अहिले नेपालमा विदेशबाट ९५ प्रतिशत आउने गरेको छ । विष्टसमेत तीन जनाले रु एक करोड लगानीमा यो फलको खेती शुरु गरेका हुन्। मन्त्री विष्टले यस फलको खेतीमा फाइदा देखेका छन्। भने “करिब १५ बर्षमा हामी जनही चार करोड रुपैयाँ फाइदा बाँड्न सक्ने अवस्थामा पुग्ने हामीहरूको लक्ष्य छ ।” उनले अब आफू राजनीतिमा नफर्किने पनि बताए ।

आफू अब कृषकका रूपमा व्यवसाय शुरु गरेकोले बाँकी जीवन कृषिकर्ममा नै बिताउने बताए । राजनीति छोड्नुको कारण राजनीतिमा फोहोरी कमा हुने, षडयन्त्र बढी हुने र महङगो हुँदै गएको उनको टिप्पणी छ । उनले पछिल्लो समय राजनीतिमा अपराध हुन थालेको पनि बताए ।

नेपालमा कृषिकर्ममा नै राम्रो सम्भावना देखेको पूर्वमन्त्री विष्टको भनाई छ । त्यसमा पनि ड्रागन फलको खेती नेपालजस्तो देशका लागि कमाई हुने खेती हो उनले भने । यस्तो महँगो फलको खेती गरी विदेश निर्यात गर्न सकिएमा देशको गरिबी निवारणमा ठूलो सहयोग पुग्ने उनको सुझाव छ । ड्रागन खेती भित्री तराई–मधेश क्षेत्रमा उपयुक्त हुने गर्दछ ।

अहिले रोपेको विरुवाले २०-२५ वर्षसम्म फल दिने गर्दछ । यसको एक बोटबाट ३ देखि ५ किलोसम्म फल लाग्छ र एक मौसममा करिब ५० क्वीन्टलसम्म फल्ने गर्दछ ।

यो फल करिब १८ वर्षअघि नेपालमा भित्रिएको जानकारी दिँदै उनले विश्वका अरु कैयौँ देशमा यो फलको माग बढी मात्रामा रहने गरेको अनुभव सुनाए । विष्ट भन्छन् “अहिले संसार ड्रागन फ्रुटमय भएको छ, यो फलमा मानव शरीरमा रोगसँग लड्नसक्ने तत्व पाइने भएकाले पनि संसारमा यसको महत्व बढ्दै गएको उनले बताए ।

नेपालमा कृषि क्षेत्रलाई पर्यटनसँग जोड्नका लागि ठूला कृषि फर्महरू सञ्चालन गर्नुपर्ने विष्टको सुझाव छ । उनी भन्छन्, “कृषि आफैमा पर्यटकीय गन्तब्य भएकाले नेपालको बाझो जमिनमा नयाँनयाँ खेती गर्नसके उत्पादकत्व बढ्ने मात्र नभएर पर्यटकीय गन्तब्यको पनि विकास हुने छ ।” धितो राख्ने जमिन नहुँदा ऋण नपाएको बताउने उनले नेपालमा खेती एवं कृषिकर्म गर्ने किसानलाई सरकारले विना धितो सस्तो व्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने बताए ।

यसरी सरकारले बिना धितो ऋण प्रवाह गर्नसके सानो तिनो जागिरका लागि युवा खाडीमा पुगेर दुःख गर्नै पर्दैन उनी भन्छन्। देशको अर्थतन्त्रलाई मजबुत बनाउन पनि सरकारले कृषि कर्मलाई प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ । रासस