विराटनगर – विराटनगर महानगरपालिकाले भारतको सीमा क्षेत्रमा साबुन पानीले हात मिचिमिची धुने अभियान आजदेखि सञ्चालन गरेको छ ।


ADVERTISEMENT


महानगरपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सीमा क्षेत्रमा रेलबाट विभिन्न क्षेत्रबाट आएका यात्रुका लागि नोबेल कोरोना भाइरस (कोभिड–१९) भित्रिन नदिनका लागि सचेतनाका लागि उक्त अभियान सञ्चालन गरेको हो ।


ADVERTISEMENT

# # #


भारतीय रेल्वेको स्थानीय कर्मचारीको समन्वयमा सचेतना तथा सर्तकता अभियान सञ्चालन गरिएको महानगरपालिकाका कार्यवाहक प्रमुख इन्दिरा कार्कीले बताए । उनले सचेतनाका लागि सम्पूर्ण पूर्वतयारी गर्न १९ वटा वडाका अध्यक्ष सम्मिलित समन्वय टोली गठन गरिएको जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीको नेतृत्वमा गठन गरिएको टोलीमा नगरका सबै महाशाखाका प्रमुखहरु रहेका छन् । भाइरसको सङ्क्रमण नहोस् भन्नका लागि सर्तकता अपनाउन टोली गठन गरिएको आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

यो रोगको मुख्य लक्षणमा १००।४ डिग्री ज्वारो आउनु र छाती भारी हुनु मुख्य लक्षण रहेको नगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए । यस रोगका लागि आवश्यक पर्ने पारासिटामोल र टिनिडाजोल औषधिको कुनै कमी नभएको उनले बताए ।

यसैगरी नगर क्षेत्रमा रहेका औषधिका थोक बिक्रेतालाई मास्कको भण्डारका अनुगमन कार्य शुरु गरिएको छ । बजारमा मास्कको कृतिम अभाव सिर्जना गरी कालोबजारीमा बिक्री वितरण गरेको गुनासोलाई ध्यानमा राखी बढी मूल्य लिने पसललाई कानूनी कारवाही गरिने प्रशासकीय अधिकृत अधिकारीले उल्लेख गरे ।