काठमाडौं –  नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनलाई लिएर ‘सहमती’ गराउने भन्ने चर्चालाई पूर्वअध्यक्षहरुले नमान्ने बताएका छन् ।


ADVERTISEMENT


सहमती शब्द आफैंमा राम्रो भएपनि कुनै एक व्यक्तिका लागि मात्रै सहमतीको रटान लगाएर जिल्ला नगर पदाधिकारी देखि सदस्य सम्म सबै पदहरुको बारेमा अनिर्णित हुने अपरिपक्व काम गर्न नहुने भन्दै यस्ले महासंघको लोकतान्त्रिक व्यवस्थालाई धरासयी बनाउने प्रतिक्रिया दिएका हुन् ।


ADVERTISEMENT

# # #


यस बारे बुझ्न महासंघको निर्वाचनमा निकै सक्रिय र शक्तिशाली मानिएका पूर्वअध्यक्ष चण्डिराज ढकाललाई हिमालय पोष्टले गरेको सम्पर्कमा उनले महासंघमा सहमतीको बिषय अपरिपक्व र अब्यवहारिक ढँगले आएका भन्दै यस्लाई नमान्ने बताएका हुन् ।

”एकजना बरिष्ठ उपाध्यक्ष र एकजना जिल्ला नगरको उपाध्यक्षका लागि सहमती भनेर हुँदैन” ढकालले भने ”सम्पूर्ण पद र पदाधिकारीहरुका लागि सहमती हुनुपर्छ । सिमित केही व्यक्तिका लागि गरिएको सहमतीले महासंघमा भद्रगोल निम्त्याउनेछ ।”  ढकालले टिममा एक व्यक्तिका लागि मात्रै सहमती नहुने बताएका छन् । टिममा सबैले मेहनत र समय खर्च गरेको भन्दै उमेद्वारहरुका लागि धोका हुने गरी कसैले काम गर्न नहुने उनको भनाई छ ।

सहमती आफैंमा राम्रो बिषय भए पनि यो केका लागि र कस्का लागि भन्ने महत्वपूर्ण हुने बताउँदै बाहिर बाहिर सहमती गर्ने भन्ने सुन्नमा आए पनि अहिले सम्म कुनै पनि पूर्वअध्यक्षहरुले यसबारे बैठक गरौं भन्ने प्रस्ताव आँफुलाई नगरेकाले कसैले गरेका निर्णयहरुलाई मान्नै पर्छ भन्ने कुनै बाध्यता नरहेको पूर्वअध्यक्ष ढकालले स्पष्ट पारेका छन् ।

”अहिलेसम्म कसैले पनि यो बिषयमा छलफल गरौं भनेर भन्नुभएको छैन” उनले भने ”उहाँहरु आफैं आफैं बसेर सहमती सहमती भन्नुहुन्छ भने त्यसमा मेरो चाहीं सहमती रहँदैन, यस्लाई मैले मान्नैपर्छ भन्ने पनि त्यस्तो केही छैन ।”

कुनै एक गुट तिर लागेका हरुले एकजनासंग बसेर गरेको सहमतीलाई महासंघको सहमती भनेर मान्न नसकिने उनको भनाई छ ।

” ‘हेल्दी’ निर्वाचनले संस्थालाई कहिले पनि कमजोर बनाउँदैन” उनले भने ”तर निर्वाचित भईसकेकाहरुले नियम कानुन, संस्थाको आवश्यकता र समयको माग अनुसार कसरी अघि बढाउने भन्ने मुख्य बिषय हो ।”

लोकतान्त्रिक पद्धतीबाट निर्वाचन गराउनु नै बैज्ञानिक हुने भन्दै कसैलाई पछाडी पार्ने र कसैलाई एकतर्फि रुपमा अघि बढाउने खेलमा पूर्वअध्यक्षहरु लाग्न नहुनेमा उनको जोड छ । महासंघ भित्र रहेका तमाम चुनौति र समस्याहरुलाई चिरेर नीजि क्षेत्रको समष्ठिगत विकास र भूमिकालाई अघि बढाउने बिषयमा मात्रै सहमती हुन सक्ने ढकालले बताएका छन् ।

कसैलाई समर्थन गर्ने र सहयोग गर्ने कुरा सामान्य रहेको तर उमेद्वारहरुलाई जिताउने जिम्मा भने सबै मतदाताहरुको अधिकार क्षेत्र भित्रको बिषय रहेका कारण यस्मा हस्तक्षेप गर्ने छुट कसैलाई नरहेको पूर्वअध्यक्ष ढकालले स्पष्ट पारेका छन् ।

देशव्यापी व्यापक संजाल रहेको महासंघको नेतृत्व छान्ने बिषय निर्वाचनको लोकतान्त्रिक बाटो नै बैज्ञानिक र परिपक्व हुने बताउँदै उनले चोरबाटोबाट नेतृत्वमा टिका लगाउने प्रयास गर्नुले महासंघको गरिमामा आघात पुग्ने बताएका हुन् ।